२३ कात्तिक, सुर्खेत । दैलेखमा जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या दुई पुगेको छ । दुर्घटनामा गम्भीर घाइते भएका जिप चालक सान्नीत्रिवेणी गाउँपालिका–७, कालिकोटका २२ वर्षीय योगेश सिम्खडाको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।
उपचारका लागि उनलाई सुर्खेतस्थित प्रदेश अस्पताल कालागाउँ पुर्याइएको थियो । तर, चिकित्सकले जाँच गर्दा मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका सान्नीत्रिवेणी–६ का ४१ वर्षीय रने सार्कीको भने घटनास्थलमै मृत्यु भएको थियो ।
कालिकोटबाट बिरामी बोकेर सुर्खेत जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ च १२१५ नम्बरको बोलेरो जिप सोमबार बिहान ८ बजे दैलेखको गुराँस गाउँपालिका–१, काफलतोलीमा दुर्घटना भएको थियो ।
उक्त जिपमा सान्नीत्रिवेणी–६, मेहेलमुडीकी २७ वर्षीया बिरामी कैली सार्कीसहित उनका आफन्तहरू सवार थिए । दुर्घटनामा घाइते भएका ६ जनामध्ये चालकसहित दुई जनाको मृत्यु भएको हो ।
अन्य चार जनाको सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
प्रतिक्रिया 4