+
+
नक्कली शरणार्थी प्रकरणका दुई आरोपितको बयान :

‘सचिव प्रेमकुमार राईको गाडीमा एक करोड राखिदिएपछि उहाँले काम हुन्छ भन्नुभयो’ *

तत्कालीन गृहसचिव प्रेमकुमार राईको गाडीमा एक करोड राखिदिएको बयान गर्ने दुई आरोपितले थप विवरण खुलाउने क्रममा उनलाई तीन करोड दिएको दाबी गरेका छन् ।

कृष्ण ज्ञवाली कृष्ण ज्ञवाली
२०८० जेठ ९ गते १९:४५

९ जेठ, काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाएर ठगी प्रकरणमा मुछिएका दुई आरोपितहरुले तत्कालीन गृहसचिव प्रेमकुमार राईलाई एक करोड रुपैयाँ दिएको बयान गरेका छन् ।  अर्को प्रसंगमा केशव प्रसाद दुलालले राईलाई तीन करोड दिएको दावी गरेका छन् । दुवै जनाले एक करोड राखिदिएको भन्ने बयानको व्यहोरा मिल्दोजुल्दो देखिन्छ ।

उनीहरुले तत्कालीन गृहसचिव राईको गाडीमा एक करोड रुपैयाँ राखिदिएको बताएका हुन्। बयानमा उल्लेख गरिए अनुसार त्यो घटना १० भदौ २०७६ को हो । राई हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त हुन् ।

नक्कली शरणार्थी प्रकरणका प्रमुख योजनाकार भनी मुछिएका सानु भण्डारीले सरकारी वकिलको रोहबरमा प्रहरीसँगको बयानमा अख्तियारका बहालवाला प्रमुख आयुक्तको नाम पोलेका हुन् । बयानका क्रममा उनीहरुले राईलाई एकमुष्ट तीन करोड दिएको दावी गरेका छन्, जुन रकम गाडीमा राखिदिएको हो कि छुट्टै हो भन्ने खुल्दैन ।

भण्डारीको बयान अनुसार उनले गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार डा. इन्द्रजित राईलाई एक करोड रुपैयाँ दिएपछि उनले त्यो रकम सचिवको गाडीमा राख्न निर्देशन दिएका थिए। उनले भनेका छन्, ‘मलाई डा. इन्द्रजित राईले यो गाडी सचिवज्यू (तत्कालीन सचिव प्रेमकुमार राई)को हो, उक्त रकम गाडीमा राखिदिनु भनी भनेको…..।’

आफूले एक करोड रुपैयाँ नगद सचिवको गाडीमा राखेको र त्यसपछि उनलाई भेट्न कार्यकक्षमा गएको बयान दिएका छन् । बयानमा उनले गरेको दावी अनुसार त्यसपछि सचिव राईले ‘अब तपाईंहरुको काम हुन्छ तपाई जानु’ भनी बचन दिएका थिए । उनले बयानमा भनेका छन्, ‘म निजलाई भेटी निजको विश्वासमा परी सो ठाउँबाट फर्किएको हुँ।’

सानु भण्डारी मात्रै होइन, केशव दुलालको बयानमा समेत तत्कालीन गृहसचिव राईको नाम उल्लेख छ। उनले सानु भण्डारीलाई उद्धृत गर्दै इन्द्रजित राईले एक करोड रुपैयाँ सानु भण्डारीमार्फत गृहसचिव राईलाई बुझाएको बताएका छन्। त्यसपछि आफूहरु दुवैजना अख्तियार प्रमुख राईको कार्यकक्षमा गएको उनको भनाइ छ। उनले बयानमा भनेका छन्, ‘निजकै कार्यकक्षमा गई कुरा हुँदा सानु भण्डारीसँग उक्त रकम बुझिसकेको भनी मलाई समेत जानकारी गराएका हुन्।’

अर्को प्रसंगमा केशव प्रसाद दुलालको त्यो रकम तीन करोड भएको उल्लेख गरेका छन् । उनले तत्कालिन गृहसचिव प्रेमकुमार राईलाई डा. इन्दजित राई मार्फत कार्यकक्षमा नै रकम उपलब्ध गराएको बयान दिएका छन् । उनले बयानमा भनेका छन्, ‘तत्कालिन गृह सचिव प्रेम कुमार राईलाई डा. इन्द्रजित राई मार्फत गृह मन्त्रालयको सचिवको कार्यकक्षमा बोलाई मिति २०७६ साल श्रावण महिनामा ३ करोड नगदै बुझी लिएको………….।’

उनीहरुको बयानलाई मात्रै आधार मान्ने हो भने २०७६ को साउन र भदौंमा गरी उनीहरुले तत्कालिन गृहसचिव राईलाई रकम दिएको दावी गरेका छन् । त्यो रकम पटकपटक गरी ३ करोड हो कि एकमुष्ट हो भन्ने प्रहरी प्रतिवेदनमा खुल्दैन ।

तत्कालीन गृहमन्त्री रामबहादुर थापाको कार्यकालमा नक्कली शरणार्थी प्रकरणबारे अध्ययन गर्न गृह प्रशासनका लामो अनुभव भएका अवकाशप्राप्त सहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा कार्यदल बनेको थियो। कार्यदलमा शिक्षण पेशाबाट अवकाश पाएका गणेश केसी र गृह मन्त्रालयकै शाखा अधिकृत सदस्य सचिव थिए। यो निर्णय हुँदा प्रेमकुमार राई गृहसचिव थिए।

कार्यदलले राई सचिव भएकै पालामा प्रतिवेदन बुझाएको थियो। उनले प्रतिवेदन कार्यान्वयन गर्न प्रक्रिया अघि बढाएका थिए। र उनकै पालामा उक्त प्रतिवेदन गृह मन्त्रालयको स्थानीय प्रशासन शाखाको अभिलेखमा रहेको थियो ।

प्रहरी प्रतिवेदन पाएपछि अनलाइनखबरले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई र उनको सचिवालयमा सम्पर्कको प्रयास गरेको थियो, तर सफल हुन सकेन । केही दिनअघि अनलाइनखबरसँगको प्रतिक्रियामा उनले आफूलाई विवादमा मुछ्ने प्रयास भएको तर कुनै पनि गैरकानुनी क्रियाकलापमा आफू संलग्न नभएको प्रतिक्रिया दिएका थिए ।

‘म यस्ता कुनै पनि क्रियाकलापमा संलग्न थिइनँ, हुने कुरा पनि भएन । कार्यदल गठनमा म सचिव भएका कारणले मात्रै मुछ्न खोज्नु गलत हो’ उनले भनेका थिए, ‘म यस्ता घटना र लेनदेनमा संलग्न भएको प्रमाणित गर्न चुनौती दिन्छु, एउटा पनि प्रमाण भेटिए जस्तोसुकै कारबाही भोग्न तयार छ ।’

अख्तियारको भूमिकाले अझै शंका

गृहसचिवबाट अवकाश पाएको केही समयपछि राई अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त भए । उनको दुई वर्षे कार्यकालमा कम्तीमा पनि दुई पटक नक्कली शरणार्थी प्रकरणबारे अख्तियारमा उजुरी परेको थियो ।

पहिलो उजुरीमा अख्तियारले कुनै कारबाही अघि बढाएन । दोस्रो उजुरीमा भने अख्तियार प्रमुखकै नाम किटेर ‘तपाईंका नाममा पैसा उठाएकाले रकम फिर्ता गराइदिनु’ भनी उजुरी परेको थियो । जाहेरीवालालाई बोलाएर कुराकानी गरेका राईले पछि तत्कालीन सल्लाहकार डा. इन्द्रजित राईलाई सम्पर्क गरी रकम फिर्ता गरिदिन निर्देशन दिएका थिए ।

सानु भण्डारीले थप बयानका क्रममा हाल अख्तियार प्रमुख रहेका पूर्वसचिव राईको नाम मुछेको देखिन्छ । उनले आफू समेत नक्कली शरणार्थी प्रकरणको पिडित भएको उल्लेख गर्दै काम नबनेपछि गृहमन्त्रीका तत्कालिन सल्लाहकार डा. इन्द्रजित राईसँग रकम फिर्ता मागेको दावी गरेका छन् । त्यसपछि इन्द्रजितले रकम फिर्ता गर्नुको साटो अख्तियार प्रमुखको नाम लिएर आफूलाई धम्क्याएको उनको दावी छ ।

बयानमा उनले भनेका छन्, ‘ मबाट लगेको रकम पटकपटक माग गर्दा समेत निजले मलाई रकम फिर्ता नगरी प्रेम कुमार राईको नाम लिई मलाई धाकधम्की समेत दिने गरेका हुन् ।’

अर्को प्रसंगमा समेत प्रेमकुमार राईको प्रसंग आउछ । सानु भण्डारीका अनुसार नक्कली शरणार्थी प्रक्रिया अघि बढाउने सिलसिलामा उनी र गृह मन्त्रालयका सानु कुमार दाहालविच सम्पर्क र कुराकानी भएको थियो ।

उनले बयानमा भनेका छन्, ‘ म र नासु कुमार दाहाल(जिल्ला प्रशासन कार्यालय, झापामा कार्यरत)विचमा कुराकानी भएको हो । निजलाई प्रेमकुमार राईले मसँग चिनजान सम्पर्क गराई दिएका हुन् । केही समस्या परेमा म सहयोग गर्छु भन्ने कुराकानी गरेका हुन् ।’

अनलाइनखबरसँगको प्रतिक्रियाका क्रममा अख्तियार प्रमुख राईले ठगी प्रकृतिको उक्त उजुरी प्रहरीमा पठाइदिएको, आफैले अपराध महाशाखा प्रमुखलाई फोन गरेर पीडितहरु जाहेरी दिन आउँछन् भनी समन्वय गरिदिएको बताएका थिए । राईको दावीमा, उनको निर्देशन अनुसार त्यतिबेला जाहेरी पाएरै प्रहरीले दुई जनालाई पक्राउ गरेको थियो, जो पछि गृहमन्त्री बालकृष्ण खाँणको दबाबमा छुटे ।

सानु भण्डारीको थप बयान :

मलाई डा. इन्द्रजित राईले यो गाडी सचिवज्यू (तत्कालीन सचिव प्रेमकुमार राई)को हो, उक्त रकम गाडीमा राखीदिनु’ भनी भनेको हुँदा मैले साथमा लिई गएको नगद रकम एक करोड गाडीमा राख्न लगाई मलाई सचिव प्रेमकुमार राईको कार्यकक्षमा बोलाएको हुँदा म निजको कार्यकक्षमा गएको र अब तपाईंहरुको काम हुन्छ तपाई जानु भनी प्रेमकुमार राईले मलाई भनेकोले म निजलाई भेटी निजको विश्वासमा परी सो ठाउँबाट फर्किएको हुँ ।

……………

डा. ईन्द्रजित राई सरलाई दिएको रु. ६५ लाख भनी डायरीमा लेखिएको हिसाव किताव सही हो । उक्त रकम डा. राईले मलाई र मेरो परिवारलाई समेत भुटानी शरणार्थी बनाई अमेरिका पठाई दिन्छु, त्यसका लागि रकम दिनुपर्छ भनी मलाई भनेको हुदा मैले मेरो ललितपुर महालक्ष्मी ४ मा रहेको घर आईसीएफजी फाईनान्समा राखी रकम निकाली सोही रकम मैले निजलाई उक्त मितिमा दिई मेरो आफ्नो डायरीमा पछि सम्झना र प्रमाण पुग्छ भनी रकम दिएको विवरण लेखेको हुँ ।  मैले रकम दिएको भए तापनि निजले मलाई भने अनुसार अमेरिका नपठाएको र मबाट लगेको रकम पटकपटक माग गर्दा समेत निजले मलाई रकम फिर्ता नगरी प्रेम कुमार राईको नाम लिई मलाई धाकधम्की समेत दिने गरेका हुन् । मैले निजलाई डायरीमा लेखिए अनुसारको रकम दिएको सही हो ।

…………..

म र नासु कुमार दाहाल(जिल्ला प्रशासन कार्यालय, झापामा कार्यरत)विचमा कुराकानी भएको हो । निजलाई प्रेमकुमार राईले मसँग चिनजान सम्पर्क गराई दिएका हुन् । केही समस्या परेमा म सहयोग गर्छु भन्ने कुराकानी गरेका हुन् ।

(सानु भण्डारीले बयान, प्रहरी प्रतिवेदन पेज नं.  २३ र २४)

 

केशवप्रसाद दुलालको बयान :

प्रतिवादी सानु भण्डारीले इन्द्रजित राईलाई एक करोड रकम दिइ सकेको भनी मलाई जानकारी गराएका र हामी दुवै जनाले गृह मन्त्रालयमा रहेको निजकै कार्यकक्षमा गई कुरा हुँदा सानु भण्डारीसँग उक्त रकम बुझी सकेको भनी मलाई समेत जानकारी गराएको हुन् । प्रतिवादी सानु भण्डारीले तत्कालिन गृहसचिव प्रेमकुमार राईलाई गृह मन्त्रालयमा भेटी नगद रकम एक करोड दिएको भनी मलाई जानकारी गराएपछि सानु भण्डारीसँग गृह मन्त्रालय गई डा. इन्द्रजित राईसँग सचिव प्रेमकुमार राईलाई उक्त रकम पाएको कुरा जानकारी गराएका हुन् ।

……………

गृहमन्त्री रामबहादुर थापा बादलको छोरा प्रतिक थापा मार्फत मन्त्री क्वाटरमा पुल्चोकमा बोलाई ३ करोड नगदै बुझी लिएको, नक्सालस्थित निलगिरी थकाली भान्सार घरको आगनको उक्ततर्फ रहेको होटलको माथिल्लो तलामा बोलाई (थप) एक करोड बुझी लिएको, तत्कालिन गृह सचिव प्रेम कुमार राईलाई डा. इन्द्रजित राई मार्फत गृह मन्त्रालयको सचिवको कार्यकक्षमा बोलाई मिति २०७६ साल श्रावण महिनामा ३ करोड नगदै बुझी लिएको………….।

(केशव प्रसाद दुलालको थप बयान, प्रहरी प्रतिवेदन, पेज  नं.  २५, २७ र २८)

(*थप सूचनाका आधारमा समाचार अद्यावधिक गरिएको)

लेखकको बारेमा
कृष्ण ज्ञवाली

न्यायिक र शासकीय मामिलामा कलम चलाउने ज्ञवाली अनलाइनखबरमा खोजमूलक सामग्री संयोजन गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?