+
+

चीनमा अर्बपति हराउने श्रृङ्खला बढ्दो, व्यवसायीलाई महिनौँसम्म कसले पार्छ बेपत्ता ?

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ५ गते १९:३७
Photo Credit : Mike Blake/Reuters

५ फागुन, काठमाडौं । चीनमा अर्बपति बेपत्ता हुने घटना बढिरहेको छ। सरकार वा सरकारी संयन्त्रको आलोचना गर्ने व्यापारीहरू यसरी बेपत्ता हुनेगरेका हुन् । अनलाइन कम्पनी अलिबाबाका संस्थापक ज्याकमादेखि धनाढ्य घरजग्गा कारोबारी रेन झिकियाङ बेपत्ता हुनेको सूचिमा छन्। हालसालै पनि शेयर बजारका उच्च प्रतिष्ठित एक जना ब्रोकर बेपत्ता भएका छन्।

चाइना रेनिसा होल्डिङ्सका प्रमुख कार्यकारी बाओ चान बिहीबारदेखि बेपत्ता रहेको उनको कम्पनीले बताएको बीबीसीले जनाएको छ। उनी चीनका प्रतिष्ठित ब्रोकर हुन्। एप्लिकेशन विकास गर्ने चीनको ठूलो कम्पनी डिडी र अर्को प्रविधि कम्पनि मिचुआन उनका ग्राहक हुन्।

प्रमुख कार्यकारी चान बेपत्ता भएपछि प्रविधि कम्पनीको कारोबार र बेइजिङका प्रतिष्ठित कम्पनीका वित्तिय कारोबारमा असर पुग्ने कम्पनीले बताएको छ। उनी बेपत्ता भएको खबर फैलिएसँगै चीनमा शेयर कारोबारमा समेत असर पुगेको छ।

बाओको विषयमा कम्पनीले हालसम्म कुनै खबर नपाएको बताइएको छ । ‘उनलाई कारोबारको विषयले बेपत्ता पारियो वा अन्य विषयले भन्ने कुनै जानकारी हामीसँग छैन,’ कम्पनीले जनाएको छ।

चीनको आर्थिक समाचार लेख्ने संस्था साइचीनका अनुसार उनी कम्पनीको सम्पर्कमा आएका छैनन् । त्यस समाचार संस्थाका अनुसार कम्पनीका अध्यक्ष कोङ लीलाई विगतमा सरकारी बैंकमा गरेको कामका विषयमा सोधपुछका लागि सरकारी निकायले बोलाएको थियो ।

यसरी कुनै पनि जानकारीविना बेपत्ता हुने अर्बपतिमा उनी मात्रै एक्लै होइनन् । केही वर्षयता करिब आधा दर्जन अर्बपतिहरू यसरी बेपत्ता भएका फोर्ब्सले जनाएको छ।

कतिपय अवस्थामा करछली तथा अन्य गैरकानुनी गतिविधिको आशंकामा राज्यसंयन्त्रले गोप्यरूपमा धनाढ्यहरूलाई सोधपुछका लागि लग्ने गरेको छ। सन् २०१५ मा चीनको वारेन बफेटका रूपमा परिचित हु वानच्याङ १५ दिन बेपत्ता भएका थिए।

चिनियाँ मुलका क्यानेडियन व्यापारी साओ जिनह्वा पनि यसरी नै बेपत्ता भएका थिए। पछि उनलाई भ्रष्टाचारमा जेल चलान गरिएको पाइएको थियो। सांघाइको अदालतले उनलाई वित्तिय अपराधमा जेल चलान गरेको थियो ।

अदालतको फैसलामा भनिएको छ,’सर्वसधारणका पैसा अपचलन र अवैध कारोबार ठहर गर्दै अदालतले वित्तिय अपराध कानुन अनुसार जेल पठाउने फैसला सुनाउँछ।’

सन् २०२० मा अलिबाबाका संस्थापक ज्याक मा तीन महिनाका लागि बेपत्ता भएका थिए। बजार अनुगमन गर्ने सरकारी संयन्त्रका विषयमा टिप्पणी गर्दा उनलाई केरकारका लागि गोप्य रूपमा सरकारले लगेको थियो।

सांघाइको सम्मेलनमा उनले बजार नियमन गर्ने सरकारी संयन्त्रको आलोचना गर्दै भनेका थिए, ‘एउटा नियम थप्ने हो भने पुराना तीन वटा नियम खारेज हुनुपर्छ। तर अनावश्यक नियम थुपारेर नियम उल्लंघनका लागि राज्यले नै प्रेरित गरिरहेको छ,’ ज्याक माको टिप्पणी थियो।

नियामक निकायदेखि तर्सिएर असल आविष्कार हुन नसक्ने उनले बताएका थिए। चीनले प्रविधि कम्पनीलाई निरूत्साहित गरिरहेको टिप्पणी ज्याक माको थियो। उनको यो आलोचनापछि राष्ट्रपति सी उनीसँग आक्रोशित थिए। टिप्पणीपछिको केही सातामै उनी बेपत्ता भएका थिए।

सरकारी केरकारपछि बाहिर निस्किएसँगै उनी चीन छाडेर जापानमा शरण लिइरहेका छन्। दुई महिनाअघि फाइनान्सियल टाइम्सले ज्याकमा जापानमा रहेको खुलासा गरेको थियो। ‘नियामक निकायदेखि तर्सिएर असल आविष्कार हुन सक्दैन। भविष्यका लागि गरिने आविष्कारलाई पुरातन नियमले बाँध्न मिल्दैन यसबारे सोच्नुपर्छ,’ सम्मेलनमा उनले भनेका थिए।

गत सेप्टेम्बरमा चीनका धनाढ्य घरजग्गा कारोबारीलाई पनि जेल चलान गरिएको थियो। राष्ट्रपति सी जिनपिङका कठोर आलोचक रेन जियाजिङलाई १८ वर्षका लागि जेल चलान गरिएको थियो। ६ लाख २० हजार डलर अपचलन गरेको अभियोगमा अदालतलने उनलाई जेल सजाएको फैसला तोकेको हो।

गत मेमा उनले सीबारे आलोचनात्मक आलेख लेखेका थिए। टेलिभिजनबाट राष्ट्रको नाममा सम्बोधन गरेपछि रेनले लेखेको आलेखको अंश बीबीसीले उल्लेख गरेको छ, ‘टेलिभिजनमा शासकले दिएको अभिव्यक्ति मैले हेरेँ। त्यहाँ उनी नयाँ कपडा उभिएता पनि मलाई भने उनको असंवेदनशील अभिव्यक्तिले एक जोकर उभिएकोझैँ लाग्यो।’

त्यसपछि तुरून्तै उनी बेपत्ता भएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?