+
+

भूकम्पको भग्नावशेषमा जन्मिएकी शिशुको ३० घण्टापछि जीवितै उद्धार

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २५ गते १०:१४

२५ फागुन, काठमाडौं । सिरियामा भग्नावशेषमुनि फसेकी एक गर्भवती महिलाले नवजात शिशुलाई जन्म दिएकी छन् । न्यूयोर्क टाइम्सका अनुसार उत्तरी सिरियामा एउटा घरको भग्नावशेषबाट एक नवजात शिशुलाई जिउँदै निकालिएको हो ।

सोमबार गएको भूकम्पमा परी आमाको मृत्यु भए पनि नवजात शिशुलाई भने आमाको नाभीमा बाँधिएको अवस्थामा उद्धार गरिएको र उनको अवस्था नाजुक रहेको बीबीसीले लेखेको छ ।

नवजात शिशुका बुवा, चार दाजुभाइ र एक काकीले भूकम्पमा ज्यान गुमाएका छन् ।

शिशुलाई भग्नावशेषबाट निकालिएको कारूणिक दृश्य सामाजिक सञ्जालमा देख्न सकिन्छ ।

३४ वर्षीय खलील अल शमीले न्यूयोर्क टाइम्सलाई सिरियाको जिन्दायरिस सहरमा सोमबार आएको भूकम्पले आफ्नो भाइको घर ध्वस्त भएको बताए। पूरै भवन भग्नावशेषमा परिणत भएको छ ।

उनी आफ्नो भाइ र परिवारका अन्य सदस्यहरू खोज्न भग्नावशेष खन्ने क्रममा थिए। यसैबीच उनले आफ्नी भाउजुको नाभीसँग जोडिएको सुन्दर बालिका देखे । त्यसपछि उनीहरूले तुरुन्तै नाभी काटे । बच्ची रुन थालिन्, उनलाई बाहिर निकाले ।

अस्पतालमा उपचाररत बालिका

भग्नावशेष पूरै हटाउँदा बालिकाकी आमा मृत अवस्थामा फेला परेकी थिइन् ।

खलीलका अनुसार उनकी भाउजु गर्भवती थिइन् र एक–दुई दिनपछि बच्चा जन्माउने मिति थियो । भूकम्पपछिको झट्काका कारण भग्नावशेषमै बच्चा जन्माएकी हुन् । करिब ३० घण्टापछि बालिकालाई सकुशल बाहिर निकालियो ।

समाचार संस्था एएफपीका अनुसार अहिले ती शिशुको अवस्था स्थिर रहेको छ । शरीरमा चोटका निशानहरू छन् । अत्यधिक चिसोका कारण उनलाई हाइपोथर्मिया पनि भएको छ ।

डेलिमेलमा प्रकाशित भिडियो-

टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेहरुको संख्या करिब आठ हजार पुगेको छ । समाचार एजेन्सी एएफपीका अनुसार टर्कीमा ५ हजार ८९४ र सिरियामा कम्तिमा १ हजार ९३२ जनाको मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?