News Summary
Generated by OK AI. Editorially reviewed.- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एमाले अध्यक्ष केपी शर्मा ओलीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यमाथि गैरकानूनी सम्पत्ति आर्जनको आशंकामा अनुसन्धान शुरू गरेको छ ।
- अख्तियारले बज्राचार्यलाई बोलाएर सम्पत्ति विवरण फारम भराएको छ भने उनले यसबारे अध्यक्ष ओलीलाई समेत जानकारी गराइसकेका छन् ।
- नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी केशव दुलालले बयानमा बज्राचार्यलाई १ करोड रुपैयाँ बुझाएको दाबी गरेका थिए ।
२४ जेठ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानूनी सम्पत्ति आर्जन गरेको आशंकासहित एमाले अध्यक्ष केपी शर्मा ओलीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यमाथि अनुसन्धान थालेको छ ।
अनुसन्धान अधिकृत तोकिएका एक सुरक्षा अधिकारीले गतसाता बज्राचार्यलाई अख्तियारमा बोलाएर सम्पत्ति विवरणको फारम भराएका हुन् ।
अनलाइनखबरको सम्पर्कमा आएका बज्राचार्यले शुरुमा आफूलाई अख्तियारले बोलाएर फर्म बुझाएको स्विकारे । उनले भने, ‘अहिले त सबैले भरेर बुझाउनुपर्ने हुन्छ, मैले पनि अख्तियारमा बुझाएको हो ।’ ‘सबै बुझाउने त अख्तियारमा नभई केशरमहलस्थित सम्पत्ति जाँचबुझ आयोगमा होइन र ?’ भन्ने अनलाइनखबरको जिज्ञासामा उनले भने, ‘अख्तियारको कुरामा त मैले तपाईलाई बुझेर मात्रै भन्नसक्छु है ।’ त्यसपछि उनले फोन काटे र सम्पर्कमा आउन चाहेनन् ।
अख्तियारमा बुझाउने र सम्पत्ति जाँचबुझ आयोगमा बुझाउने सम्मत्ति विवरणको प्रकृति फरक हो ।
बज्राचार्यले आफूमाथि थालेको अनुसन्धानबारे एमाले अध्यक्ष ओलीलाई जानकारी गराइसकेको एमाले सम्वद्ध स्रोतले बतायो ।
‘सुरूमा अख्तियारबाट सम्पत्ति विवरण फारम भर्न बोलाएका रहेछन् । केही दिन ढिला हुनासाथ ‘तपाईंलाई लिन नै आउनुपर्ने हो कि आफँै आउनुहुन्छ भनेर फोन आएको रहेछ’ एमाले सचिवालय सम्वद्ध स्रोतले भन्यो ।
बज्राचार्यलाई अख्तियारले बोलाएको थाह पाएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले अख्तियारका केही पदाधिकारीहरूसँग सम्पर्क गरेका थिए ।
‘प्रधानमन्त्री कार्यालयबाट पत्रसहित नै अनुसन्धान गर्नुपर्ने दबाब आएपछि प्रमुख आयुक्त मातहतको संयन्त्रले अनुसन्धान गरिरहेको थाह भएको छ,’ सचिवालयमा आवद्ध ती नेताले भने, ‘नेताहरूबीच राजनीतिक प्रतिशोधका आधारमा यो काम भइरहेको छ भन्नेबारे अनौपचारिक छलफल चलिरहेको छ ।’
एमाले अध्यक्ष ओलीका नातेदार समेत रहेका बज्राचार्य कम्तिमा पनि दुई दशकदेखि उनको सचिवालयमा कार्यरत छन् । ओली प्रधानमन्त्री भएका बेलामा हरेक पटक बज्राचार्य नै प्रमुख स्वकीय सचिव बन्ने गरेका छन् ।
बज्राचार्यमाथि अनुसन्धान अघि बढेको थाह पाएपछि ओलीसमर्थक केही नेताहरूको अनौपचारिक बैठक समेत भएको थियो । उनीहरूले एमाले कार्यकालमै सिफारिस भएका पदाधिकारीहरूको बाहुल्य रहेको अख्तियारबाटै प्रतिकूल अवस्थामा अनुसन्धान अघि बढेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले बज्राचार्यको चलअचल सम्पत्तिमाथि प्रारम्भिक अनुसन्धानपछि फाइल जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा बुझाइदिएको थियो । ‘त्यही फाइल समेत सरकारी वकिलले अख्तियारमा पठाइदिएको रहेछ,’ अख्तियारसम्वद्ध स्रोतका अनुसार, ‘त्यो फाइल र अरु उजुरीका आधारमा अख्तियार नेतृत्वले अनुसन्धान अघि बढाउन खोजेको हो ।’
तीन वर्षअघि सतहमा आएको नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका केशव दुलालले ओलीका स्वकीय सचिव राजेश बज्राचार्यलाई एक करोड रुपैयाँ दिएको बयान गरेका थिए ।
बयानका क्रममा दुलाल, सानु भण्डारी लगायतले नक्कली भुटानी शरणार्थी प्रकरणमा तत्कालीन उच्चपदस्थहरूलाई ‘आर्थिक व्यवस्थापन गरेको’ बयान दिएका थिए । तर उनीहरूमाथि अनुसन्धान हुन सकेन । बज्राचार्यले भने त्यतिबेलादेखि नै आफूमाथिको आरोप खण्डन गर्दै आएका थिए ।
नक्कली शरणार्थी प्रकरणमा मुछिएका कयांैमाथि अनुसन्धान हुनुपर्ने भनी तीन वर्षअघि नै प्रहरीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा फाइल पठाएको थियो ।
तत्कालीन गृहमन्त्री बालकृष्ण खाण, उनकी पत्नी मञ्जु खाण, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी लगायतमाथि अनुसन्धान गर्न त्यतिबेला नै सरकारी वकिलको कार्यालयले अख्तियारमा फाइल पठाएको थियो ।
केही व्यक्तिहरूको सम्पत्ति विवरण झिकाएपनि अख्तियारले अनुसन्धानलाई अघि बढाएको थिएन । अहिले भने त्यतिबेला बयानमा मुछिएका तर अनुसन्धानको दायरामा नआएका बज्राचार्यको सम्पत्तिमाथि अनुसन्धान अघि बढाएको हो ।
प्रतिक्रिया 4