१८ कात्तिक, बैतडी । बैतडीमा जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ६ जना घाइते भएका छन् ।
बुधबार राति करिब ८ बजे मेलौली नगरपालिका–१ स्थित सौडानी खोलाको जिरो पोइन्टमा जिप दुर्घटना भएको हो ।
डडेलधुरा सदरमुकामबाट बैतडीको पञ्चेश्वरतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ज १६३८ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब ३५ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
दुर्घटनामा पञ्चेश्वर गाउँपालिका–२ की ३५ वर्षीया सुना मंगोलाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएपछि उनको उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा राति ८ः३५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए ।
दुर्घटनामा जिप चालक पञ्चेश्वर गाउँपालिका–२ महाकालीका ३६ वर्षीय सन्तोष राम लुहारसहित ६ जना घाइते भएका छन् ।
प्रतिक्रिया 4