+
+

पर्यटनमन्त्रीको प्रश्न : होटलमा बेसारसम्म विदेशी पाक्छ, नेपाली भरिया मात्र हुने हो ?

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १० गते १५:१७
फाइल तस्वीर

१० माघ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पर्यटनका माध्यमबाट मुलुकले उचित लाभ लिन नसकेको भन्दै असन्तुष्टि व्यक्ति गरेका छन् । मंगलबार पर्यटन विभागसँगको छलफलमा बोल्दै उनले पर्यटकले उपयोग गर्ने सबै वस्तु विदेशबाटै आयात गर्नु परेको सन्दर्भ निकाले । उनले भने, ‘पर्यटकलाई जम्मै विदेशी खाना खुवाएपछि त पैसा विदेशमै गयो, पाँचतारेमा बेसार समेत विदेशी चलाउने भएपछि हामीले के पाउने ? भारी बोक्ने र भाँडा माज्ने मात्र हो ?’

पर्यटनको इकोसिस्टमलाई जोड्न नसकिएको भन्दै नेपालका गाउँहरु रित्तिनु दुःखद् भएको बताए । ‘गाउँमा मलामी समेत छैन, शहरमा टेक्ने ठाउँ छैन’ उनले भने । पर्यटकलाई खुवाउन विदेशबाट वस्तु आयात गर्नु पर्ने अवस्था रहेको भन्दै उनले नेपालका गाउँमा उत्पादन हुने वस्तुलाई पर्यटनसँग जोडेर उत्पादन बढाउनु पर्नेमा जोड दिए ।

‘पर्यटनका माध्यमबाट अर्थतन्त्रमा एउटाको सम्बन्धलाई अर्कोसम्म जोडौं,’ उनले भने, ‘अर्थतन्त्रमा पर्यटनको ठूलो विकास रहन्छ, विभागले यसमा नयाँ कार्यक्रम ल्याओस् ।’

उनले सुन्दर प्रकृतिलाई नबिगारी सजाउने मात्र काम गर्न आग्रह गरे । ‘भत्काउने काम नगरौं, संरक्षण गरौं,’ उनले भने, ‘डाँडाकाँडामा सिमेन्टका घर पुगे, तर न प्रविधि पुग्यो, न सुविधा नै ।’ उनले पर्यटनमा नेपाली पारा र नेपाली मूल्यका पर्यटन पूर्वाधार बनाउन समेत सुझाव दिए ।

नेपालको छिमेकी दुई मुलुकमा विश्वको आधा जनसंख्या बस्ने भन्दै नेपालले त्यहाँबाट २/२ प्रतिशत मात्र पर्यटक भित्राएपनि पर्याप्त हुने उनको भनाइ छ । पर्यटन पूर्वाधार र संस्कृति संरक्षणमा लाग्न उनले निर्देशन दिए । पर्यटन मन्त्रालय मातहतका सबै निकाय सरसफाइमा नमुना हुनुपर्ने भन्दै त्यसको अनुगमन गर्ने समेत जानकारी गराए । नेपालको पर्यटनलाई प्रविधिमैत्री बनाएर पर्यटकलाई सहज सेवा उपलब्ध गराउन समेत उनले निर्देशन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?