+
+

ट्राफिकले बढाएको सवारी जरिवाना फिर्ता, पहिलोपटकमै १५ सय जरिवाना नहुने

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १ गते १७:३७
फाइल तस्वीर

१ फागुन, काठमाडौं । ट्राफिक नियम पालनामा कडाइ गर्न ट्राफिक प्रहरीले बढाएको जरिवाना कार्यान्वयन नहुने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आइतबार भएको बैठकमा सवारी तथा यातायात व्यवस्था ऐनअनुसार नै जरिवाना उठाउने सहमति भएको हो ।

कानुन विपरीत बढेको जरिवाना खारेज गर्न माग गर्दै यातायात मजदुर र व्यवसायीहरु आन्दोलित भएपछि सरकार जरिवाना बढाउने निर्णयबाट पछि हटेको हो । मन्त्रालयका सचिव केशवकुमार शर्माको अध्यक्षमा बसेको सरोकारवालबीचको बैठकले ट्राफिक प्रहरीले लागु गरेको नयाँ जरिवाना कानुनसंगत नभएकाले अब कानुन अनुसार नै उठाउने सहमति भएको हो । त्यसका लागि ट्राफिक प्रहरीले सफ्टवेयरमा परिवर्तन पनि गरेको छ ।

यातायात व्यवस्था विभागका महानिर्देशक तुल्सी गौतम सवारी नियम उल्लंघन गर्दा कानुनअनुसरकै जरिवाना लिने सहमति भएको बताए । ३ पुसयता ट्राफिक प्रहरीले १६ प्रकारका सवारी नियम उल्लंघनमा पहिलोपटकमै १५ सय रुपैयाँ जरिवाना लिन थालेको थियो ।

‘अब सफ्टवेयरमा पनि परिवर्तन भइसक्यो,’ उनले भने, ‘कानुनमा जे, त्यसैअनुसार सवारी जरिवाना हुने व्यवस्था गरिएको छ ।’ ऐनको दफा १६४ अनुसार नियम मिच्नेलाई तत्कालै यातायात निरीक्षक र ट्राफिकको प्रहरी सहायक निरीक्षकले पहिलोपटकमा ५ सय, दोस्रो पटकमा एक हजार र तेस्रो पटक वा सो भन्दा बढी पटक सवारी नियम उल्लंघन गर्नेलाई एक हजार ५ सय रुपैयाँ जरिवाना गर्ने व्यवस्था गरिएको छ ।

त्यसैअनुसार अब जरिवानाको दर कार्यान्वयन हुने गरी सहमति भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिए । ‘अब पहिलो पटकमै १५ सय रुपैयाँ जरिवना नलिने गरी सहमति भएको छ,’ उनले भने, ‘ऐनमा जे व्यवस्था छ, त्यही कार्यान्वयन हुन्छ ।’

रेड लाइटमा सवारी नरोक्दा, निषेधित ठाउँमा पार्किङ गर्दा, गलत ठाउँबाट सवारी मोड्दा, सडकको गलत साइडबाट चलाउँदा, एकतर्फी सडकमा सवारी चलाउँदा, अवस्था ठीक नभएको सवारी चलाउँदा, रातिको समयमा बत्ती नबाली सवारी चलाउँदा र सवारी चलाउन निषेध गरिएको ठाउँ वा समयमा चलाउँदा एकैपटकमा १५ सय रुपैयाँ जरिवाना लिने ट्राफिकको निर्णय कार्यान्वयन नहुने भएको छ ।

त्यसैगरी नम्बर प्लेट नराखी चलाएमा, गाडी चालकले बेल्ट तथा मोटरसाइकल चालकले हेल्मेट नलगाई चलाएमा, सार्वजनिक सवारीका चालकले यात्रु राख्न इन्कार गरेमा, लापरवाहीका साथ सवारी चलाएमा, सवारीको वजनको हद निर्धारण गरिएको सडकमा बढी वजनको सवारी चलाएमा, सवारीचालक अनुमतिपत्र (लाइसेन्स), सवारी दर्ता किताब साथमा नराखी चलाएमा, ट्राफिक संकेत वा इसारा उल्लंघन गरी सवारी चलाएममा र निषेधित क्षेत्रमा हर्न बजाएमा पनि यस्तो जरिवाना लाग्ने नियम छ ।

सरकारले ०७५ मा यातायात व्यवस्था विभागलाई अधिकतम जरिवाना गर्न सक्ने अधिकार ट्राफिक प्रहरीलाई दिएको तर्क गरेर जरिवानामा एकैपटक तेब्बरले वृद्धि गरिएको थियो । अब सो व्यवस्था तत्काल कार्यान्वयन नहुने भएको छ ।

मन्त्रालयले यातायात मजदुरहरुले उठाएका अन्य माग सम्बोधनका लागि अध्ययन र छलफल गर्न यातायात व्यवस्था विभागमा निर्देशक रामचन्द्र पौडेलको नेतृत्वमा एक कार्यदल गठन गरेको छ ।

समस्या समाधान नभएको भन्दै नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात मजदुर संघले संयुक्त रुपमा ३ फागुनसम्म माग पुरा नभए सार्वजनिक यातायात सेवा नै ठप्प पार्ने चेतावनीसहित अहिले विभिन्न स्थानहरुमा कोणसभाहरु गरिरहेका छन् । यातायात व्यवस्था विभाग, यातायात व्यवस्था कार्यालय, ट्राफिक प्रहरी ऐन विपरीत चल्दा यातायात क्षेत्र अस्तव्यस्त भएको र सडकमा राज्य आतंक भएको मजदुहरुको आरोप छ ।

चालकको लाइसेन्स गैरकानुनी ढंगले निलम्बन गरिएको, प्रदूषण जाँचमा ५ हजारदेखि १ लाखसम्म जरिबानाको त्रास फैलाइएको लगायतका आरोप लगाउँदै समस्या समाधान गर्न भन्दै उनीहरु आन्दोलित भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?