News Summary
Generated by OK AI. Editorially reviewed.- प्रतिनिधि सभाको कानुन समितिमा अनुपस्थित रहेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि न्यौपानेले एम्नेष्टी इन्टरनेशनलको कार्यशैलीप्रति कडा आपत्ति जनाएका छन्।
- सांसद न्यौपानेले सार्वभौम संसद्को बैठकमा उपस्थित नहुनु वा लिखित जवाफ नपठाउनु गैरजिम्मेवारपन भएको भन्दै संस्थाको यस्तो गतिविधिप्रति असन्तुष्टि व्यक्त गरे।
- राष्ट्रियताको सवालमा नेपालीहरू एकताबद्ध रहेको उल्लेख गर्दै उहाँले मुलुकको सार्वभौमिकतामा आँच आउने कुनै पनि विदेशी संस्थाको काम आफूहरूलाई स्वीकार्य नहुने चेतावनी दिए।
२० साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि न्यौपानेले एम्नेष्टी इन्टरनेशनलको कार्यशैलीप्रति आपत्ति जनाएका छन् ।
बुधबार बसेको प्रतिनिधि सभाअन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा ‘स्वतन्त्र न्यायपालिका तथा न्याय प्रशासनको वर्तमान अवस्था, समस्या र समाधान’का विषयमा छलफल भइरहँदा सांसद न्यौपानेले उक्त धारणा राखेका हुन् ।
समितिले छलफलका लागि एम्नेस्टी इन्टरनेशनललाई आमन्त्रण गरे पनि संस्थाका प्रतिनिधि उपस्थित नभएपछि सांसद न्यौपानेले असन्तुष्टि व्यक्त गरे ।
नेपालको सार्वभौम संसदले बोलाउँदा उपस्थित नहुनु वा लिखित जवाफ समेत नपठाउनु गैरजिम्मेवारपन भएको उनको तर्क छ । एम्नेष्टी इन्टरनेशनलका गतिविधिप्रति विश्वस्तरमै प्रश्न उठिरहेको सन्दर्भमा नेपाल अब चुप लागेर नबस्ने चेतावनी समेत दिए ।
राष्ट्रियता र सार्वभौमिकताका सवालमा नेपालीहरू सदैव एकजुट हुने उल्लेख गर्दै उनले विगतका विनाशकारी भूकम्प र नाकाबन्दीको समयमा झैँ अहिले पनि राष्ट्रियताको रक्षाका लागि सबै पक्ष एक ठाउँमा रहेको उनको भनाइ थियो ।
‘संसारको जुनसुकै कुनामा भएपनि नेपालको सार्वभौम संसद्ले बोलाउँदा कि त उपस्थित हुनुपर्थ्यो, कि लिखित रूपमा आफ्नो धारणा पठाउनुपर्थ्यो । अन्तर्राष्ट्रिय कानुन र आफ्नै विधानले दिएको अधिकार प्रयोग गर्दा जवाफदेहीता पनि हुनुपर्छ,’ उनले भनेका छन्, ‘आज हामी यहाँ कुनै दल वा विचारका रूपमा होइन, नेपालीका रूपमा उपस्थित छौं । भूकम्प र नाकाबन्दीका बेलाझैं अहिले राष्ट्रियताको सवालमा हामी सबैको एउटै स्वर छ ।’
सांसद न्यौपानेले नेपालमा मानव अधिकारको संरक्षण र गरिबी निवारणका क्षेत्रमा वैदेशिक संस्थाहरूको सहयोगको अपेक्षा गरिए पनि त्यसको आवरणमा मुलुकको सार्वभौमिकतामाथि आँच आउने काम स्वीकार्य नहुने स्पष्ट पारे ।
प्रतिक्रिया 4