News Summary
Generated by OK AI. Editorially reviewed.- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई इजरायलभित्रै राम्रो व्यवहार नगरिएको दाबी गरेका छन्।
- ट्रम्पले इजरायलमा आफ्नो लोकप्रियता ९९ प्रतिशत रहेको भन्दै प्रधानमन्त्री पदको चुनाव पनि लड्न सक्ने बताएका छन्।
- ट्रम्पले इरानसँगको युद्ध चाँडै सकिने र इरानले सम्झौता गर्न चाहेको उल्लेख गर्दै अमेरिकाले इरानलाई परमाणु हतियार हासिल गर्न नदिने स्पष्ट पारेका छन्।
७ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई इजरायलभित्रै राम्रो व्यवहार नगरिएको दाबी गरेका छन्।
ट्रम्पले इजरायलमा आफ्नो लोकप्रियता निकै उच्च रहेको भन्दै आफूले त्यहाँ प्रधानमन्त्रीको चुनावसमेत लड्न सक्ने बताएका छन्।
अमेरिका-इरानबीच बढ्दो तनाव र सम्भावित सैन्य कारबाहीको सन्दर्भमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले यस्तो बताएका हुन्।
पत्रकारहरूले ट्रम्पलाई इजरायली प्रधानमन्त्री नेतन्याहुसँग इरानमाथिको हमला र आगामी रणनीतिका विषयमा के कुराकानी भयो भनेर प्रश्न गरेका थिए।
जवाफमा ट्रम्पले भने, ‘उनले (नेतन्याहुले) त्यही गर्नेछन्, जुन म चाहन्छु। उनी धेरै राम्रा मानिस हुन्। मेरो विचारमा इजरायलमा उनीमाथि सही व्यवहार भइरहेको छैन। यतिबेला इजरायलमा मेरो लोकप्रियता ९९ प्रतिशत छ। म त्यहाँ प्रधानमन्त्री पदको चुनाव पनि लड्न सक्छु।’
‘इरानसँगको युद्ध चाँडै सकिन्छ’
नेतन्याहुसँग इरानबारे लामो कुराकानी भएको बताएका ट्रम्पले इरानसँग चलिरहेको युद्ध निकै चाँडो अन्त्य हुने आफ्नो अघिल्लो दाबीलाई पनि यहाँ घुमाउरो रूपमा जोडेका छन्।
यसअघि ट्रम्पले इरान सम्झौता गर्न चाहेको उल्लेख गर्दै भनेका थिए, ‘हामी त्यो युद्ध धेरै चाँडै अन्त्य गर्न गइरहेका छौँ। उनीहरू सम्झौता गर्न चाहन्छन्। उनीहरू यसबाट थाकिसकेका छन्।’
यद्यपि, उनले कुनै पनि हालतमा अमेरिकाले इरानलाई परमाणु हतियार भने हासिल गर्न नदिने स्पष्ट पारिसकेका छन्।
रिपोर्टहरूका अनुसार, यतिबेला अमेरिका र इरानबीचको तनाव कम गर्ने र वार्तालाई अघि बढाउने कूटनीतिक प्रयासहरू भइरहेका छन्। तर, इजरायलले भने इरानविरुद्ध कडा र आक्रामक अडान कायमै राखेको छ।
इजरायलको कडा अडानकै बीच ट्रम्पले ‘नेतन्याहुले आफूले जे चाह्यो त्यही गर्ने’ भन्दै मध्यपूर्वको पछिल्लो सङ्कटलाई आफ्नो नियन्त्रण र चाहनाअनुसार अघि बढाउन खोजेको सङ्केत गरेका छन्।
प्रतिक्रिया 4