News Summary
Generated by OK AI. Editorially reviewed.- रास्वपा सांसद यज्ञमणि न्यौपानेले प्रतिनिधिसभामा बालबालिका सम्बन्धी विधेयक २०८३ माथिको छलफलमा पूर्वमन्त्रीहरूको उदाहरण दिँदै बालबालिका शोषणमा राज्य निरीह भएको बताए ।
- उनले पूर्वकानुनमन्त्री लिलानाथ श्रेष्ठ र सांसद रेखा कुमारी शर्मासँग जोडिएका घटनाको स्मरण गर्दै कानुन लेखिनुभन्दा कार्यान्वयन महत्त्वपूर्ण भएको बताए ।
- न्यौपानेले बालबालिकालाई घरको काममा लगाउने, संरक्षण र निगरानी गर्ने कानुनी व्यवस्था प्रभावकारी रूपमा लागू गर्नुपर्ने माग गरे ।
३१ भदौ, काठमाडौं । मन्त्रीका अगाडि राज्य झुकेको उदाहरण भन्दै सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका रास्वपा सांसद यज्ञमणि न्यौपानेले केही पूर्वमन्त्रीहरूलाई सम्झिएका छन् ।
प्रतिनिधिसभामा बालबालिका सम्बन्धी विधेयक २०८३ माथि विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा उनले पूर्वमन्त्रीहरू सम्झिएका हुन् ।
‘म स्मरण गर्छु, पूर्वकानुनमन्त्री तथा सांसद लिलानाथ श्रेष्ठ । जसले ११ वर्षीय बालिका घरमा कामदारको रुपमा राखेको र डब्लु नाम गरेको कुकुरसँग रात बिताएर सुत्नुपर्ने पीडा भोगिएको समाचार सार्वजनिक भएका थिए,’ उनले भने ।
त्यसबेला मन्त्रीसँग राज्य झुकेको उनको भनाइ छ ।
‘राज्यले कानुन कार्यान्वयन गरेन । ती बालिका कुकुरसँग सुत्नु पर्ने पीडा यत्रतत्र सर्वत्र सञ्चारमाध्यममा आए । तर राज्य निरीह भयो कानुन मन्त्रीका अगाडि राज्य झुक्यो । कारबाही गरेन,’ न्यौपानेले भने, ‘त्यसैले कानुनमा के व्यवस्था गरिन्छ भन्ने मूल कुरा होइन । लेखिएका कुरा कार्यान्वयन गर्न सक्ने किसिमको कानुन निर्माण गर्दै छौं कि छैनौं हेर्नुपर्छ ।’
यस्ता उदाहरण अरु पनि रहेको भन्दै उनले पूर्वसांसद रेखा कुमारी शर्मालाई सम्झिए ।
‘म दोस्रो पनि स्मरण गर्छु । सांसद रेखा कुमारी शर्मा ठूलै तहल्का मचियो । अदालत लानेसम्मको कुरा भयो तर अन्तत मुद्दा फिर्ता लियो । कहाँ छन् यी दुइटा मैले नाम उल्लेख गरेका बालिकाहरूको अस्तित्व ? आज राज्यले खोज्या छ कि छैन ?,’ न्यौपानेले प्रश्न गरे ।
ऐन संशोधनको क्रममा बालबालिकाहरूलाई घरका काममा लगाइए आफ्ना बालबालिका जस्तै व्यवहार गर्नुपर्ने विषय आएको बताए । पालेको बच्चालाई पनि आफ्नै बच्चाको जस्तै संरक्षण गर्नु पर्ने कानुन रहेको भन्दै उनले यसको व्यवहारिक कार्यान्वयन हुनुपर्ने बताए ।
घरमा काम गर्ने बालबालिकाहरू स्कुल जानसक्ने अवस्था नरहेको र भाँडा माझेर बस्नुपर्ने स्थिति रहेको बताए ।
यहाँनेर उनले भनेका छन्, ‘कानुन कार्यान्वयनको सन्दर्भमा राज्यले उपयुक्त व्यवस्था गरोस् । मनिटरिङ गरोस् र कुन कुन ठाउँमा कस्ता–कस्ता बालबालिकाहरू शोषित छन् पत्ता लगाओस्’ उनले भने ‘सक्षम र योग्य परिवारले नै शोषित गर्ने कुराहरू हुन्छन् । त्यसैले कानुन कार्यान्वयनको सन्दर्भमा राज्यले ध्यान दिओस् ।’
प्रतिक्रिया 4