News Summary
Generated by OK AI. Editorially reviewed.- रास्वपा सांसद यज्ञमणि न्यौपानेले अख्तियार प्रमुख प्रेमकुमार राईको वाइडबडी, आयल निगमको जग्गा र भैरहवा विमानस्थल प्रकरणमा नाम जोडिएको भन्दै नैतिकता प्रश्न उठाए।
- उनले वाइडबडी खरिदमा एउटै कार्यमा संलग्न कतिपयलाई अभियोजन नगरी केहीलाई मात्रै अभियोजन गरिएको भन्दै चयनमुखी अभियोजन भएको आरोप लगाए।
- न्यौपानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा सानु भण्डारीको बयान उद्धृत गर्दै प्रेमकुमार राईसँग जोडिएको प्रसंग संसद् समितिमा सुनाए।
४ भदौ, काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद यज्ञमणि न्यौपानेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईको नैतिकता प्रश्न उठाएका छन्। विभिन्न मुद्दा र अदालतका फैसलाहरु उल्लेख गर्दै उनले तिनमा राईको विषय जोडिएको भन्दै नैतिकतामा प्रश्न उठाएका हुन्।
उनले पदमा बसिरहने नैतिकता छ वा छैन भनेर राईलाई प्रश्न गरेका हुन्। समितिमा अख्तियार प्रमुख राईसहितका अधिकारीहरु उपस्थित छन्।
सांसद न्यौपानेले वाइडबडी विमान खरिद प्रक्रियाको प्रारम्भमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन सचिव तथा सञ्चालक समितिका अध्यक्ष प्रेमकुमार राईको अध्यक्षतामा २०७३/१/२ मा बसेको निगम सञ्चालन समितिको बैठकबाट नै निगमको आर्थिक नियमावली २०६३ को विनियम २६३ (१) (क) बमोजिम व्यवस्थापनबाट अध्ययन गरी निगमका लागि दुईवटा वाइडबडी विमानहरू खरिद गर्ने सम्बन्धमा प्रस्तुत प्रस्ताव अनुसार खरिद कार्य अघि बढाइएकोबारे अदालतको फैसलामा उल्लेख भएको बताए।
यो मुद्दामा केहीको नाम रहेको र प्रेमकुमार राईको नाम पनि रहेको भन्दै उनले प्रतिवादी नबनाइएको आधारले अदालतले के भन्छ भन्दै प्रश्न गरे।
‘उक्त खरिद प्रक्रियामा सामेल रहेका केही पदाधिकारीको हकमा पनि आरोप दाबी लिएको देखिन आउँदैन’ उनले भने, ‘यसरी एउटै कार्यमा संलग्न कसैलाई अभियोजन नै नगर्ने, कसैलाई अभियोजन गर्ने कार्य चयनमुखी दृष्टिकोण अवलम्बन गरेको देखिन्छ। चयनमुखी अभियोजनमा अभियोजन गर्नु समान न्यायको सिद्धान्तविपरीत हुन्छ, समानताको हकविपरीत हुन्छ, प्राकृतिक न्यायको सिद्धान्तविपरीत हुन्छ।’
उनले यस्तो कामले कानुन सबैलाई बराबर हो भन्ने भावनामा आघात पुर्याउने पनि बताए। ‘निगमको नियमावलीमा भएको कानुनी व्यवस्थामा उल्लेख गरेको वाइडबडी विमान खरिद प्रकरणको उपसमितिले गठन गरेको कार्यदिशामा संलग्न व्यक्तिहरूमाथि स्वैच्छिक अभियोग लगाइएको देखिन्छ’ उनले भने, ‘यसका आधारमा आयुक्तज्यू, तपाईं हुनुहुन्छ प्रमुख आयुक्त, यसका आधारमा नैतिकता छ ? अब त्यही पदमा रहनका लागि कानुनले दिन्छ कि दिँदैन, मैले यो दोस्रो प्रश्न गरेँ, यसको उत्तर पाऊँ।”
आयल निगमको जग्गा प्रकरणमा लेखा समितिले प्रेमबहादुर राईकै नाम किटान गरेको उनले बताए। उनले भैरहवा विमानस्थको विषय पनि उठाए।
‘अर्को एउटा महत्त्वपूर्ण विषय, नक्कली भुटानी शरणार्थीको विषय छ। मैले अदालतमा भएको बयान लिएर आएको छु, किनभने यो मुद्दाको वकिल पनि म भएकाले कागज प्राप्त गरेको हो’ उनले भने । उनले यस प्रकरणमा नाम जोडिएका सानु भण्डारीको बयान पढेर सुनाए ।
‘मलाई… इन्द्रजित राईले यो गाडी सचिवज्यू तत्कालीन सचिव प्रेम राईको हो, उक्त रकम गाडीमा राखिदिनू भनी भनेको हुँदा मैले साथमा लिई गएको नगद रकम १ करोड गाडीमा राख्न लगाई मलाई सचिव प्रेमकुमार राईले कार्यकक्षमा बोलाएको हुँदा म निजको कार्यकक्षमा गएको र… अब तपाईंको काम हुन्छ, तपाईं जानू भनी प्रेमकुमार राईले मलाई भनेकाले म निजलाई भेटी निजको विश्वासमा परी सो ठाउँबाट फर्किएको हो’ सानु भण्डारीको बयान सुनाउँदै सांसद न्यौपानेले अख्तियार प्रमुख राइमाथी प्रश्न उठाए।
प्रतिक्रिया 4