+
+

कतै तपाईंको खानाले छोराछोरीको मुटु र मिर्गौला बिग्रिइरहेको त छैन !

बालबालिकालाई घरैको खाजा दिनुको सट्टा हातमा पैसा दिंदा उनीहरूको खाने बानी बिग्रन्छ । मैले त बजारका यस्ता खानेकुरालाई मन्दविष नै भन्ने गरेकी छु ।

डा. अरुणा उप्रेती डा. अरुणा उप्रेती
२०७९ माघ १४ गते १८:१२

‘मेरा छोराछोरी त खाना खानै मान्दैनन्, दुब्लाएर टाट भइसके, के गर्ने ? उनीहरूलाई त चक्लेट र आइसक्रिम मात्र भए पुग्छ !’

धेरै आमाबाबुले यस्तो गुनासो गरेको प्रायः सुनिन्छ । वास्तवमा यस्तो भन्ने घरमा समस्या केटाकेटीमा होइन, आमाबाबुको बानीमा देखिन्छ । जबसम्म आमाबाबुले आफ्नो बानीबेहोरा सुधार गर्दैनन्, तबसम्म केटाकेटीको खानासम्बन्धी बानीबेहोरा सुधार गर्न सकिंदैन ।

प्रायः बाबुआमाहरू आˆना केटाकेटीले पौष्टिक खानेकुरा खाउन्, स्वस्थ रहून् भन्ने चाहना राख्छन् तर त्यसअनुसार गर्दैनन् । क्रमशः केटाकेटीको खाने बानी बिग्रँदै जान्छ ।

प्रायः बालबालिकाको अरूले आफूलाई ध्यान दिऊन् भन्ने चाहना हुन्छ । यो चाहना उनीहरूले अनेक तरिकाले देखाउँछन् । बालबालिकाले खाना सम्बन्धमा देखाउने घुर्की पनि यही हो ।

गाउँघरका आमाबाबुलाई छोराछोरीलाई पुल्पुल्याउने फुर्सद नै हुँदैन । केटाकेटीहरूले प्रायः घरमा जे पाक्छ अरूसरह नै खाएका हुन्छन् । गाउँमा त ३-४ वर्षका बालबालिकाले भान्छामा सँगै बसेर आफैं भात पनि खान्छन् । उनीहरूले आमाबाबुलाई ‘भात खान्न केक खान्छु’ भन्दैनन् ।

तर शहरतिर भने प्रायः आमाहरूले केटाकेटीलाई घरको पौष्टिक अन्न आलु वा पीठोबाट बनाइएका खानेकुरा दिन छाडेर बट्टामा भएका खानेकुुराहरू दिन्छन् ।

तर आमाबाबुले यो थाहा पाउँदैनन् कि प्रायः बट्टाका महँगा खाना पनि चामल वा गहुँको पीठोबाट नै बनाइएको हुन्छ । यसमा चिनी मिसाएर गुलियो पारिएको हुन्छ ।

यसलाई बालबालिकाले बढी मन पराउने भएकोले यी खानेकुरा घरका भन्दा अत्यधिक महँगा हुन्छन् तर पौष्टिकचाहिं अचाक्ली कम नै प्राप्त हुन्छ ।

यसरी बालबालिकामा चिनी नहालेको खानेकुरामा रुचि कम हुँदै जान्छ । अनि एक/दुई वर्षको हुँदा त घरको खाना खाने बानी नै छुट्छ ।

बालबालिकाको यो प्रवृत्तिलाई हतोत्साही गर्नुको सट्टा अभिभावकले परिवारका सदस्य वा साथीहरूसँग ‘यसले त घरको खाना खाँदैन, बजारबाट नै किनेर ल्याउनुपर्छ’ भनेर गलत कुराको प्रोत्साहन बालबालिकालाई गर्छन् । मेरो खानाको विषयमा घरपरिवार चिन्तित छन् भन्ने विचार गर्दै आफूलाई महत्व दिएकोमा बालबालिका गर्व गर्छन् र त्यही अनुसार झन्-झन् फुर्किंदै, बानी बिगार्दै जान्छन् ।

‘यसले त हरियो साग मनै पराउँदैन ! दाल खाँदै खाँदैन, आलु चिप्स मात्र खान्छ !’ ‘मेरी ७ वर्षकी छोरीले त फलफूल खान्न भन्छे! चक्लेट दियो भने खुसी हुन्छे !’ मेरो छोराले जाउलो, खिचडी, रोटी त छ्या भन्छ ! प्याकेटको चाउचाउ खाजामा नभई स्कुल नै जान मान्दैन !’ ‘चिप्स र पिज्जा नभई मेरो बच्चा त पढ्नै मान्दैन !’

यस्ता कुराहरू घरपरिवार, बजारमा हिंड्दा, पार्टी, भोज, विवाह समारोहमा महिलाहरूले गरिरहेका हुन्छन्, त्यो पनि बच्चाकै अगाडि । फलतः बच्चाहरूले यही गर्छन् । यो बानी पछिसम्म रहन्छ र अस्वस्थकर खानामा नै रमाउन थाल्छन् ।

बाबुआमाहरू विचार गर्नुस्- चाउचाउ, चिप्स, कुरमुरे आदि दिंदा त्यसमा रहेको नुनले बालबालिकाको मिर्गौलामा नराम्रो असर पर्छ । बच्चालाई स्वस्थ रहन सिकाउने कि फुर्काएर, फोस्रो माया देखाएर मिर्गौला र मुटु बिगार्ने ?

अनि त स-साना बालबालिकादेखि लिएर किशोरकिशोरीले पनि सडक, बजार, स्कुल, क्याम्पस, पिकनिकमा विभिन्न थरीका चाउचाउ र चिप्सका प्याकेट लिएर मजा लिंदै खाएको देखिन्छ । बालबालिकालाई घरैको खाजा दिनुको सट्टा हातमा पैसा दिंदा उनीहरूको खानेबानी बिग्रन्छ । मैले त बजारका यस्ता खानेकुरालाई मन्दविष नै भन्ने गरेकी छु । तर आमाबाबुले आˆना सन्तानलाई विस्तारै ‘मन्दविष’ दिएको पत्तै पाउँदैनन् !

के गर्ने ?

यसका लागि बालबालिकालाई घरको दालभात, तरकारी खाजा ख्वाउन सानैदेखि प्रेरित गर्नुपर्छ । जब उनीहरूलाई ठोस खाना ख्वाउन सुरु गरिन्छ तब बाहिरको खानेकुराको सट्टामा घरमै बनेका खानेकुरा नै ख्वाउनुपर्छ ।

७-८ महिनाको बच्चालाई लिटो, घरमा बनाइएको हलुवा, जाउलो, हरियो तरकारी, दालको झोल आदि खुवाउनुपर्छ । यस्तो बेलामा सुरु-सुरुमा शिशुहरूले गाह्रो माने पनि बिस्तारै खान थाल्छन् । तर यसका लागि घरका मानिसमा धैर्य हुनुपर्छ । बच्चाले खान मानेन भनेर गुलियो हालिदिने वा बजारबाट ल्याएका प्याकेटका खानेकुरा दिइयो भने त उनीहरूको स्वास्थ्य र बानी दुवै बिग्रन्छ ।

‘बजारका खानेकुरा नदिएर के गर्ने हो, अरू केही खाँदै खाँदैन लौ न कसरी काम चलाउने होला’ भन्ने विचार गर्ने बाबुआमाले के बिर्सनुहुँदैन भने आजभन्दा ३०-४० वर्षअगाडि हाम्रो देशमा प्याकेटका खानेकुरा र बट्टाका महँगो गहुँ र चामलको पीठो नआउँदा घरमा बच्चाहरूलाई लिटो, जाउलो आदि बनाएर ख्वाउने गरिन्थ्यो र उनीहरू स्वस्थ पनि हुन्थे । पैसा पनि धेरै पर्दैनथ्यो । त्यसैले बच्चालाई बजारका महँगा खाना चाहिन्न्ा ।

शिशुलाई विज्ञापनको भरमा नपरेर घरमै बनाएको खानेकुरा दिन जोड दिनुपर्छ । बजारका खानेकुरामा कुहिएको वस्तु हालेको छ भने पनि थाहा हुन्न र विष शरीरमा जान्छ ।

बालबालिकाले खानेकुरा खान समय लगाउँछन् भनेर जबरजस्ती कोच्याउने बानी गर्‍यो भने पछिसम्म पनि उनीहरूलाई त्यसैगरी ख्वाउने बानी बस्छ । कतिपय घरमा त १२-१३ वर्षको हुँदासम्म आमा, दिदी, बज्यै वा घरमा राखेका सहायक व्यक्तिले खुवाएको पनि देखिन्छ । यसले बच्चालाई खाँदा अरूको भरपर्ने बानी बस्छ । स्वतन्त्र रूपले खाने बानी विकसित हुन गाह्रो हुन्छ ।

सानैदेखि बच्चाले हरियो तरकारी थुक्ने, दाल देखे नाक खुम्च्याउने आदि गर्दा धेरै बाबुआमा हाँस्ने गर्छन् । ‘बालबालिका त रमाइलो भयो होला’ भन्ने विचारले झन्झन् यसै गर्दै जान्छन् र उनीहरूको बानी नै यस्तै हुँदै जान्छ । अनि ठूलो भएपछि मात्र बाबुआमा दिक्क मानेर भन्छन्, ‘मेरो बच्चाले हरियो खाँदै खाँदैन !’ अनि अस्पतालमा लगेर औषधि ख्वाउने सास्ती व्यहोर्छन् ।

त्यसैले घरमा भएका खानेकुरा दिंदा खानालाई थुक्ने, नाक खुम्च्याउने बानीलाई बढावा नदिने र खानेकुरा थुक्दा पहिलेदेखि नै त्यसो गर्न हुँदैन भन्ने कुरा कडा शब्दमा व्यक्त गर्नुपर्छ । सानैदेखि यस्ता बानी-व्यहोरालाई रोकेपछि धेरै समस्या कम हुन्छ । बालबालिकालाई अनावश्यक रूपमा बजारका महँगा तर कम पोषण भएका खाना खाने बानी लाग्नबाट बचाउनुपर्छ । यसरी उनीहरूलाई कुपोषण हुने समस्याबाट पनि जोगाउन सकिन्छ ।

मेरा छोरीहरूलाई सानो छँदा खाना खुवाउँदै म भन्थें, ‘जे पाकेको छ त्यही खानुपर्छ, खान मन लाग्दैन भने उठेर गए हुन्छ, तर यो हरियो तरकारी र दाल खान्न, चाउचाउ र कुरमुरे खान्छु भन्न पाइँदैन ।’ मेरो कडा बोलीले छोरीको अनुहार अँध्यारो भए पनि वास्ता गरिनँ । विस्तारै मेरा छोरीहरूले बुझेकी आमालाई ‘ब्ल्याकमेल’ गर्न सकिन्न । भान्छामा जे पाकेको छ, त्यही नखाए भोकै परिन्छ । उनीहरूप्रति फोस्रो माया नदेखाएको हुनाले मेरा दुवै छोरी अहिले स्वस्थ, वयस्क नागरिक छन् । अहिले त उनीहरू घरको खाना मात्रै खान्छन्, बाहिर खाजा खाँदा पनि चना, चिउरा, आलु, सुक्खा रोटीको माग गर्छन् ।

अब उनीहरू मेरो अनुशासनबाट मुक्त भएका छन् । उनीहरूले आफैंले आफ्नो भोजनको अनुशासन बनाएका छन् । म उनीहरूको खानेबानी देखेर खुशी हुन्छु । शायद सानोमा उनीहरूलाई बढी माया देखाएर चाउचाउ र कुरमुरे दिएको भए उनीहरू अहिले मिर्गौला र मुटुको रोगी भइसक्थे कि !

बाबुआमाहरू विचार गर्नुस्- चाउचाउ, चिप्स, कुरमुरे आदि दिंदा त्यसमा रहेको नुनले बालबालिकाको मिर्गौलामा नराम्रो असर पर्छ । बच्चालाई स्वस्थ रहन सिकाउने कि फुर्काएर, फोस्रो माया देखाएर मिर्गौला र मुटु बिगार्ने ?

लेखकको बारेमा
डा. अरुणा उप्रेती

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?