+
+
Shares

भरतपुरमा भूमिगत विद्युत् तार जडान अन्तिम चरणमा, असोजभित्र सञ्चालन गर्ने लक्ष्य

विद्युत् प्राधिकरणका अनुसार पोखरा-भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजना अन्तर्गत हालसम्म समग्र भौतिक प्रगति ९४ प्रतिशत पुगेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २० गते १४:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चितवनको भरतपुरमा नेपाल विद्युत् प्राधिकरणले अघि बढाएको भूमिगत विद्युत् वितरण प्रणाली जडान कार्य अन्तिम चरणमा पुगेको छ।
  • पोखरा-भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाको भौतिक प्रगति ९४ प्रतिशत पुगेको छ भने करिब ३ सय ग्राहकका घरमा भूमिगत लाइनबाट विद्युत् आपूर्ति सुरु भइसकेको छ।
  • तीन अर्ब रुपैयाँ लागतको यस आयोजनाबाट १ हजार ३ सय ग्राहक प्रत्यक्ष लाभान्वित हुने र विद्युत् आपूर्ति थप भरपर्दो तथा सुरक्षित हुने अपेक्षा गरिएको छ।

२० साउन, काठमाडौं । चितवन भरतपुरमा भूमिगत विद्युत् वितरण प्रणाली जडान अन्तिम चरणमा पुगेको छ ।

नेपाल विद्युत् प्राधिकरणले भूमिगत केबुल प्रणालीमा विद्युत् चार्ज (लोड परीक्षण) सुरु गरिसकेको छ भने करिब ३ सय सेवाग्राहीका घरमा भूमिगत लाइन मार्फत विद्युत् आपूर्ति सुरु भइसकेको छ ।

प्राधिकरणका अनुसार पोखरा-भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजना अन्तर्गत हालसम्म समग्र भौतिक प्रगति ९४ प्रतिशत पुगेको छ । अब मुख्य रूपमा ग्राहकका घरमा अन्तिम जडान गर्ने काम बाँकी छ । आयोजनालाई आगामी असोजभित्र पूर्णरूपमा सञ्चालनमा ल्याउने लक्ष्य छ ।

भरतपुर महानगरपालिकाको ६ लेन सडक र बाइपास सडक आसपास करिब २० किलोमिटर क्षेत्रमा भूमिगत विद्युत् वितरण प्रणाली विस्तार गरिएको छ । यो प्रणाली सञ्चालनमा आएपछि करिब १ हजार ३ सय ग्राहक प्रत्यक्ष लाभान्वित हुनेछन् ।

हाल केन्द्रीय बस टर्मिनलदेखि नहरचोकसम्म दायाँतर्फका घर, गणेशस्थान क्षेत्र तथा चितवन मेडिकल कलेजदेखि चौबिसकोठीसम्म भूमिगत प्रणालीबाट विद्युत् वितरण सुरु भइसकेको छ ।

यसैगरी आँपटारी-केन्द्रीय बस टर्मिनल, केन्द्रीय बस टर्मिनल-पुलचोक, आँपटारी-पोखरा बसपार्क तथा भरतपुर सबस्टेसनदेखि भाटभटेनी नजिक नहरसम्म भूमिगत केबुल विस्तार सम्पन्न भइसकेको छ । अहिले प्रणालीमा विद्युत् चार्ज गरी परीक्षण भइरहेको छ ।

प्राधिकरणका अनुसार बाइपास सडक दुवैतर्फ करिब ९ किलोमिटर, केन्द्रीय बस टर्मिनलदेखि पुल्चोकसम्म ८ किलोमिटर ३३ केभी लाइन, आँपटारीदेखि पोखरा बसपार्कसम्म १.५ किलोमिटर ११ केभी लाइन तथा केन्द्रीय बस टर्मिनलदेखि मिलनचोकसम्म १.५ किलोमिटर ३३ केभी लाइन भूमिगत रूपमा विस्तार गरिएको छ । औद्योगिक फिडरमा समेत विद्युत् चार्ज गरिसकिएको छ ।

सुरुमा करिब १ अर्ब ४० करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनाको दायरा विस्तार भएपछि लागत बढेर करिब ३ अर्ब रुपैयाँ पुगेको छ । नेपाल सरकार, विद्युत् प्राधिकरण र एसियाली विकास बैंकको साझेदारीमा आयोजना कार्यान्वयन भइरहेको हो ।

प्राधिकरणका अनुसार भूमिगत वितरण प्रणाली सञ्चालनमा आएपछि विद्युत् आपूर्ति थप भरपर्दो हुने, हावाहुरी तथा प्राकृतिक विपद्बाट हुने क्षति कम हुने, मर्मतसम्भार सहज हुने र खुला तारका कारण हुने दुर्घटना जोखिम घट्ने अपेक्षा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?