+
+

पाकिस्तानको पेशावरमा भएको विष्फोटमा ५९ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १७ गते ९:०१

१७ माघ, काठमाडौं । पाकिस्तानको पेशावरमा भएको विष्फोटमा मृत्यु हुनेको संख्या ५९ पुगेको छ । १५७ जना घाइते भएका छन् ।

प्रहरी कार्यालय परिसरभित्र रहेको मस्जिदमा नमाजमा सहभागीहरुलाई लक्षित गरी सोमबार दिउँसो आत्मघाती विष्फोट भएको थियो ।

मस्जिद रहेको उक्त क्षेत्र सबैभन्दा बढी नियन्त्रित क्षेत्रमध्ये एक हो । यहाँ प्रहरी मुख्यालय, गुप्तचर विभाग र आतंकवाद विरोधी व्युरोका कार्यालयहरु छन् ।

उच्च सुरक्षा प्रवन्ध मिलाइएको क्षेत्रमा भएको विष्फोटपछि पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले घटनाको निन्दा गर्दै आतंकवादीहरुले पाकिस्तानको रक्षा गर्नेहरुलाई निशाना बनाएर डर पैदा गर्न खोजेको टिप्पणी गरेका छन् । शरीफले आतंकवादविरुद्ध पूरा देश एकजुट रहेको पनि बताएका छन् ।

पेशावरका प्रहरी प्रमुख मोहम्मद एजाज खानले स्थानीय मिडियालाई बताएअनुसार विष्फोटको समयमा उक्त क्षेत्रमा ३०० देखि ४०० प्रहरीहरु रहेको अनुमान छ ।

शुरुमा पाकिस्तानको तालिबानका एक कमाण्डरले घटनाको जिम्मेवारी लिएका थिए । तर त्यसको केहीबेरमै उक्त संगठनले आक्रमणमा संलग्नता नरहेको बताएको छ ।

तालिबानले गत नोभेम्बरमा पाकिस्तानमा युद्धविराम अन्त्य भएको घोषणा गरेको थियो । त्यसयता हिंसाका घटना भइरहेका छन् । गत डिसेम्बरमा पनि पेशावरमै एक प्रहरी स्टेशनमा आक्रमण भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?