+
+

अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय : हिमाल चियाउने आँखीझ्याल

विकास रोकामगर विकास रोकामगर
२०७९ माघ २२ गते १८:४५

२२ माघ, पोखरा । गण्डकी प्रदेश एकमात्र यस्तो प्रदेश हो जहाँ ८ हजार मिटरमाथिका ३ वटा हिमाल छन् । ८ हजारभन्दा माथि उचाइ भएका अन्नपूर्ण, धौलागिरी र मनास्लु गण्डकी प्रदेशका गर्विलो उचाइ हुन् ।

तर, यसमा मात्रै गण्डकीको परिचय सीमित छैन । यही प्रदेशकै अन्नपूर्ण हिमालबाट नेपालमा हिमाल आरोहणको प्रथम सुरुआत भएको थियो । सन् १९५० मा आरोही मौरिस हर्जोगले पहिलोपल्ट अन्नपूर्ण उक्लेपछि नेपालका हिमाल उक्लन ढोका खुलेको थियो ।

मौरिसले अन्नपूर्ण चढेको ३ वर्षपछिमात्रै सर्वोच्च शिखर सगरमाथामा मानव पाइला पुगेको थियो । मौरिसको अन्नपूर्णसम्बन्धी पुस्तक र डकुमेन्ट्री नै नेपालको हिमाली जनजीवन र आरोहण इतिहास चियाउने विश्व प्रख्यात ‘आँखीझ्याल’ बन्न पुग्यो ।

आज मौरिसको भौतिक शरीर यो संसारमा छैन । तर, नेपालको हिमाली जनजीवन चिनाउन गरेको उनको योगदान र उनले प्रयोग गरेका दुर्लभ सामग्रीहरु अझै पनि सुरक्षित छन्, पोखरास्थित अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा ।

संग्रहालयमा मौरिसको मात्रै नभएर हर्क गुरुङ, पासाङल्हामु शेर्पादेखि आरोहणमै जीवन अर्पेका थुर्पै आरोहीबारे जानकारी लिन सकिन्छ । अध्येता गणेश गुरुङका अनुसार संग्रहालयमा सामग्रीको संग्रहमात्रै छैन, विश्वभरका हिमाल र हिमाली जनजीवनबारे बुझ्न यथेस्ट प्रमाण छन् ।

‘पोखरा आफैंैमा प्रकृतिले भरिपूर्ण छ । हिमालदेखि तालतलैयासम्म यहीं छन्, जसले पर्यटकलाई आकर्षित गर्न सक्छ,’ अध्येता गुरुङ भन्छन्, ‘तर, यो संग्रहालयमात्रै यस्तो अपवाद हो, जो मानव निर्मित भएर पनि पर्यटकको कहिल्यै कमी हुँदैन । यो संग्रहालयको उपलब्धि हो ।’

सय रोपनी क्षेत्रफलमा फैलिएको विशाल परिसरभित्र साढे ६ रोपनीमा २ तले संग्रहालय बनेको छ । संगग्रहालयको बाहिरी भाग मनास्लु हिमालको प्रतिरुप दिइएको छ । सन् २००२ देखि बनाउन सुरु भएको संग्रहालय २००४ मा उद्घाटन भएको थियो ।

संग्रहालयमा विश्वका ८ हजारभन्दा बढी उचाइ भएका १४ हिमचुचुरा, आरोहण इतिहास, जानकारी तथा गतिविधि बुझाउन तस्वीर तथा सामग्री प्रदर्शनमा राखिएका छन् । यसबाहेक संग्रहालयमा विश्वभरका हिमाली क्षेत्रमा बसोबास गर्ने मानिसको जनजीवन, पर्वतमाला, जलवायु परिवर्तनको असर, चट्टान तथा जीवजन्तुलगायतबारे जानकारीमूलक तस्वीर, सामग्री पनि प्रदर्शनमा राखिएका छन् ।

संग्रहालय स्थापना गर्न स्व. डा हर्क गुरुङ, कुमार खड्ग विक्रम शाह र दावानोर्बु शेर्पाले योगदान दिएका थिए । संग्रहालय परिसरमा उनीहरुको सम्झनामा शालिकसमेत बनाइएको छ ।

‘यसको जग हाल्नेबेला म पनि थिएँ । सुरुमा १०५ रोपनी थियो, पछि केही घटेछ,’ नेपाल पर्वतारोहण संघका सल्लाहकारसमेत रहेका गुरुङले भने, ‘यत्रो विशाल कम्पाउन्डभित्र बनेको संग्रहालय विश्वकै ठूलो पर्वतीय संग्रहालय पनि हो ।’

दैनिक सरदर साढे ३ सयदेखि ३ हजार जनासम्मले संग्रहालय अवलोकन गर्न आउने संग्रहालय प्रमुख निर्मला न्यौपानेका अनुसार संग्रहालयमा आउने अधिकांश विद्यार्थी हुन्छन् । ‘त्यसमा पनि मध्यपहाडी र तराई भेगमा बढी विद्यार्थी हिमाल चिन्ने उद्धेश्यले आउँछन्,’ उनले भनिन् ।

संग्रहालयमा सरदर वार्षिक २ लाख पर्यटक दृश्यावलोकनका लागि आउँछन् । त्यसबाट संग्रहालयले वार्षिक करिब साढे १ करोड रुपैयाँ आम्दानी गर्दै आएको संग्रहालय प्रमुख न्यौपाने बताउँछिन् । उनले भनिन्, ‘कोभिडपछि यो वर्ष धेरै आए । पहिलो ६ महिनामै १ लाख ४३ हजार पर्यटकले संग्रहालय अवलोकन गरिसक्नु भएको छ ।’

अध्येता गणेश गुरुङ हिमाल र हिमाली जनजीवन चिनाउन खुलेको अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयले अब समयअनुसार परिवर्तन हुनुपर्ने सुझाउँछन् । ‘संग्रहालय अब संग्रहालयकै रुपमा रहनुहुँदैन । यसलाई बाहिरको शिक्षा र ज्ञानसँग पनि जोड्नुपर्छ,’ भन्छन्, ‘शिक्षा, ज्ञान र जीवनोपयोगितासँग जोड्न सकियो भनेमात्रै अब संग्रहालयको सार्थकता रहन्छ ।’

संग्रहालयले मनायो २० औं वार्षिकोत्सव

अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयले आइतबार आफ्नो २० औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सव कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री खगगराज अधिकारीले संग्रहालयले नेपालीहरु साहसिक यात्रामा अगाडि रहेको देखाउन सफल भएको बताए ।

‘हाम्रा नेपालीहरु साहसिक छन्, उनीहरुले साहसिक यात्रा मन पराउँछन् भन्ने प्रमाण यो संग्रहालयले दिन सकेको छ,’ अधिकारीले भने, ‘यो संग्रहालय गण्डकी प्रदेशमै हुनुले पनि प्रदेशको गौरव बढाएको छ ।’

गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री पञ्चराम गुरुङले संग्रहालय आँखाको रमिता र रमाइलोमात्रै नभएर ज्ञानको केन्द्रका रुपमा अगाडि लैजानुपर्ने सुझाए । ‘त्यसका लागि प्रदेश सरकारले कुनै पनि कन्जुस्याइँ गर्दैन,’ उनले भने ।

वार्षिकोत्सवका अवसरमा संग्रहालयले ‘प्लस टु’स्तरीय हाजिरीजवाफ प्रतियोगिता, निबन्ध प्रतियोगिता गरेको थियो । १६ विद्यालय सहभागी भएको हाजिरी जवाफ प्रतियोगितामा मदरल्यान्ड सेकेन्डरी स्कुल प्रथम, छोरेपाटन मावि द्वितीय, सैनिक आवसीय मावि तृतीय र कुम्दिनी होम्स सान्त्वना भएको थियो ।

त्यस्तै, निबन्ध लेखन प्रतियोगितामा जनप्रिय माविकी अस्मिता गौतम सर्वोत्कृट भइन् भने संग्रहालयको तर्फबाट जूनादेवी कुँवरलाई वर्षोत्कृष्ट कर्मचारीबाट सम्मान गरिएको थियो । वार्षिकोत्सवमा नेवारी संस्कृतिमा आधारित मंगलधुन र दाफा संगीतसमेत प्रस्तुत गरिएको थियो ।

लेखकको बारेमा
विकास रोकामगर

पोखरामा रहेर पत्रकारिता गरिरहेका रोकामगर अनलाइनखबरको गण्डकी प्रदेश ब्युरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?