+
+

युनाइटेडमाथि आर्सनलको रोमाञ्चक जित, हालान्डको ह्याट्रिकमा सिटी विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ९ गते ९:१६

९ माघ, काठमाडौं । एडवार्ड एनकेतिहले अन्तिम मिनेटमा गोल गरेपछि प्रिमियर लिगमा आर्सनलले म्यानचेष्टर युनाइटेडमाथि ३-२ को रोमाञ्चक जित निकालेको छ । त्यसअघि दुवै टोलीले अग्रता लिएर पनि कायम राख्न नसक्दा खेल बराबरीतर्फ अग्रसर भएको थियो । तर ९०औं मिनेटमा कप्तान मार्टिन ओडेगार्डको पासमा एनकेतिहले गोल गर्दै आर्सनललाई तीन अंक दिलाए ।

एकेतिहले दुई तथा बुकायो साकाले एक गोल गरे ।

खेलमा अग्रता भने युनाइटेडले लिएको थियो । १७औं मिनेटमै मार्कुस रासफोर्डले ब्रुनो फर्नान्डेजको पासमा गोल गर्दै अग्रता दिलाएका थिए । तर २४औ मिनेटमा एनकेतिहले ग्राइन्ट जाकाको पासमा आर्सनलका लागि बराबरी गोल फर्काए ।

दोस्रो हाफमा आर्सनलले अग्रता लियो । ५३औं मिनेटमा साकाले गोल गर्दै आर्सनललाई २-१ को अग्रता दिलाए । तर ५९औं मिनेटमा लिसान्ड्रो मार्टिनजेले युनाइटेडका लागि बराबरी गोल फर्काएपछि खेल रोमाञ्चक बनेको थियो । यस्तो अवस्थामा एनकेतिह नायक बन्दै अन्तिम मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दा आर्सनलले जित निकाल्यो ।

यस सिजन उत्कृष्ट लयमा रहेको आर्सनलले लिगको आधा अर्थात १९ खेलबाट ५० अंक जोडेको छ । दोस्रो स्थानको सिटी धन्दा आर्सनल ५ अंकले अघि छ । पराजित युनाइटेड भने २० खेलबाट ३९ अंकसहित चौथो स्थानमै छ ।

आर्सनलको खेलअघि एर्लिन हालान्डको ह्याट्रिक मद्दतमा सिटीले वल्भ्सलाई ३-० ले पराजित गर्दै अंकदूरी २ मा झारेको थियो । तर आर्सनलले युनाइटेडलाई हराएपछि पुन: ५ अंकको अन्तर बनेको हो ।

घरेलु मैदानमा सिटीलाई जिताउन हालान्डले ४०औं, ५०औं र ५४औं मिनेटमा गोल गरे । प्रिमियर लिगमा उनको यो चौथो ह्याट्रिक हो । यस सिजन उनले २५ गोल गरिसकेका छन् र सर्वाधिक गोल गर्नेमा शीर्ष स्थानमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?