+
+

गोरखाको छेकम्पारमा अहिंसा शताब्दी महोत्सवको तयारी

विनोद ढकाल विनोद ढकाल
२०७९ माघ २९ गते १९:०५

२९ माघ, काठमाडौं । अहिंसा क्षेत्र घोषणा भएको १०० वर्ष पुगेको अवसरमा गोरखाको चुम उपत्यकामा अहिंसा शताब्दी महोत्सव तयारी गरिएको छ ।

२०८० को वैशाख ६ गतेदेखि ९ गतेसम्म चुमनुब्री गाउँपालिका–७ छेकम्पारको राजेन गुम्बामा शताब्दी श्याग्या (अहिंसा) महोत्सव आयोजना गरिएको छ ।

१९७७ सालको वुद्धजयन्तीमा अवतारी लामा डुक्पा लामा सेराप दोर्जेले आफ्नो तपोभूमि चुम उपत्यकाका बासिन्दालाई अहिंसा सिद्धान्तको पालना गर्ने सामूहिक प्रतिवद्धता गराएका थिए । त्यतिबेलादेखि उत्तरी चुम उपत्यका अहिंसा क्षेत्रको रुपमा निरन्तर कायम छ ।

अहिंसा क्षेत्र घोषणा भएको २०७७ सालमा नै १०० वर्ष पूरा भइसकेको छ । तर कोराना महामारीका कारण पर्यटकहरु पुग्न कठिनाइ हुने भएकाले अनुकुल समय पर्खिँदा पर्खिदा २०८० को वैशाखमा गर्न लागिएको हो ।

श्याग्या शताब्दी महोत्सव मूल आयोजक समितिका अध्यक्ष निमा लामाले अहिंसा क्षेत्रको चिनारी, निरन्तरता, प्रचार प्रसार र जैविक विविधता संरक्षणमा योगदान पु¥याउने उद्देश्यले महोत्सव आयोजना गरिएको हो ।

‘यस महोत्सवले हामी सम्पूर्ण चुमबासीहरुको सामाजिक साँस्कृतिक एकतालाई थप मजबुत बनाउनुका साथै प्राकृतिक तथा संस्कृति संरक्षणमा हामीहरुको सामूहिक प्रतिवद्धतालाई अझ बलियो बनाउने कुरामा हामी विश्वस्त छौं’ अध्यक्ष लामाले भने ।

वैशाख ६ गते सुरु हुने शताब्दी श्याग्या महोत्सव प्रधानमन्त्रीले उद्घाटन गर्ने तय भएको छ । पहिलो दिन उद्घाटन, प्रकृति पूजा, शान्ति दीप प्रज्वलन, अहिंसा क्षेत्र निरन्तरताका लागि प्रधानमन्त्रीले हस्ताक्षरमार्फत प्रतिवद्धता जनाउने कार्यक्रम छ ।

‘हामीले १०० वर्षदेखि निरन्तरता दिएको अहिंसा अभियानमा सरकार प्रमुखको पनि प्रतिवद्धता खोजेका हौं’ अध्यक्ष लामाले भने । ७ गते शान्तिको पदयात्रा, धर्म गुरुबाट क्षमापूजा, वुद्धका प्रवचन र साँस्कृतिक कार्यक्रम हुनेछन् । महोत्सवका अवसरमा यहाँ सकेसम्म धेरै वृक्षरोपण गर्ने आयोजक समितिले जनाएको छ ।

८ गते अहिंसा क्षेत्र संरक्षणका लागि युवाहरुको छलफल गोष्ठी आयोजना गरिएको छ । ‘अहिंसा क्षेत्रलाई निरन्तरता दिन पुस्तान्तरण आवश्यक छ, त्यसैले नयाँ पुस्तामा पनि यसबारे छलफल हुनुपर्छ’ अध्यक्ष लामाले भने । महोत्सवमा परम्परागत खेलकुदको प्रतियोगिता घोडेजात्रा कार्यक्रम पनि राखिएको छ ।

चीनसँग सीमा जोडिएको गोरखाको साविकका छेकम्पार र चुम्चेत गाविस (हाल चुमनुब्री गाउँपालिका ७ र ६) चुम उपत्यकाका रुपमा संसारभर प्रख्यात छ । सो क्षेत्रका वासिन्दाले १०० वर्षभन्दा पहिलेदेखि हिंंसा नगर्ने नीतिलाई निरन्तरता दिइरहेका छन् ।

उनीहरुले जनावरको काटमार नगर्ने, शिकार नखेल्ने, मह नकाड्ने, डढेलो नलगाउने प्रतिवद्धता जनाएका छन् । त्यस्तै काम दिन नसक्ने गरी बुढो भएको जनावरलाई नमार्ने वा मासु खाने व्यक्तिलाई नबेच्ने र चौंरीको बाच्छा नमार्ने प्रतिवद्धता जनाएका छन् ।

यस गाउँको प्रहरी चौकीमा बस्ने प्रहरीहरुले समेत काटमार गर्दैनन् । चुमभ्याली घुम्न जाने विदेशी पर्यटकले पनि मासु खाँदैनन्, यहाँका सबै होटलहरु शाकाहारी छन् ।

शताब्दी श्याग्या महोत्सव आयोजक समितिका अध्यक्ष लामाले कुनै निश्चित भूगोल नै अहिंसा क्षेत्र तोकिएको अन्यत्र थाहा नपाएको बताए । ‘कुनै धार्मिक स्थल वरपर हिंसा नगर्ने भनिएको सक्छ, तर चार किल्ला तोकेको भूक्षेत्र नै अहिंसा क्षेत्र घोषणा गरिएको अन्त छैन’, आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘यो ठाउँ वुद्ध दर्शन र जैविक विविधताको खुला संग्रहालय नै हो ।’

अहिंसा क्षेत्रलाई स्थानीय वासिन्दाले विभिन्न मितिमा पुन अनुमोदन गर्दै आएका छन् । १९७७ पछि १९९६, २०२७, २०२९, २०५५ सालमा पनि स्थानीय बासिन्दाले अहिंसा क्षेत्रलाई निरन्तरता दिने प्रतिवद्धता जनाएका थिए । २०६५ सालमा छेकम्पार गाउँ परिषदले अहिंसा क्षेत्रको चार किल्ला घोषणा ग¥यो भने २०६६ सालमा पहिलो चुम श्याग्या (अहिंसा) महोत्सव आयोजना गरिएको थियो ।

त्यस्तै २०६९ मा चुम्चेत (चुम उपत्यकाको तल्लो क्षेत्र) लाई पनि अहिंसा क्षेत्र घोषणा गरियो । २०६९ को वैशाख १४ देखि १५ गतेसम्म चुम उपत्यका साँस्कृतिक श्याग्या महोत्सव आयोजना गरिएको थियो । सो महोत्सवमा तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले अहिंसाप्रति सरकाराका तर्फबाट प्रतिवद्धता जनाएका थिए ।

श्याग्या महोत्सवस्थल पुग्न काठमाडौंबाट स्थलमार्ग भएर ४ दिन लाग्छ । २ दिन गाडीमा र २ दिन हिँडेर पुग्न सकिन्छ । हेलिकप्टरबाट जाँदा काठमाडौंबाट ३५ मिनेटमा पुगिन्छ । हेलिकप्टर रिजर्भको भाडा करिब ३ लाख रुपैयाँ पर्छ ।

चुम महोत्सव आयोजनाका लागि १ करोड २६ लाख ३५ हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । पर्यटक आउजाउ गरिरहने क्षेत्र भएकाले यहाँ होटलहरुको राम्रो सुविधा छ । महोत्सवमा धेरै सहभागी भएर होटलमा बास नपुगे स्थानीयको घरमा बसोबास गराउने आयोजकको योजना छ । ‘सकेसम्म होटलमा राख्छौं, होटलमा नअटेमा घरघरमा राख्नेछौं’ पाहुनाहरुको सत्कारमा कमी हुन दिन्नौं’, अध्यक्ष लामाले भने ।

चुम उपत्यकामा हरेक वर्ष करिब १५ सय विदेशी पर्यटक पुग्छन् । नेपाली पर्यटक पनि पछिल्लो समय बढ्दै गएका छन्, तर स्वदेशी पर्यटकको तथ्यांक राखिएको छैन ।

लेखकको बारेमा
विनोद ढकाल

ढकाल अनलाइनखबर डटकमका डेस्क सम्पादक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?