+
+
घुमघाम :

कालिञ्चोकको सूर्यास्त हेर्दै विगुसम्मको यात्रा

जीवन लामा जीवन लामा
२०७९ फागुन १ गते ८:००

दोलखाको कालिञ्चोक पछिल्लो समय आन्तरिक मात्रै होइन बाह्य पर्यटकको समेत रोजाइमा परेको छ । काठमाडौंबाट नजिकको दूरीमा पर्ने भएकाले पनि यो पर्यटकहरुका लागि सहज गन्तव्य भएको छ ।

धार्मिक गन्तव्य समेत रहेको कालिञ्चोकमा दर्शनका लागि पुग्ने त छन् नै युवायुवतीमाझ पनि यो चर्चामा छ । काठमाडौंमा शुक्रबार कार्यालय समय भ्याएर बेलुका बस्ने गरी कालिञ्चोक पुग्ने र बिहान मन्दिर दर्शन गरेर काठमाडौं फर्किने प्रशस्तै भेटिन्छन् । जाडोयाममा त झन् क्याम्प फायर गर्दै यहाँका होटलमा बस्नुको मज्जा नै बेग्लै हुन्छ ।

काठमाडौबाट १३२ किलोमिटरको सडक यात्रा गरेर दोलखा सदरमुकाम चरिकोट पुग्ने र चरिकोटबाट १७ किलोमिटरको दूरी पूरा गरेपछि कालिञ्चोक भगवती मन्दिर पुग्न सकिन्छ ।

पहिले पहिले हिउँ खेल्न र स्कीमा रमाउन मात्रै पर्यटहरु पुग्ने गरेकोमा अहिले बाह्रै महिना कालिञ्चोकमा पर्यटहरु भरिभराउ हुन्छन् । बर्खामा हरियो प्राकृतिक वातावरणमा चौरीको बथानमा रमाउने र हिउँदमा रोल्वालिङ हिमशृंखलाको दृश्यावलोकन गर्न आउने गर्छन् । साथै फागुन-चैतमा रंगीबिरंगी फुल्ने लालीगुराँससँग भुल्न पर्यटक आउने गर्छन् ।

समुन्द्र सतहबाट तीन हजार ७४२ मिटरको उचाइमा रहेको छ । कालिञ्चोक भगवती मन्दिर काठमाडौंको शोभा भगवती र काभ्रेको पलाञ्चोक भगवतीसहित सात भगतवीका दिदीबहिनी हुन् भन्ने किम्वदन्ती छ । कालिञ्चोक भगवती मन्दिर परिसरबाट सात हजार १३४ मिटर उचाईको गौरीशंकर हिमालको साथै सोलुखुम्बुको नुम्बुर हिमाल र सिन्धुपाल्चोकको जुगल हिमालसमेत राम्रोसँग अवलोकन गर्न सकिन्छ । गौरीशंकर हिमाल नेपालको प्रमाणिक समय निर्धारण गरेको हिमालको रुपमा चिनिन्छ ।

कालिञ्चोकको कुरीबाट मन्दिरसम्म पुग्न केवलकारको व्यवस्था छ । जसले हिंड्न नसक्ने र ज्येष्ठ नागरिकहरुलाई यसले सहज बनाइदिएको छ । अहिले कुरीमा व्यवस्थित होटलहरु प्रशस्तै भएकाले पनि पर्यटकहरुलाई बस्न, खानको लागि कुनै चिन्ता छैन ।

यहाँबाट सूर्यास्त नजिकैबाट नियाल्न सकिन्छ । जसको लागि एक रातको बसाइ अनिवार्य नै हो । फरक-फरक स्थानबाट फरक तरिकाको सूर्यास्त देखिने भएकाले पनि पर्यटकको लागि अर्को फाइदा मानिन्छ । दुुई दिन मात्र समय हुनेको लागि यहाँको यात्रा ठीकै हो । अन्यत्र हेरी यहाँबाट देखिने सूर्यास्त फरक र नयाँ खालको देखिएको दोलखाका जिल्ला न्यायाधीश डिल्लीरत्न श्रेष्ठ बताउँछन् ।

तर ट्रेकिङ रुचाउने पर्यटकको लागि कालिञ्चोकबाट एक दिनमा ठिङ्साङला हुँदै विगु गुम्बासम्म जान सकिन्छ । डाँडैडाँडा दोलखा र सिन्धुपाल्चोकका हिमशृंखला नियाल्दै विगु गुम्बामा बास बस्न पुगिन्छ । बाटोमा वन जंगल, खोलानाला, वन्यजन्तु र चराचुरुङ्गीको चिरबिर आवाजसँगै विगु पुगेको पत्तै हुँदैन । बाटोमा घोरलको दौड र ठाउँठाउँमा चौंरी गोठले पनि छुट्टै आनन्द दिन्छ । बस्न, खानाको सुविधाका लागि गुम्बाले क्यान्टिन र गेस्ट हाउस सञ्चालन ल्याएको छ । विगु गुम्बा नेपालकै पहिलो आनी पढाउने गुम्बाको रुपमा परिचित छ । भूकम्पपछि अहिले पक्की भवनमा गुम्बा निर्माण गरिएको छ ।

तस्वीरहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?