+
+

रास्वपा छाडेका सापकोटा भन्छन् : रविका सल्लाहकारले पार्टी चलाउँछन्

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १८ गते १९:२०

१८ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका चितवन जिल्ला सभापति धर्मेन्द्र सापकोटाले राजीनामा दिएका छन् ।

पार्टीमा व्यक्तिवाद हावी भएको भन्दै राजीनामा दिएका सापकोटसँग अनलाइखबरले गरेको कुराकानीको सम्पादित अंश:

राष्ट्रिय स्वतन्त्र पार्टी त राम्रो हुँदै थियो, तपाईँले त राजीनामा पो दिनु भएछ, किन ?

पार्टीमा एकाध व्यक्ति मात्र हावि भए । केही मान्छेले पार्टीलाई आफ्नो नियन्त्रणमा चलाउन खोजे । पार्टीमा आन्तरिक लोकतन्त्र नभए पछि मैले राजीनामा दिएको हुँ ।

कोको हावी भए ? कसले चलाउन खोजे पार्टी ?

म ठ्याक्कै व्यक्तिको नाम लिन चाहन्न । तर, म प्रष्ट पार्छु पार्टी सभापति रवि लामिछानेको वरिपरि रहेका केही मान्छेहरु हावि भए । उनीहरुले आफ्नो रजगज चलाउन थाले पार्टीमा । सभापतिको वरिपरि रहेर सल्लाह दिनेहरुले पार्टी चलाउन थाले ।

तपाईंले पार्टीमा व्यक्ति हावि भएको कुरा सभापतिलाई सुनाउनु भएन र ?

पार्टी सभापतिलाई सुनाइनँ । सभापति रवि लामिछाने ठिक हुन्, तर वरिपरि भएका मान्छे ठिक छैनन् । उहाँका सल्लाहाकार भएनन् । सभापतिले वरिपरि भएका सल्लाहकारकै कुरा सुन्ने भएपछि मैले मेरा कुरा सुनाउनु ठिक ठानिनँ । केही मान्छेहरु सभापतिको नजिकमा बसेर बडो चाप्लुसी गर्छन् । चाकडी गर्छन् ।

राजीनामा नै दिनुपर्ने अवस्था कसरी आयो ?

जिल्ला समितिलाई निष्क्रिय बनाएको भन्दै मैले राखेको कुरालाई मनमा लिएर बसेका थिए केही मान्छे । करिब एक महिना अगाडि जिल्ला सभापतिहरुको जुम मिटिङ थियो । त्यो जुम मिटिङमा केन्द्रिय सदस्य पनि थिए । जिल्ला सभापतिलाई जुम मिटिङ डाक्ने अधिकार छैन भन्दै मलाई स्पष्टीकरण सोधियो । जबकी त्यो मिटिङ मैले बोलाएको थिइनँ, म त्यसमा सहभागी मात्र भएको थिएँ ।

ममाथि इगो राखेका व्यक्तिले म बैठकमा सहभागी भएकै आधारमा स्पष्टीकरण सोधेपछि यो पार्टीमा बस्न उचित छैन भन्ने लाग्यो ।

मैले त जिल्लालाई पनि उत्तिकै महत्व दिनुपर्छ भन्ने कुरा मात्र उठाएको हुँ । यत्ति कुरा उठाएकै कारण सभापतिका नजिकका मान्छेले मलाई निशाना बनाए । सभापतिका वरिपरिका मान्छेको रवैयाबाट म मात्र होइन केन्द्रिय समितिमा धेरै जना रुष्ट छन् । आन्तरिक लोकतन्त्र नभएको पार्टीमा आत्मसम्मान समेत गुमाएर बस्न उचित नठानेपछि राजीनामा दिए ।

रवि लामिछानेको सांसद पद गुमेको बेला राजीनामा दिनुभयो । उपचुनाव भयो भने लामिछाने फेरि चितवनमै चुनाव लड्न आउँछन् होला, सहयोग गर्नुहुन्छ ?

सभापति लामिछानेप्रति मेरो कुनै गुनासो छैन । मैले राजीनामा दिनुमा उहाँको कुनै दोष छैन । उहाँ फेरि उठ्नुभयो भने सकेको सहयोग गर्छु । ४ मंसिरको चुनावमा जिल्लालाई बाइपास गर्दा पनि म सभापतिकै लागि भनेर चुनावमा सहयोग गर्न खटिएकै हुँ ।

सभापतिका वरिपरिका मान्छेबाट किन अपमानित भइरहने भन्ने लागेपछि पार्टी छाडेको हुँ । सल्लाहकार राम्रा भएको भए त सभापतिको यो (नागरिकता)लफडा आउँदैन थियो होला । उहाँका सल्लाहकार ठिक भएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?