
२७ माघ, काठमाडौं । सिरियामा भूकम्पले भत्किएको एउटा घरभित्र जन्मेकी नवजात शिशुको जिम्मा लिन हजारौं अघि सरेका छन् ।
सिरियाको अलेप्पो प्रान्तको अफ्रिन भन्ने शहरमा उद्धारकर्ताहरुले ती शिशुलाई आमाको गर्भनालमा जोडिएकै अवस्थामा फेला पारेका थिए । उनको सिरियाकै अस्पतालमा उपचार भइरहेको छ ।
उनको नाम अया राखिएको छ । उद्धारकर्ताले उनलाई भग्नावशेषबाट निकालेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । ती भिडियो शेयर गर्दै विश्वभरबाट हजारौंले बच्चीको पालनपोषणको जिम्मा लिने इच्छा जनाएका छन् ।
अयाको उपचार गरिरहेको अस्पतालका प्रबन्धक खालिदा अतियाले बच्चीलाई धर्मपुत्री बनाउन इच्छुक धेरैले अस्पतालमा फोन पनि गरेको बताए । चार महिनाकी छोरी हुर्काइरहेका अतियाले भने, ‘अहिले म अया कसैलाई पनि दिने छैन, उनका नातेदारहरु नआएसम्म उनलाई म मेरी छोरीसँगै उनको पालनपोषण गर्नेछु ।
भूकम्पमा परेर अयाका आमा, बाबु र ४ जना दाजु दिदीको मृत्यु भएको थियो । भुकम्पले भत्केको घरभित्रै आयालाई जन्म दिएपछि उनको आमाको मृत्यु भएको उद्धारकर्ताहरुले बताएका थिए ।
अयाको उपचार गरिरहेका डाक्टर हनी मारफका अनुसार अस्पताल ल्याउँदासम्म उनको स्थित नाजुक थियो । ‘सोमबार उनलाई यहाँ ल्याउँदा शरीरका विभिन्न भागमा निलडाम र घाउ थियो, यिनले मुस्किलले शास लिइरहेको थिइन्,’ उनले भने । अहिले भने उनको स्वास्थ्य सुधारिएको मारफाले बताए ।
प्रतिक्रिया 4