+
+

दुई तिहाइले घट्यो विद्युत उत्पादन, भारतबाट ल्याउँदा पनि माग धान्न मुश्किल

हिउँ नपरेपछि बढ्यो चिन्ता

रवीन्द्र घिमिरे रवीन्द्र घिमिरे
२०७९ माघ २९ गते १९:५९

२९ माघ, काठमाडौं । हिउँदमा राम्रो वर्षात र हिमपात नभएपछि विद्युत आपूर्ति व्यवस्थापन झन् चुनौतीपूर्ण बनेको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार यो वर्ष हिउँदको विद्युत उत्पादन दर विगतका वर्षहरुमा भन्दा कमजोर छ ।

यसले भारतीय विद्युतमा निर्भरता बढेपनि आपूर्ति र प्रसारण सञ्जालको अभावमा पर्याप्त मात्रामा बिजुली आपूर्ति गर्न मुस्किल भएको प्राधिकरणको भनाइ छ । यो वर्ष थप आयोजनाहरु बनेका कारण गत वर्षभन्दा आन्तरिक रुपमा हुने उत्पादन केही मात्रा बढे पनि प्रणालीमा वृद्धि भएको मागअनुसार आपूर्ति धान्न प्राधिकरणलाई आयातित बिजुलीमा भर पर्नु परेको छ ।

प्राधिकरणका भारप्रेषण केन्द्रका प्रमुख तथा प्रवक्ता सुरेशबहादुर भट्टराईका अनुसार अहिले जडित आयोजनाहरुबाट एक तिहाइ बिजुली मात्रै बिजुली उत्पादन भइरहेको छ । दुई तिहाइभन्दा बढी उत्पादन घटेपछि प्राधिकरणलाई विद्युतको माग व्यवस्थापनमा समस्यामा परेको छ ।

‘नेपालमा बनिसकेका आयोजनामा २३ सय मेगावाट बराबरको जडित क्षमता छ, तर अहिले करिब ७ सयदेखि साढे ७ सय मेगावाटसम्म मात्रै विद्युत उत्पादन भइरहेको छ,’ उनले भने, ‘सुक्खायाममा नदीमा पानीको सतह घटेसँगै उत्पादन घटेको हो ।’

उनका अनुसार अहिले स्वतन्त्र ऊर्जा उत्पादकहरुको निजी स्तरका आयोजनाबाट जडित क्षमतको १५ देखि २२ प्रतिशत मात्र बिजुली उत्पादन भइरहेको छ । त्यसको तुलनामा नेपाल विद्युत प्राधिकरण र भगिनी कम्पनीका आयोजनाहरुको बिजु उत्पादन केही राम्रो छ । ‘प्राधिकरणका आयोजनाबाट जडित क्षमताको ३०देखि ३५ प्रतिशतसम्म बिजुली उत्पादन भइरहेको छ’ उनले भने ।

प्राधिकरणकै आयोजनाहरुमा पनि अत्यधिक मात्रामा उत्पादन घटेको छ । यसले प्राधिकरणलाई माग र आपूर्तिको सन्तुलन मिलाउन चुनौती थपेको छ ।

यो वर्ष अहिलेसम्म हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपात भएको छैन, त्यसैले गत वर्षहरुमा जस्तो गर्मी बढ्नासाथ नदीमा पानीको सतह बढ्ने अवस्था पनि कम छ । त्यसैले यो वर्ष भारतबाट विगतका वर्षहरुको भन्दा बढी मात्रामा बिजुली आयात गर्नुपर्ने अवस्था छ ।

‘तर, ढल्केबरबाहेकको लाइनबाट थप बिजुली ल्याउन सकिंदैन, त्यहाँसम्म ल्याएको बिजुली पश्चिम नेपालतर्फ पठाउन प्रसारण लाइनको बलियो सञ्जाल छैन,’ उनले भने, ‘निर्माणाधीन ठूला क्षमताका प्रसारणलाइन आयोजनाहरु सम्पन्न नहुँदा थप बिजुली आयात गरेर पश्चिम नेपालतर्फ पठाउन पनि समस्या छ ।’

प्राधिकरणका आयोजनाहरुमा कतै वनको समस्या छ भने कौ ठेकदार कम्पनीहरुको ढिलासुस्ती छ । मुआब्जा लगायतका समस्याका कारण निर्माणाधीन २२० र ४०० केभीका लाइनहरुको काम सकाउन ढिलाइ भएको छ । तर, प्राधिकरण त्यसैलाई बाहाना बनाएर विद्युतको माग व्यवस्थापनमा समस्या आएर तर्क गरेर हात बाँधेर बसेको छ ।

अझ भारतमा बिजुलीको माग र आपूर्तिमा आएको असन्तुलनका कारण मूल्य उच्च भएकाले अर्को चुनौती थपिएको छ । महँगोमा बिजुली किन्न तयार रहेको बताउने प्राधिकरण अहिले प्रसारण सञ्जालको अभाव देखाइरहेको छ ।

पर्याप्त बिजुली आयात भए पनि पूर्वबाट पश्चिम पठाउने र विभिन्न औद्योगिक क्षेत्रसम्म पुर्‍याउने बलियो लाइनको अभावका कारण उद्योगहरुमा पिक आवरमा बिजुली कटौती गर्नुपरिरहेको प्रवक्ता भट्टराईको दाबी छ ।

प्राधिकरणका अनुसार अहिले विहान र साँझको पिक आवरमा बिजुलीको माग करिब १ हजार ७१० मेगावाटसम्म पुगेको छ । यस्तो अवस्थामा प्राधिकरणले माग धान्न करिब ५ सय मेगावाटभन्दा बढी बिजुली भारतबाट आयात गरिररहेको छ । आयातित बिजुलीले माग नधान्ने पनि प्राधिकरणले पिक आवरमा उद्योग र औद्योगिक क्षेत्रमा जानकारी गराएरै लाइन काटिरहेको छ ।

यसका कारण उद्योगहरु समस्या परेका छन् । तर, प्राधिकरण भने आफूले सकेसम्म धेरै बिजुली आयात गरेर कतै पनि बिजुली कटौती नगर्ने प्रयासमा भइरहेको बताउँछ । ६५–७० प्रतिशत आन्तरिक उत्पादन घट्दा प्राधिकरणले १० देखि ११ हजार मेगावाट आवर मात्रै बिजुली आयात भइरहेको छ ।

‘यो अवस्था सामान्य नै हो, यदि प्रसारण सञ्जाल सदृढ भएको भए थप ५ सय मेगावाट ल्याउन सक्थ्यौं,’ उनले भने, ‘लाइन नबनिन्जेलसम्म यस्तो गर्नुपर्छ, लाइन नबनेसम्म समस्या रहिरहन्छ ।’

 

लेखकको बारेमा
रवीन्द्र घिमिरे

घिमिरे अनलाइनखबरका प्रशासन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?