+
+

श्रममन्त्री संलग्न म्यानपावरविरुद्ध विभागमा छ ठगी उजुरी

रवीन्द्र घिमिरे रवीन्द्र घिमिरे
२०७९ माघ ४ गते १९:१५

४ माघ, काठमाडौं । नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल अन्तर्राष्ट्रिय बजार निर्देशक रहेको श्रृष्टि ओभरसिज इम्प्लोइमेन्ट सर्भिस प्रालिले ठगी गरेको भन्दै क्षतिपूर्तिको लागि वैदेशिक रोजगार विभागमा उजुरी परेको पाइएको छ ।

वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार मनालाल महतासहित ७ जनाले मलेसियामा रोजगारीमा जाँदा ठगिएको भन्दै श्रृष्टि ओभरसिज इम्प्लोइमेन्ट सर्भिसविरुद्ध क्षतिपूर्तिका लागि उजुरी गरेका थिए ।

तर, विभागबाट समयमै सुनुवाइ नभएपछि उनीहरु काठमाडौं धाउन छाडेका थिए । विभागका एक अधिकारीका अनुसार ३० कात्तिक २०७१ मा दर्ता भएको श्रृष्टि ओभरसिज इम्प्लोइमेन्ट सर्भिसविरुद्धको उजुरी अहिले पनि तामेलीमा छ ।

तामेलीमा भएपनि उजुरीमाथि अनुसन्धान गर्न बाटो बन्द भएको छैन । उजुरीकर्ताले आवश्यक प्रमाणसहित सम्पर्क गरेमा छानबिन अघि बढ्ने विभागले बताएको छ ।

विभागका अधिकारीहरुका अनुसार उजुरी दर्ता भएका बेला मुद्दाको चापका कारण विभागले समयमै सुनुवाइ गर्न सकेन । पछि पीडितहरु न्यायको आश मार्दै विभाग धाउन छाडे ।

‘अहिले उनीहरु सम्पर्कमा छैनन्’, ती अधिकारी भन्छन्, ‘यसरी समयमै न्याय नदिएपछि न मुद्दा टुंगियो, न पीडितले न्याय पाए ।’

त्यतिबेला म्यानपावर कम्पनीका सञ्चालक अरु नै भएपनि कम्पनी किनेका नयाँ सञ्चालकहरुले पनि त्यसअघिका जिम्मेवारीहरु बहन गर्नुपर्ने र कुनै दायित्व भए पूरा गर्नुपर्छ ।

‘अहिले धेरै म्यानपावरमा सञ्चालकको नाम र स्वामित्व फेरेपछि पुरानो मुद्दा थाहा छैन भन्ने विकृति छ’ विभागका ती अधिकारी भन्छन्, ‘कानुनतः त्यस्तो हुँदैन, इजजतपत्रवालाविरुद्धको उजुरी फरफारक नभएसम्म जो-जो सञ्चालक बन्छन् जवाफदेहिता र दायित्वहरु उसैको हो ।’

विगतमा पनि परेको थियो मुद्दा

रबि लामिछाने सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक सांसद बनेका मन्त्री अर्यालको संलग्नता जोडिएको म्यानपावरको विगत पनि विवादरहित थिएन ।  १५ असार, २०६६ मा रिलायबल इन्टरनेसनल प्रालिका तत्कालीन सञ्चालकहरू देवेन्द्र कार्की, विश्व कार्की र श्रृष्टि इम्प्लोइमेन्ट ओभरसिज प्रालिका तत्कालीन सञ्चालकहरू ध्रुवबहादुर अधिकारी, सह-सञ्चालक दीपसुन्दर ढकाल, सञ्चालक दुर्गाबहादुर कुँवर र सो म्यानपावरका तत्कालीन स्टाफ राजेश गौतमविरुद्ध पनि विभागमा ठगीको उजुरी परेको थियो ।

दुबईमा रोजगारीका लागि पठाइदिन्छौं भनेर ७८ लाख रुपैयाँ लिएर चक्रबहादुर बोहरासमेत ७० जनालाई नक्कली भिजिट भिसा र दुबईको नेपाली राजदूतावासको प्रथम सचिवको सही भएको कागज देखाएर झुठो आश्वासन दिएको उजरीमा उल्लेख थियो । तर, विदेश पठाउन आलटाल गरेपछि श्रृष्टि इम्प्लोइमेन्ट प्रालिका सञ्चालक फरार भएको भन्दै सक्कल राहदानी र सावाँ रकमसमेत ठगी खाने नियत देखाएको उजुरीमा दावी गरिएको थियो ।

उनीहरुले राहदानी, सावाँ र सो रकमको क्षतिपूर्तिबापत ५० प्रतिशत हर्जानासमेत दिलाउन वैदेशिक रोजगार ऐन, २०६४ अनुसार हदैसम्मको सजाय माग्दै उजुरी दर्ता गरेका थिए । विभागले यसका आधारमा सावाँ र विगो गरी १ करोड १७ लाख रुपैयाँ मागदाबी गर्दै मुद्दा चलाएको थियो ।

१६ जेठ, २०७०मा वैदेशिक रोजगार न्यायधीकरणले पर्वत कटुवाल, सन्तोष ढकाल र दुर्गाबहादुर कुँवरलाई जनही दुई वर्ष कैद र २ लाख जरिवाना हुने र जाहेरवालाहरूको बिगो ५२ लाख ७९ हजार बिगो कायम गरी प्रतिवादीहरूबाट जाहेरवाला चन्द्रमणि सुवेदीसमेतका ४१ जाहेरवालाहरूलाई हर्जानासहित ७९ लाख लाख १८ हजार ५०० रुपैयाँ भराउने फैसला गरेको थियो ।

तर, ध्रुवबहादुर अधिकारी र अर्जुन कटुवाललाई सफाइ दिएको र पर्याप्त मागदावी नभराएको भन्दै विभागले सर्वोच्च अदालतमा मुद्दा दायर गरेको थियो । १३ असोज, २०७२ मा सर्वोच्च अदालतका न्यायाधीश देवेन्द्रगोपाल श्रेष्ठ र चोलेन्द्रशम्शेर जबराको इजलासले न्यायधीकरणकै फैसलालाई सदर गरेको थियो ।

तर, वैदेशिक रोजगार विभागका अनुसार अहिले कम्पनीको सञ्चालक बदलिएर लक्ष्मण कोइराला र लेखनाथ भण्डारी छन् । श्रृष्टि ओभरसिजका एक सञ्चालकका अनुसार अर्यालले जापानबाट ‘जिट्को’मार्फत श्रमिक विदेश लैजानका लागि मन्त्री अर्यालले एजेन्टसँग सम्पर्क गराउने काम गरेका छन् । त्यसैमार्फत उनले जापानमा समन्वयका लागि काम गर्ने गरेका हुन् । कम्पनीमा सिधै लगानी नभएपनि कम्पनीसँग जोडिएर आर्यालले काम गर्ने गरेको उनले बताए ।

श्रममन्त्री अर्यालले पनि श्रृष्टिका  सञ्चालकहरु आफ्ना साथीहरु भएको बताएका छन् । मन्त्री अर्याल म्यानपावर कम्पनीको बजार निर्देशक रहेको तथ्य बाहिरिएपछि बुधबार सामाजिक सञ्जालमा एक प्रष्टीकरण सार्वजनिक गर्दै उनले साथीहरुले सल्लाहकारका रुपमा वेबसाइटमा नाम राखेको र बेलैमा हटाउन भुलेको बताएका छन् । वेबसाइटहरु अपडेटेड नहुनुले म्यानपावरमा संलग्नता प्रमाणित नहुने उनले बताएका छन् ।

‘त्यो (श्रृष्टि) वा कुनै म्यानपावर कम्पनीमा न मेरो लगानी छ, न संलग्नता, न सेयर न स्यालरी ,’ उनले भनेका छन्, ‘समाचार बनाउनेहरुले नै भन्दिनुस् न त मेरो कुन म्यानपावरमा कहिले कति सेयर थियो ? तैपनि मेरो चुनौती छ, ल भन्नुस् म बाट कहिले कुन कुन गैरकानुनी काम भयो ? म बाट पीडित एक जना मात्र भए खडा गरिदिनु होला ।’

तर, वैदेशिक रोजगार विभागमा रहेको तामेलीको उजुरीले उनको दाबीलाई फिक्का बनाइदिएको छ । अझ मन्त्रीको अर्यालको पदसहित म्यानपावरको टिमसँग खिचेको फोटो लुकाउन कम्पनीको वेबसाइट नै बन्द गरिएपछि धेरैले मन्त्री अर्यालले स्वार्थ बाझिने विषय समेत छिपाउन खोजेको भन्दै आलोचना गरेका छन् ।

लेखकको बारेमा
रवीन्द्र घिमिरे

घिमिरे अनलाइनखबरका प्रशासन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?