+
+
६ महिनाको बैंकिङ :

निष्कृय कर्जा बढ्दा दबाबमा बैंक, १३ अर्बभन्दा बढी ब्याज उठेन

१३ अर्बभन्दा धेरै ब्याज नउठ्दा करिब १६ अर्ब प्रोभिजन    

विजय पराजुली विजय पराजुली
२०७९ माघ ९ गते २१:५२

९ माघ, काठमाडौं । अर्थतन्त्र सही रुपमा अगाडि बढ्न वित्तीय क्षेत्र नाफामै रहनुपर्छ भन्ने अर्थशास्त्रीय मान्यता छ। बैंकहरु नाफामा रहेमात्रै लगानी सम्भव हुन्छ । लगानीकर्ताले लगानी गर्न स्रोत पाउँछन् भने बैंकहरुले पनि लगानी गर्न सक्छन् ।

तर, चालु आर्थिक वर्ष २०७८/७९ मा बैंकहरुको वित्तीय अवस्था सन्तोषजनक नरहेको बैंकहरुले प्रकाशित गरेको दोस्रो त्रैमासिक वित्तीय विवरणले देखाउँछ । सञ्चालनमा रहेका २२ मध्ये २१ वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् ।

मेगा बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक मर्जर भएर बनेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले भने वित्तीय विवरण नै सार्वजनिक गरेको छैन । जसमध्ये कषि विकास बैंकले मात्रै नोक्सानीमा रहेको वित्तीय विवरण प्रकाशित गर्दा अरु बैंकको वित्तीय विवरण नाफामा देखिएको छ ।

बैंकहरुको सम्भावित कर्जा नोक्सानी वापतको प्रोभिजन रकम बढ्दा खुद ब्याज आम्दानीसँगै कुल सञ्चालन आम्दानी बढेपनि सञ्चालन मुनाफा र खुद मुनाफा भने प्रभावित बनेको छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा वित्तीय विवरण प्रकाशित गरेका २१ वटा वाणिज्य बैंकले ३१ अर्ब १४ करोड ७२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेका छन् । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११.११ प्रतिशत बढी हो ।

२८ असार २०७९ बाट नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई गाभेर एकिकृत कारोबार सुृरु गरेको थियो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा नेपाल बंगलादेश बैंकले ८१ करोड १२ लाख रुपैयाँ मुनाफा आर्जन गरेको  थियो । उक्त नाफा पनि गत आर्थिक वर्षको दोस्रो त्रैमासको नाफामा जोड्ने हो भने चालु आवको दोस्रो त्रैमासमा बैंकहरुको नाफा ८ प्रतिशतले मात्रै बढेको देखिन्छ ।

तर, बैंकहरुको उक्त नाफामा नउठेको ब्याज आम्दानी  नै  १३ अर्ब ६ करोड रहेको छ ।  अझै प्रभु बैंकले  सेञ्चुरीलाई गाभेपछि उक्त बैंकको करिब ७१ करोड १७ लाख रुपैयाँ नउठेको ब्याज आम्दानी यसमा जोडिएको छैन । त्यसलाई पनि जोड्ने हो भने बैंकहरुको ३१ अर्ब नाफामा नउठेको ब्याज करिब १४ अर्ब रुपैयाँ हुन्छ । बैंकहरुले ‘रेगुलेटरी रिजर्भ’मा पठाउने अधिकांश रकम नउठेको ब्याज आम्दानी हो ।

रेगुलेटरी रिजर्भमा बैंकहरुले छुट्याएको रकम  (रु. करोडमा)
बैंक रेगुलेटरी रिजर्भ
नबिल बैंक 124.58
एनआईसी एशिया बैंक 153.96
ग्लोबल आईएमई बैंक 107.57
राष्ट्रिय वाणिज्य बैंक 4.31
कुमारी बैंक 83.99
एनएमबि बैंक 70.65
स्ट्यान्डर्ड चार्टर्ड बैंक 37.8
एभरेेष्ट बैंक 32.28
नेपाल बैंक 91.68
सानिमा बैंक 22.59
प्रभु बैंक -11.19
माछापुच्छ्रे बैंक 34.07
सिद्धार्थ बैंक 29.6
प्राइम कमर्सियल बैंक 136.38
लक्ष्मी बैंक 33.3
सनराइज बैंक 36.19
सिटिजन्स बैंक 46.49
नेपाल एसबिआई बैंक 28.24
हिमालयन बैंक 77
सिभिल बैंक 87.03
कृषि विकास बैंक 79.75
जम्मा 1306.27
स्रोत :  चालु आर्थिक वर्षकेा दोस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण

पुसमा मर्जर भएका एनसीसी, बैंक अफ काठमाण्डु र सेञ्चुरी बैंकको मर्जर आगडिको विवरण छुट्टै प्रकाशित भएकाले यसमा गत आर्थिक वर्ष र चालु आव दुबैको विवरण समावेश भएको छैन ।

सनराइज, कृषि विकास, सिभिल, हिमालयन बैंक, प्राइम कमर्सियल बैंकको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा सञ्चित नाफा घटेको अथवा ऋणात्मक बनेको छ । लगायत बैंक दोस्रो त्रैमासमा वितरणयोग्य नाफा ऋणात्मक छ । यस्तै सिद्धार्थ बैंक, नेपाल बैंक, कुमारी बैंक र एनआईसी एशिया बैंकले पनि ब्याज उठाउन नसक्दा सोही समस्या भोगेका छन् ।

बैंकहरुले कर तिरेपछिको नाफाबाट २० प्रतिशत सामान्य जगेडा कोषमा राख्नुपर्ने हुन्छ । त्यस्तै १ प्रतिशत  संस्थागत सामाजिक उत्तरदायित्व कोषमा छुट्याउनुपर्छ । बैंकहरुले निष्कासन गरेको ऋणपत्रको लागि पनि रकम छुट्याउनुपर्ने हुन्छ । यी सबै व्यवस्था गर्दा ९ वटा बैंकहरुसँग सेयरधनीलाई बाँड्ने नाफा छैन । सिभिल बैंकको नाफाभन्दा नउठेको ब्याज रकम बढी छ भने कृषि विकास बैंकको वित्तीय विवरण नै नोक्सानीमा छ ।

नेपाल राष्ट्र बैंकले बैंकहरुको लागि कार्यान्वयन गरेको नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्यान्डर्डअनुसार बैंकहरुले नउठेको ब्याजलाई पनि आम्दानी जनाउनुपर्ने हुन्छ । त्यसलाइ समेत आधार मान्दा चालु आजको दोस्रो त्रैमाससम्म बैंकहरुको खुद ब्याज आम्दानी ८३ अर्ब ३३ करोड ९० लाख रुपैयाँ पुगेको छ ।

जबकि गत आर्थिक वर्षको सोही अवधिमा २१ बैंकहरुको खुद ब्याज आम्दानी ५८ अर्ब ६२ करोड मात्रै थियो । नेपाल बंगलादेश बैंकको समेत जोड्दा ५९ अर्ब ८९ करोड खुद ब्याज आम्दानी पुगेको थियो ।

अहिले कुल सञ्चालन आम्दानी  करिब ७८ अर्ब ९८ करोडबाट बढेर १ खर्ब ६७ करोड पुगेको छ । कोभिडको कारण आर्थिक वर्ष २०७७/७८ मा बैंकिङ प्रणालीमा भएको अधिक तरलताले बैंकहरुले निक्षेपमा दिने र कर्जामा लिने ब्याजदर बीचको औसत अन्तर (स्प्रेड दर) करिब ३ प्रतिशतसम्म झारेका थिए । अधिक तरलता हुँदा बढेको प्रतिस्पर्धाले गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्म बैंकहरुको स्प्रेड दर न्युन भएको थियो ।

तर जब गत आर्थिक वर्षको दोस्रो त्रैमासपछि लगानीयोग्य स्रोतको चरम अभाव भयो, कर्जाको ब्याजदर पनि बढाउँदै लेगेर बैंकहरुले स्प्रेड दर ४.४८ प्रतिशतसम्म पुयाएका छन् । जसले गर्दा बैंकहरुको खुद ब्याज आम्दानीमा उल्लेख्य वृद्धि भएको छ । तर, सेवा शुल्क लगायत अन्य आम्दानी संकुचित हुँदा बैंकहरुको खुद ब्याज आम्दानी ४२ प्रतिशतले बढेको देखिए पनि कुल सञ्चालन आम्दानी २७.४६ प्रतिशतले बढेको हो । नेपाल बंगलादेश बैंकको  गत आवको विवरण समावेश गर्दा खुद ब्याज आम्दानी र कुल सञ्चालन आम्दानीको वृद्धिदर २ प्रतिशतले घट्न जान्छ ।

कुल सञ्चालन आम्दानी २७ प्रतिशतल बढेको वाणिज्य बैंकहरुको सञ्चालन नाफा ११.१३ प्रतिशत र खुद नाफा ११.११ प्रतिशतले मात्रै बढेको छ ।

बैंकहरुको आम्दानी बढेपनि खराब कर्जा बढेर सम्भावित कर्जा नोक्सानी बापतको प्रोभिजन रकम वृद्धि हुँदा नाफा प्रभावित बनेको हो । २१ वाणिज्य बैंकले गत आर्थिक वर्षको दोस्रो त्रैमासमा सम्भावित कर्जा नोक्सानीको लागि ४ अर्ब ६ करोड ६० लाख रुपैयाँ व्यवस्था गरेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा १५ अर्ब ७६ करोड ६७ लाख रुपैयाँ व्यवस्था गरेका छन् ।

सम्भावित कर्जा नोक्सानीबापतको व्यवस्था (रु. करोडमा)
बैंक पुस २०७८   पुस २०७९
कृषि विकास बैंक 62.1 217.65
नबिल बैंक 10.18 188.76
हिमालयन बैंक 37.11 149.89
कुमारी बैंक 32.23 143.47
सिद्धार्थ बैंक 7.12 119.25
ग्लोबल आईएमई 10.41 112.92
सनराइज बैंक 39.5 106.19
एनएमबि बैंक -16.55 62.2
सिटिजन्स बैंक 7.24 61.92
प्राइम कमर्सियल बैंक 3.92 58.32
सानिमा बैंक 22.04 57.32
लक्ष्मी बैंक 31.84 57.3
नेपाल बैंक 38.75 51.22
सिभिल बैंक 5.12 45.24
प्रभु बैंक -21.4 42.67
नेपाल एसबिआई बैंक 12.88 37.1
एभरेष्ट बैंक 40.77 36.66
माछापुच्छ्रे बैंक 14.06 30.42
राष्ट्रिय वाणिज्य बैंक 36.79 29.85
स्ट्यान्डर्ड चार्टर्ड बैंक -1.76 16.28
एनआईसी एशिया बैंक 34.21 -47.96
जम्मा 406.56 1576.67
स्रोत :  चालु आर्थिक वर्षकेा दोस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण

 

कोभिडको समयमा नेपाल राष्ट्र बैंकले दिएको सहुलियत प्रयोग गर्दै जोखिम सारेका बैंकहरुलाई अर्थतन्त्रमा देखिएको सुस्ततासँगै कर्जा रिकभरी नहुँदा निष्कृय कर्जा बढेको छ । जसले गर्दा कर्जा नोक्सानी वापतको व्यवस्था वृद्धि भएको हो ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकहरुले सम्भावित कर्जा नोक्सानी वापतको व्यवस्थाको लागि १५ अर्ब ७६ करोड ६७ लाख रुपैयाँ छुट्याएका छन् । राष्ट्रिय वाणिज्य बैंकबाहेक सबै बैंकको निष्कृय कर्जा अनुपात बढ्दा बैंकहरु दबाबमा परेका छन् ।

पूर्वबैंकर भुवन दाहाल अर्थतन्त्रमा देखिएको समस्याको असर बैंकिङ क्षेत्रमा देखिन लागेको बताउँछन् । प्राथमिक पूँजीकोषको दबाबका कारण लगानीयोग्य स्रोत हुँदा पनि कतिपय बैंकहरु कर्जा विस्तार गर्न नसक्ने अवस्थामा छन् । बैंकहरुको निष्कृय कर्जा बढ्दै जाँदा बैंकहरु भोलिको दिनमा कर्जा विस्तार गर्न नसक्ने अवस्था आउने जोखिम देखिएको बैंकर दाहाल बताउँछन् ।

अहिले उठ्न नसकेको ब्याज अर्को त्रैमासमा पनि उठ्न नसकेमा निष्कृय कर्जा बढ्ने भएकोले यसले थप दबाब बढाउने उनले बताए । तर, ब्याज उठ्ने सम्भावना रहेकाले जोखिम नै आयो भन्ने अवस्था नरहेको उनको तर्क छ ।

बैंकहरुले व्यवसाय विस्तार गर्नको लागि पूँजीकोषको आकार पनि बढाउँदै लैजानुपर्ने हुन्छ । पूँजीकोष बढाउन नाफा आर्जन गर्न सक्नुपर्छ । तर, बैंकहरुले नाफा कमाउन नसक्ने हो भने आगामी दिनमा कर्जा विस्तार गर्नको लागि समस्या भने हुने सक्ने उनले बताए ।

तर, आगामी दिनमा ब्याज उठेसँगै अहिले गरेको सम्भावित कर्जा नोक्सानीको व्यवस्थाको रकम पनि ‘राइटब्याक’ हुने र नउठेको ब्याज आम्दानीबापत ‘रेगुलेटरी रिजर्भ’मा राखेको पनि राइटब्याक हुने भएकोले अहिलेलाई नै हेरेर निष्कर्षमा पुग्न नहुने उनले बताए ।

अहिलेको प्रोभिजन रकममध्ये केही प्रतिशत निष्कृय कर्जामा जानसक्ने सम्भावना भएपनि सबै निष्कृय कर्जा नै हुन्छ भन्ने अवस्था नभएको पूर्व बैंकर दाहालको तर्क छ ।

लेखकको बारेमा
विजय पराजुली

आर्थिक ब्युरोमा  कार्यरत पराजुली बैंक तथा वित्त विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?