+
+

सरकारले सवारी सहज नबनाउँदा राष्ट्रपतिले गाली खानुपर्‍यो : रघुजी पन्त

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २९ गते १५:२३

२९ माघ, काठमाडौं । नेकपा एमालेका नेता रघुजी पन्तले विशिष्ट व्यक्तिको सवारीहरुलाई सहज र जनतालाई अप्ठेरो नपर्ने गरी व्यवस्था गर्न माग गरेका छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकमा उनले राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार संघीय संसदमा आउँदा भएको सवारी जामको विषयले सरकार, संसद र राष्ट्रपतिप्रति पनि नकारात्मक टिप्पणी भइरहेको उनले बताए ।

आफ्नो सवारी कसरी चलाउने भन्ने विषय राष्ट्रपतिको हातमा नहुने तर उनीहरुले आलोचना खेप्नुपर्ने बाध्यता रहेको पन्तले बताए । ‘त्यसैले यो प्रश्नको समाधान राजनीतिक नेतृत्वले दिनुपर्छ, प्रधानमन्त्रीको तहबाट हुनुपर्छ’ उनले भने ।

राष्ट्रपतिको सवारीका क्रममा आफू एक घण्टा जाममा परेको र एम्बुलेन्स पनि जाममा परेको देखेको पन्तले बताए । ‘एम्बुलेन्समा कस्तो विरामी थिए भन्ने मैले देख्न पाइनँ, थुप्रै मान्छे आक्रोशित थिए, सांसदहरुलाई पनि गाली गर्दैथिए, मैले लोगो छोप्नुपर्‍यो, मास्क लगाउनुपर्‍यो’ उनले भने ।

विशिष्ट व्यक्तिको सवारी चलाउने मापदण्ड लोकतन्त्रमा खुकुलो र सुरक्षाको दृष्टिले पनि उपयुक्त हुनुपर्ने उनले बताए । तर सुरक्षा निकायले जहिले आफू सुरक्षित हुने बाटो खोज्ने र केही भएमा कसले जिम्मा लिने भन्ने प्रश्न गरेर उम्किने गरेको पन्तले बताए । ‘लोकतन्त्रमा लोकको यो आवाजप्रति हाम्रो संयन्त्र संवेदनशील हुन सकेन’ उनले भने ।

यसअघिको राष्ट्रपति डा. रामवरण यादव र वर्तमान राष्ट्रपतिले पनि आफ्नो सवारी चलाउँदा नागरिकलाई दुख नदिनू भनेको भन्दै पन्तले भने, ‘सरकारले नगर्दा राष्ट्रपतिले गाली खानुपर्‍यो ।’

पन्तको भनाइ भिडियोमा हेर्नुहोस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?