+
+
Shares

वार्षिक एक करोड पर्यटक भित्र्याउने लक्ष्य राख्न सभामुख अर्यालको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २९ गते १४:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सभामुख डोलप्रसाद अर्यालले नेपालमा वार्षिक १ करोड पर्यटक भित्र्याउने बृहत् योजनाका साथ अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ।
  • नाटाको ५९ औँ साधारणसभालाई सम्बोधन गर्दै उनले पर्यटन क्षेत्रको विकासका लागि पर्यटनमैत्री कानून र पूर्वाधार निर्माण आवश्यक रहेको बताउनुभयो।
  • अर्यालले विगतका कमीकमजोरीको समीक्षा गर्दै आन्तरिक स्वार्थ त्यागेर एकताबद्ध भई पर्यटन क्षेत्रको विकासमा लाग्न व्यवसायीहरूलाई आग्रह गर्नुभयो।

२९ साउन, काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले नेपालको पर्यटन क्षेत्रको विकासका लागि अब वार्षिक २०–३० लाख पर्यटकको न्युन लक्ष्यमा मात्र सिमित नभई १ करोड पर्यटक भिर्त्याउने वृहत योजनाका साथ अघि बढ्नुपर्ने बताएका छन् ।

नेपाल पर्यटन व्यवसायीहरूको छाता सङ्गठन नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाटा) को ५९ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अर्यालले मुलुकको पर्यटन उद्योगलाई पुन: उत्थान मात्र नभई तिब्र गतिमा अघि बढाउन ठूलो सपना र स्पष्ट योजना आवश्यक रहेको बताए ।

विश्व पर्यटन बजारमा भइरहेको प्रविधिको विकास र बदलिँदो चाहनाअनुरूप नेपालले आफूलाई खरो उतार्नुपर्ने चुनौती रहेको उनको भनाइ छ ।

‘आज विश्व पर्यटन द्रुत गतिमा रूपान्तरण भइरहेको छ । प्रविधिको विकास, पर्यटकका बदलिँदा चाहना र विश्वव्यापी प्रतिस्पर्धाबीच हामीले आफूलाई खरो उतार्नुपर्ने चुनौती छ । भूकम्प, महामारी र अन्तर्राष्ट्रिय मन्दीजस्ता आरोह–अवरोह पार गरेको हाम्रो पर्यटन उद्योग अब पुन: उठ्ने मात्र होइन, दौडिने तयारीमा छ । त्यसका लागि पर्यटनमैत्री कानून, पूर्वाधार विकास र प्रभावकारी अन्तर्राष्ट्रिय बजारीकरणमा राज्यको भरपर्दो साथ आवश्यक छ,’ उनले भने ।

विगतका कमजोरीहरूका कारण पर्यटकहरू अन्य गन्तव्यतर्फ मोडिएको उल्लेख गर्दै उनले पर्यटकको आगमन वृद्धि गर्न ट्राभल एजेन्टहरूको भुमिका महत्वपूर्ण हुने बताए ।

उनले पर्यटन क्षेत्रमा आन्तरिक द्वन्द्व र व्यक्तिगत स्वार्थलाई त्यागेर सामुहिक हितमा लाग्न व्यवसायीहरूलाई आग्रह गरे । पर्यटन पूर्वाधारको प्रसङ्गमा अर्यालले व्यवस्थित ‘टुरिस्ट बस पार्क’को आवश्यकता औंल्याए ।

‘हामी २० लाख, ३० लाख पर्यटकको मात्र कुरा नगरौं, अब ८८१ करोड पर्यटक भिर्त्याउने लक्ष्य८८ राखौँ। ठूलो सपना देखे मात्रै ठूलो उपलब्धि हासिल गर्न सकिन्छ । पर्यटक किन घट्न थाले, किन नेपालभन्दा अन्य गन्तव्यतर्फ आकर्षित हुन थाले भन्ने विषयमा विगतका हाम्रा कमी–कमजोरीको समीक्षा गर्दै अघि बढ्नुपर्छ,’ सभामुख अर्यालले भने ।

उनले थप अघि भने, ‘आन्तरिक द्वन्द्व र स्वार्थ त्यागेर एकताबद्ध भएर अघि बढे मात्रै पर्यटन विकास सम्भव छ । त्यसैगरी, पर्यटन विधेयकलाई सबै सरोकारवालासँग घनिभूत छलफल गरेर बलियो र दीर्घकालीन बनाऔँ। पर्यटन समितिका सभापति, सबै स्टेकहोल्डर र सम्बन्धित मन्त्रालयसँग छलफल गरी अबको ५० वर्षलाई मार्गदर्शन गर्न सक्ने उत्कृष्ट पर्यटन विधेयक बनाउन हामी पूर्ण सहयोग गर्न तयार छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?