+
+

अभिनयबाट पाँच महिना विश्राम लिने तयारीमा विपिन कार्की

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २४ गते १३:१९
अभिनेता विपिन कार्की । फाइल तस्वीर

काठमाडौं । विपिन कार्की यतिबेलाका सबैभन्दा व्यस्त फिल्म कलाकार हुन् । आगामी एक वर्षसम्मै उनको व्यस्त तालिका छ । गत साता मात्र ‘प्रसाद २’ सकेर उनी आगामी फिल्म ‘भगवत् गीता’को छायांकनका लागि जनकपुर पुगेका छन् । फागुन ५ गते उनकै प्रमुख भूमिका रहेको ‘फूलबारी’ प्रदर्शन हुँदैछ ।

झरना थापाको निर्देशनमा बन्न लागेको ‘भगवत् गीता’को छायांकन शुक्रबारदेखि जनकपुरमा सुरु हुँदैछ । यो फिल्ममा विपिन प्रमुख भूमिकामै देखिनेछन् । फिल्ममा नायिकाको भूमिकामा रहने सुहाना थापाको अभिभावकको रुपमा उनी देखिने जनाइएको छ । त्यसपछि ‘पशुपतिप्रसाद’को स्पिनअफ ‘भष्मे डन’मा उनी व्यस्त हुनेछन् ।

‘भष्मे डन’पछि विपिनको सक्रियता ‘हरि’ फेम्ड निर्माताको आगामी फिल्म ‘चलचित्र’मा हुनेछ । यो फिल्म सकिएलगत्तै विपिन पाँच महिनाभन्दा बढी समय फिल्मबाट टाढा हुनेछन् । यो समय फिल्म काम त्यागेर आफैंलाई समय दिने उनको योजना छ । यसो गर्नु उनको बाध्यता पनि हो । चार वर्षअघि ‘जात्रैजात्रा’ छायांकनको बेला विपिन टेकुस्थित बागमती पुलमा मोटरसाइकल दुर्घटनामा परेका थिए । जसले उनको दाहिने खुट्टा फ्याक्चर भयो । स्टिल हालेरै भएपनि उनी यतिबेला दौडधुप गरिरहेका छन् ।

अब भने पाँच महिना आराम गरेर भएपनि खुट्टाको स्टिल निकाल्ने र बेड रेस्ट गर्ने विपिनको तयारी छ । ‘अब भने यसलाई काम नै ठानेर पाँच महिना घरमै समय बिताउने तयारीमा छु । त्यसबीच आउने फिल्मको प्रस्तावलाई अनुरोध गरेरै भएपनि आराम गर्छु,’ उनले भने, ‘कथा पुरानो नहुने जस्ता फिल्म छ भने बरु पछि गर्न सकिने हुन सक्छ ।’

फागुन ५ गते रिलिज तयारीमा रहेको फिल्म फूलबारीमा विपिनले ६० वर्ष पुगेको अवकाशप्राप्त सरकारी कर्मचारीको भूमिका निर्वाह गरेका छन् । पारिवारिक कथावस्तुमा बनेको यो फिल्मले आफ्नो करिअरमा अर्थ राख्ने उनको भनाइ छ । यो फिल्मलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?