+
+
नक्कली शरणार्थी प्रकरणमा आरोपीको बयान : :

बादल, प्रेम राई र राजेश बज्राचार्यको नाम लिए, आरजु र खाँणबारे मौन

गौरव पोखरेल गौरव पोखरेल
२०८० जेठ ९ गते २२:४२

९ जेठ, काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौं असुली गरिएको आरोपमा पक्राउ परेकाहरुले तत्कालीन गृहसचिव प्रेमकुमार राई र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीका स्वकीय सचिव राजेश बज्राचार्यलाई मुछेको पाइएको छ । तर प्रहरी हिरासतमै रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणका साथै उनकी पत्नी मञ्जु खाँण र कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजु देउवा राणाको नाम लिइएको अडियोको समेत इन्कारी बयान दिएका छन् ।

नक्कली शरणार्थी प्रकरणमा ५८औं दिन लामो अनुसन्धान सकेर प्रहरीले सोमबार सरकारी वकिलको कार्यालयमा रायसहितको प्रतिवेदन बुझाएको थियो । प्रहरी हिरासतमा रहेका १६ जनासहित ३३ जनालाई प्रतिवादी बनाइएको छ भने २७ करोड ८४ लाखबढी विगो दाबी गरिएको छ ।

प्रहरीले बुझाएको प्रतिवेदनमा सबैको बयान छ । सुरुवातमा सबैले यो प्रकरणमा इन्कारी बयान दिएका छन् । थप बयानमा सानु भण्डारी र केशव दुलालले उच्च पदस्थहरुलाई रकम बुझाएको बयान दिएको प्रतिवेदनमा उल्लेख छ ।

तर सरकारी वकिलको कार्यालयमा बुझाइएको प्रतिवेदनमा सानु र केशवको थप बयानमा तत्कालीन गृहसचिव प्रेमकुमार राई र तत्कालीन गृहमन्त्रीका सुरक्षा सल्लाहकार इन्द्रजित राईलाई रकम बुझाएको उल्लेख छ ।

आरोपी सानु भण्डारीले थप बयानका क्रममा तत्कालीन गृहमन्त्री बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईलाई छोरा निरजसहित भेटेर एक करोड ५० लाख रुपैयाँ नगद दिएको बताएका छन् ।

‘रकम दिने बेला निजको चालक खटिएका हाल यकिन नाम याद नभएको प्रहरी पनि सँगै थिए, उनलाई पनि पैसा दिएको कुरा थाहा छ’, उनले भनेका छन्, ‘त्यही बेला इन्द्रजित राईले हाल बसोबास गरिरहेको ललितपुर जिल्ला गोदावरी नगरपालिका वडा नं. १२, ठेचोको घर किन्न लागेका थिए । हाल बसोबास गरेको घरको तत्कालीन घरधनीलाई इन्द्रजित राईले दिनु भनेर उहाँको तर्फबाट एक करोड दिएको हुँ ।’

इन्द्रजितले तत्कालीन गृहसचिव प्रेमकुमार राईको गाडीमा एक करोड रुपैयाँ राख्न लगाएर सचिवको कार्यकक्षमा बोलाएको समेत उनले खुलाएका छन् । ‘नगद रकम एक करोड रुपैयाँ गाडीमा राख्न लगाई मलाई सचिव प्रेमकुमार राईको कार्य कक्षमा बोलाएको हुँदा म निजको कार्यकक्षमा गएको र अब तपाईंहरुको काम हुन्छ, तपाईं जानु भनी प्रेमकुमार राईले मलाई भनेकाले म निजलाई भेटी निजको विश्वासमा परी सो ठाउँबाट फर्किएको हुँ’, सानुले भनेका छन् ।

उनले एमाले सचिव टोपबहादुर रायमाझीलाई २८ असार २०७६ मा सातदोबाटोस्थित घरमा एक करोड ६० लाख रुपैयाँ नगद दिएको बताएका छन् । अन्य बाँकी रकम ४० लाख छोरा सन्दीप रायमाझीलाई चेकबाट भुक्तानी पाउने गरी चेक काटिदिएको बताएका छन् । उनले विभिन्न व्यक्तिलाई दिएको रकमबारेको विवरण डायरीमा राखेको बयानमा खुलाएका छन् । रायमाझीले आफू र परिवारलाई समेत भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै आश्वासन दिएको भण्डारीले बताएका छन् ।

सानुको बयानसँग केशव दुलालको बयान मिल्छ । उनले बादलले मन्त्री क्वार्टरमै रकम बुझेको दाबी गरेका छन् ।

जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले तयार पारेको अभियोग पत्रमा समावेश दुलालको बयानमा भनिएको छ, ‘तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलले तपाईं र तपाईंको आफन्तलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाइदिन्छु भनी निजका छोरा प्रतिक थापामार्फत मन्त्री क्वार्टर पुल्चोकमा बोलाइ निज रामबहादुर थापा बादल राष्ट्रिय सभाको चुनाव हुनुभन्दा अगाडि ३ करोड नगदै बुझी लिएको, प्रतीक थापाले नक्साल निलगिरी थकाली भान्सा घरको आँगन उत्तरतर्फ रहेको होटलको माथिल्लो तलामा बोलाइ २०७६ साल असारमा एक करोड बुझी लिएका थिए ।’

दुलालले तत्कालीन गृहसचिव प्रेमकुमार राईले गृहमन्त्री बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईमार्फत सचिवको कार्यकक्षमै बोलाएर २०७६ सालको साउनमा ३ करोड रुपैयाँ नगद बुझेको भनेका छन् ।

तत्कालीन प्रधानमन्त्री ओलीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यले उर्जामन्त्री टोपबहादुर रायमाझीका प्रमुख स्वकीय सचिव लीला जिसीमार्फत प्रधानमन्त्री क्वार्टर बालुवाटारमा बोलाएर २०७६ असोजमा एक करोड रुपैयाँ लिएको बताएका छन् ।

भुटानी शरणार्थी समस्या समाधान सम्बन्धी कार्यदलको प्रतिवेदन निर्णायार्थ मन्त्रिपरिषदको सामाजिक समितिमा पेश भएका बेला अघिल्लो दिन उर्जामन्त्री रायमाझी र आफूलाई पनि रकम चाहियो भनेर उनका स्वकीय सचिव जिसीले पुल्चोकस्थित मन्त्री क्वार्टरमा बोलाएको दुलालले बताएका छन् । ‘सामाजिक समितिबाट निर्णय भएको अघिल्लो दिन बेलुकी एक करोड नगदै बुझी लिएका हुन्’, उनले भनेका छन् ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका पूर्वसल्लाहकार डा. अजयक्रान्ति शाक्य र तत्कालीन काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यका निजी सचिव राजेश्वर स्थापितले ‘निर्णय गर्न रकम अपुग भएको’ सुनाएको दुलालले खुलाएका छन् । तत्कालीन गृहमन्त्री बादलको क्वार्टरमा उर्जामन्त्री रायमाझीसहितसँग भेट गराएपछि शाक्य र स्थापितले एक/एक करोड रुपैयाँ बुझेको दुलालको दाबी छ ।

यो प्रकरणमा प्रहरीले पूर्वमन्त्री रायमाझी, पूर्व सुरक्षा सल्लाहकार राईलाई पक्राउ गरेपनि सानु र केशवले पोखेका एमाले अध्यक्ष ओलीका प्रमुख स्वकीय सचिव बज्राचार्य, तत्कालिन गृहमन्त्री एवं एमाले उपाध्यक्ष बादल, पूर्वगृहसचिव एवं हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रमुख आयुक्त रहेका राई, डा. अजयक्रान्ति शाक्य, राजेश्वर स्थापित लगायतसँग सामान्य सोधपुछ समेत गरेको छैन ।

आरजु र खाँणबारे मौन

नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धान गरिरहेको प्रहरीले पूर्वगृहमन्त्री खाँणलाई २७ वैशाखमै पक्राउ गरेको थियो । अनुसन्धान अधिकृतहरुका अनुसार ठगी गर्ने गिरोहले खाँण गृहमन्त्री भएको बेला पूर्वसहसचिव बालकृष्ण पन्थी नेतृत्वको कार्यदलको प्रतिवेदन आफ्नो अनुकुल सच्याउने प्रयास गरेका थिए ।

खाँणले पूर्वसहसचिव पन्थीको प्रतिवेदन सच्याउन भन्दै जिल्ला प्रशासन कार्यालय, झापाका सहायक प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेको अध्यक्षतामा प्रतिवेदन पुनरावलोकन गर्न अर्को समिति बनाएका थिए । समितिले काम गरेपछि पछि तत्कालीन गृहसचिव टेकनारायण पाण्डेले मन्त्रालयको स्थानीय प्रशासन तथा प्रदेश समन्वय शाखामा रहेको प्रतिवेदन नै कीर्ते गरेका थिए ।

यो प्रकरणमा उनको संलग्नता देखेर नै पक्राउ गरिएको हो । तर उच्च पदस्थहरुले पोलेका सानु र केशव आफ्नो बयानमा भने खाँणबारे मौन छन् ।

तत्कालीन गृहसचिव टेकनारायण पाण्डेले पनि आरोपी केशव दुलाल र तत्कालीन गृहमन्त्री खाँणबीच सिधा सम्पर्क हुने हुँदा उनले लिएर आएको रकम सिधै मन्त्रीलाई दिए वा सचिवालयमार्फत अरु कसैलाई दिए भन्ने आफूलाई चासो, लोभ वा संलग्नता नभएको भनेका छन् ।

यो प्रकरणमा सार्वजनिक भएको अडियो सम्वादमा खाँण पत्नी मञ्जु र तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवाको पनि नाम मुछिएको थियो । मञ्जु र राणाले पनि रकम दिएको भन्दै आरोपी सन्देश शर्माले पीडित गजेन्द्र बुढाथोकीलाई बताएको अडियो सार्वजनिक भएको थियो ।

तर, सरकारी वकिलले तयार पारेको प्रतिवेदनमा समावेश बयानमा शर्माले बुढाथोकी र रामकुमार रेग्मीले पहिल्यै फोन गरेर पैसा लिएका मान्छेले समस्यामा पारे भन्दै उनीहरु आएको समयमा फोन गर्ने भन्दै उनीहरुलाई रकम बुझाएको भनेर जानकारी गराउँदा आफूहरु बाँच्ने भनेर त्यस्तो बोल्न लगाएको दाबी गरेका छन् ।

‘निजहरुले भने अनुसार आरजु देउवा र बालकृष्ण खाँण र मञ्जु खाणको समेत नाम लिएर मैले रकम बुझाएको हो भनेर कुरा गरेको हो, उक्त कुरा वास्तविक होइन’, उनको बयान छ, ‘जाहेरवालाहरुले भनेका कुरा वास्तविक होइन, मैले निजहरुलाई चिनेको छैन । चिन्दै नचिनेको व्यक्तिलाई यति धेरै रकम नगदै विना काम दिने कुरै भएन ।’ अडियो तोडमोड गरेर अनुकूल प्रयोग गरिएको समेत उनको दाबी छ ।

यो पनि पढ्नुस् 

बयान प्रतिशोधपूर्ण छ : राजेश बज्राचार्य 

खाँणको बयान : नक्कली शरणार्थी बनाउने काम ठीक होइन, मैले सोच्न पनि सक्दिनँ 

‘सचिव प्रेमकुमार राईको गाडीमा एक करोड राखिदिएपछि उहाँले काम हुन्छ भन्नुभयो’ 

रायमाझीको बयान : गृह मन्त्रालयभित्रै लेनदेन विवादमा झगडा भएको थियो

 

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?