+
+

‘रियल हिरो’ भन्दै हर्क साम्पाङलाई साम्राज्ञीले दिइन् सयवटा रुद्राक्षको बिरुवा

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ६ गते १३:१५

काठमाडौं । धरान भ्रमणमा रहेकी अभिनेत्री साम्राज्ञी शाहले नगरप्रमुख हर्क साम्पाङलाई एक सयवटा रुद्राक्षको बिरुवा हस्तान्तरण गरेकी छन् । आफू अभिनित पछिल्लो फिल्म ‘ह्यारीकी प्यारी’लाई प्रवद्र्धन गर्न त्यहाँ पुगेकी उनले साम्पाङको वृक्षारोपण अभियानमा साथ दिएकी हुन् ।

बिरुवा हस्तान्तरणको क्रममा अभिनेता जितु नेपाल र निर्देशक कपिल रिजाल पनि उपस्थित थिए । साम्राज्ञीबाट बिरुवा ग्रहण गर्दै मेयर साम्पाङले ती सबै बिरुवा रोपेको र त्यसको नाम ‘श्रम संस्कृति पार्क-कलाकार क्षेत्र’ राखिने बताए ।

मेयर साम्पाङले आफना कतिपय कामलाई संगीत र फिल्मसँग जोड्ने गरेका छन् । गत साता उनले बाटोमा फोहोर नफाल्न धरानवासीलाई आग्रह गर्दै गीत बनाउने र फोहोरको विषयवस्तुमा फिल्म निर्माण गर्ने भन्दै कटाक्ष गरेका थिए । त्यसअघि उनले भ्वाइस अफ नेपाल सिजन ४ की फाइनलिस्ट सविना योङहाङलाई जिताउन भोट समेत मागेका थिए ।

बिरुवा हस्तान्तरण समारोहमा उपस्थित फिल्म निर्देशक रिजालले धरानसँग आफ्नो साइनो जोडिएको बताए । आफ्ना बुवा डा. भोला रिजाल पनि धरानमै जन्मिएको र आफू पनि हुर्किएको उनले सम्झिए । ‘मेयर साबले जुन काम गरिरहनुभएको छ । त्यो अत्यन्तै राम्रो छ,’ उनले भने । अभिनेता जितु नेपाल र साम्राज्ञीले साम्पाङलाई रियल हिरो भन्दै प्रशंसा गरे ।

जितुले आफूहरु रिलको हिरो र मेयर हर्क साम्पाङ रियल हिरो भएको बताए । ‘हामी रिलको हिरो, मन नलागे नहेर्न सकिन्छ, हेरेर मन परे पनि दुई घण्टामै सकिन्छ,’ उनले भने, ‘मुन्द्रेको कमेडी क्लब सिजन ३ लिएर आउँदैछु, अतिथिमा मेयर साबलाई बोलाउन चाहन्छु । मेयर साब सामाजिक सञ्जालमा पनि सक्रिय हुनुहुन्छ, हयारी कि प्यारी हेरेर शुभकामना दिनुहोला, कस्तो लाग्यो प्रतिक्रिया दिनुहोला ।’

साम्राज्ञी र जितुको मुख्य भूमिका रहेको फिल्म ‘ह्यारीकी प्यारी’ माघ २० गते रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?