+
+

तेस्रो टाइगर कप भलिबल : उद्घाटन खेलमा आर्मी र न्यू डायमन्ड भिड्दै

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ७ गते १९:२८

७८ माघ, पोखरा । तेस्रो टाइगर कपको महिलातर्फको उद्घाटन खेल नेपाल आर्मी र न्यू डायमन्डबीच हुने भएको छ । टाइगर ग्रुपले आयोजना गरेको खेल आइतबार विहान ८ बजे पोखरा रंगशालास्थित भलिबल कोर्टमा हुनेछ ।

आइतबार नै हुने दोस्रो खेलमा पुरुष टोली त्रिभुवन आर्मी र सशस्त्र प्रहरी बल (एपीएफ) भिड्नेछन् । तेस्रो खेलमा गण्डकी प्रदेश र नेपाल पुलिस क्लबबीच हुने आयोजकले जनाएको छ ।

पुरुषतर्फ एक विदेशीसहित ५ टिमले प्रतिस्पर्धा गर्ने टाइगर ग्रुफ अफ पोखराका सचिव डीबी नेपालीले जानकारी दिए । उनका अनुसार श्रीलंकाको एसटी जोसेफ वाज स्पोर्टस क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफ र गण्डकी प्रदेश प्रतियोगितामा सहभागी छन् ।

महिलातर्फ सहभागी हुने भनिएका २ टिम भने अनुपस्थित हुनेछन् । सचिव नेपालीका अनुसार विभागीय टोली नेपाल पुलिस क्लब र भारतको केरला स्टेट इलेक्ट्रोनिक बोर्डको महिला टोली सहभागी नहुने भएका हुन् ।

‘पुलिस क्लबको २ जना खेलाडी अन्य खेल खेल्नुपर्ने र २ जना अस्वस्थ भएपछि प्रतियोगितामा सहभागी नहुने भएको छ’, टाइगर ग्रुपका सदस्य रामकृष्ण ज्ञवालीले भने, ‘महिलातर्फ ४ टिममात्रै हुने भए ।’ सचिव नेपालीका अनुसार केरला स्टेट यती विमान दुर्घटनापछि नेपाल आउन असमर्थ भएका हुन् ।

यता, गण्डकी प्रदेशको महिला टोली ३ जना राष्ट्रियस्तरका भारतीय खेलाडीसहित मैदानमा उत्रन लागेको छ । ‘भारतबाट खेलाडी हिँडिसक्नु भएको छ । भोलि पोखरा आइपुगेर खेलमा सहभागी बन्नुहुन्छ’, सदस्य ज्ञवालीले भने । टिमको कप्तानी भने अरुणा शाहीले गर्नेछिन् ।

प्रतियोगिता राउन्ड रोबिनको आधारमा सञ्चालन हुने प्रतियोगिताको विजेताले समान ५/५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । दोस्रोले २ लाख ५० हजार रुपैयाँ, तेस्रोले १ लाख २५ हजार रुपैयाँ र सान्त्वना हुने टिमले ६५ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने प्रतियोगिताका संयोजक देवेन्द्र केसीले जानकारी दिए ।

सर्वोत्कृष्ट खेलाडीलाई २५ हजार रुपैयाँले पुरस्कृत हुनेछन् । विधागततर्फका उत्कृष्ट खेलाडी र प्रशिक्षकले १० हजार पाउनेछन् । प्रतियोगिता माघ १४ गतेसम्म चल्नेछ ।

दोस्रो संस्करणको टाइगर कप आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा पुरुषतर्फ त्रिभुवन आर्मी र महिलातर्फ एपीएफले उपाधि जितेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?