+
+
सूर्यदर्शन सहकारी :

रविको नामको १ करोड हिसाब मिलाउन गोर्खा मिडियाको नाममा ऋण

अमृत सुवेदी अमृत सुवेदी
२०८१ वैशाख २७ गते २२:३०

२७ वैशाख, पोखरा । पोखराको सूर्यदर्शन सहकारीबाट रवि लामिछानेको नाममा लिएको एक करोड रुपैयाँ ऋणको हिसाब एक वर्षअघि मात्र मिलाएको पाइएको छ ।

जीबी राईको समूहले सञ्चालन गरेको सहकारीबाट १ अर्ब ३५ करोडभन्दा बढी हिनामिना भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने, जो २०७९ असारसम्म गोर्खा मिडिया नेटवर्कको साझेदार थिए, उनको नाममा १ करोड ऋण लिएको केही समय पहिला बाहिर आएको थियो ।

पोखरा महानगरपालिका, प्रहरी र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को सहयोगमा विज्ञहरुले थप वित्तीय विश्लेषण गर्ने क्रममा रविको नाममा रहेको यो ऋण गत असारमा मात्र मिलाएको पाइएको छ ।

पोखराका मेयर धनराज आचार्यले बिहीबार जिल्ला प्रहरी कार्यालय, कास्कीलाई हस्तान्तरण गरेको प्रतिवेदनअनुसार २०७८ जेठ ३ र असार ९ गते मेघा बैंकको चेकबाट कबाट गोर्खा मिडियाको नाममा ५०/५० लाख रुपैयाँको एकाउन्ट पे चेक काटिएको थियो ।

पेश्की लिएको त्यो एक करोड रकम टीभीका प्रबन्ध निर्देशक तथा सञ्चालक (१५ प्रतिशत शेयर भएका) रविको नाममा ऋण लिएर मिलान गरिएको छ ।

लामिछानेले २०७९ असारमा टीभी छाडेर राजनीतिमा आए । पछिल्लो समय जीबी राई र उनको समूहले चलाएको सहकारी संकटमा परेपछि लामिछानेमाथि समेत प्रश्न उठ्यो ।

त्यसपछि रविको नाममा रहेको ऋण चुुक्ता गर्न २०८० असार १३ गते गोर्खा मिडियाको नाममा खाता खोलेर १ करोड ३० लाख रुपैयाँ ऋण लगेको पाइएको छ । ‘सहकारीबाट गोर्खा मिडियाको नाममा ऋण लिएर रविको नाममा रहेको ऋण मिलाएको पाइएको छ’, विज्ञ समूहका एक सदस्यले भने ।

उनका अनुसार सहकारीबाट सबभन्दा धेरै रकम गितेन्द्रबाबु राई (जीबी), उनकै दाइ भूपेन्द्र राई, शिवबहादुर गुरुङ (महेन्द्र भोटे) लगायतले हिनामिना गरेको खुलेको छ ।

सूर्यदर्शन सहकारीबाट करिब डेढ अर्ब रकम हिनामिना गरेको आरोपमा प्रहरीले गत साल भदौ २४ गते १९ जनाविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो । जसमा जीबी राई लगायत १४ जना फरार छन् भने उपाध्यक्ष कैलाशकुमार दर्लामी, कोषाध्यक्ष कुमार रम्तेल, पूर्व सञ्चालक महेन्द्र भोटे र भविश्वर अर्याल पुर्पक्षका लागि कास्की कारागारमा छन् ।

सहकारी ठगी प्रकरणमा रवि लामिछाने, माओवादी केन्द्रका विद्यार्थी नेता दिपेश पुनसहित व्यक्ति र संस्था गरी १८ जनाविरुद्ध पीडितले पूरक जाहेरी दिएका थिए । सहकारीबाट रकम हिनामिना गर्ने अन्य पहुँचवाला व्यक्ति अनुसन्धानबाहिरै रहेको भन्दै चौतर्फी दबाबपछि पोखरा महानगर, प्रहरी र सीआईबीको सहयोगमा विज्ञहरुले थप वित्तीय विश्लेषण गरी प्रतिवेदन तयार पारेका छन् ।

विज्ञ समूहले जीबीका व्यापारिक साझेदार पूर्वडीआईजी छविलाल जोशीको घरमा छापा मारेर सीआईबीले पोखरा ल्याएको २ वटा सफ्टवेयरको समेत हेरेको थियो ।

पेश्की तथा ऋण लगानीको कारोबारको सम्पूर्ण विवरण समावेश भएको प्रतिवेदनअनुसार अधिकांश सञ्चालकले कुनै कागजात र धितो, सांक्षीबिनै रकम चलाएका छन् । विभिन्न व्यक्तिका नाममा जीबी राई आफैंले पैसा निकालेको देखिएको छ ।

सूर्यदर्शन सहकारीले स्थापनाकालदेखि नै सहकारी ऐन तथा नियमावली, नियमनकारी निकायले विभिन्न मितिमा जारी निर्देशन पालना नगरेको पाइएको छ ।

२०८० भदौ २१ गतेसम्म सस्थाले प्रयोग गरेको कम्प्युटर लेखा प्रणाली सफ्टवेयरमा उल्लेख भएका कुल १८ हजार ७०० वटा बचत खातामा १ अर्ब ३५ करोड ५३ लाख ५४ हजार ८९९ रुपैयाँ रहेको पाइएको प्रतिवेदनमा उल्लेख छ ।

सञ्चालकहरुले कर्मचारी पेश्की लगायत अन्य पेश्की खाताबाट ठूलो रकमको कारोबार गरेको र उक्त पेश्की रकम कृतिम कर्जा खाताका माध्यामबाट फस्र्योट गर्ने गरेको यसअघिकै प्रतिवेदनमा पनि उल्लेख थियो ।

जीबी राई आफैं संलग्न रहेर २९ करोड ९८ लाख २० हजार ९३१ रुपैयाँ अपचलन गरेको पाइएको छ ।

उनले आफ्ना नाममा ११ करोड ८५ लाख ५६ अपचलन गरेका छन् भने आफू अध्यक्ष हुँदा आवश्यक कागजात तथा प्रक्रिया पूरा नगरी कर्जा खाताहरुको जम्माबाट १७ करोड ४६ लाख ७४ हजार ८८८ र कर्मचारी पेश्की खातामार्फत मौज्दातमा रहेको पेश्की रकम २७ लाख १८ हजार रुपैयाँ चलाएको पाइएको छ ।

जीबीकै नेतृत्वमा खुलेको नेचर नेस्ट कम्पनीको नाममा पनि १ करोड ७८ लाख, नेचर हर्बल्सका नाममा २ करोड ५३ लाख १३ हजार रुपैयाँ गएको देखिएको छ । गोर्खा ग्रुप मल्टीइन्भेन्टले १ करोड रुपैयाँ कर्जा लिएको प्रतिवेदनमा देखिएको छ ।

सहकारीका सञ्चालक शिवबहादुर गुरुङका नाममा १७ करोड ७ लाख ८३ हजार रुपैयाँ लिएको प्रतिवेदनले देखाएको छ । स्थिर सम्पत्ति शीर्षकमा भवन र जग्गाका नाममा खाता भेटिएको छ, तर त्यसअनुसार सम्पत्ति भने देखिएको छैन । ७ करोड २५ लाख रुपैयाँमा संस्थाका नाममा कार्यालय भवन खरिद गर्न साधारण सभाले निर्णय गरेको पाइएको छ, भवन भने शिवबहादुरको नाममा छ ।

भौतिक कागजात तथा कारोबारको आधारमा विश्लेषण गर्दा १३ करोड २० लाख ८८ हजार ९१५ नियमित प्रकृत्तिका कर्जा खाताहरु रहेको पाइएको छ । ज्ञानबहादुर बम्जन अध्यक्ष भएको कार्यकालमा आवश्यक कागजात तथा प्रक्रिया नै पूरा नगरी १ करोड ५४ लाख ४९ हजार ८३ रकम अपचलन गरेको पाइएको छ ।

सहकारीबाट ठूलो रकम अपचलन गर्नेमा जीबीकै दाइ भूपेन्द्र छन् । उनी आफैंले ९ करोड २५ लाख ४ हजार ४२० रुपैयाँ अपचलन गरेका छन् । उनी अध्यक्ष भएको कार्यकालमा आवश्यक कागजात तथा प्रक्रिया बिनै ५३ करोड, ७७ लाख ४ हजार २७ रुपैयाँ ऋण प्रवाह गरेको पाइएको छ । कर्मचारी पेश्की खातामार्फत प्रयोग भएको रकम ७ लाख ३६ हजार रुपैयाँ छ ।

यस्तै थानबहादुर बुढामगर आफैंले १ करोड ३८ लाख रुपैयाँ चलाएको पाइएको छ । उनी अध्यक्ष भएको कार्यकालमा १ करोड १२ लाख ९ हजार रुपैयाँ कागजात तथा प्रक्रिया नै पूरा नगरी ऋण प्रवाह गरेका छन् ।

सूर्यदर्शन सहकारीको पेश्की खातामार्फत १९ लाख ९६ हजार ६५० रुपैयाँ लिएका थानबहादुरले २ करोड ७० लाख १५ हजार रुपैयाँ अपचलन गरेको प्रतिवेदनमा उल्लेख छ ।

पुर्पक्षका लागि थुनामा रहेका कोषाध्यक्ष कुमार रम्तेलले ७७ लाख ३२ हजार रुपैयाँ चलाएको प्रतिवेदनले देखाएको छ । नेत्रपाणि बास्तोलाले २१ लाख ७५ हजार कर्जा लिएको पाइएको छ भने स्वर्णलक्ष्मी सहकारी, काठमाडौंबाट १ करोड सूर्यदर्शन पाउनुपर्ने देखिएको छ । सहकारीबाट हेमन्त अधिकारीका नाममा कर्जा र पेश्की गरी २ करोड ३३ लाख २२ हजार रुपैयाँ गएको देखिन्छ ।

गण्डकीका पूर्व सांसद राजीव पहारीले ७ लाख रुपैयाँभन्दा बढी रकम सहकारीबाट लिएको पाइएको छ ।

गोर्खा मिडियाको नाममा ५ करोड ५८ लाख ९ हजार २७१ रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा गएको देखिएको छ । सहकारीका सञ्चालक तथा पदाधिकारीले कृत्रिम सेयर सदस्य र खाता खोलेर रकम अपचलन गरेको, सहकारीको नाममा कुनै पनि सम्पति नराखी व्यक्तिको नाममा लगानी गरेको देखिएको छ ।

जीबीको समूहले पोखरामा २०६५ साल असार १ गते तदर्थ समिति गठन गरी सूर्य दर्शन सहकारी खोलेका थिए ।

सहकारीका पूर्वअध्यक्ष जीबी राई, उनकै दाइ भूपेन्द्र, अहिलेका अध्यक्ष तथा व्यवस्थापकसमेत रहेका थानबहादुर बुढा, सञ्चालक धीरजकुमार दास, हेमन्त अधिकारी, प्रमोद भट्टराई, मनोज नकर्मी, सुरज श्रेष्ठ, आइस्मा गुरुङ, कविता तामाङ, सागर केसी, दिनेश रोका, ललिता तामाङ अझै फरार छन् । लेखा अधिकृत सृष्टि मानन्धर, लोन अधिकृत बुद्धि गुरुङलाई पनि प्रहरीले अझै पक्राउ गर्न सकेको छैन ।

जिल्ला अदातलमा दर्ता भएको मुद्धामा ८ देखि १० वर्ष कैद सजाय तथा १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ बिगो रकम मागदाबी गरिएको छ ।

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?