+
+
लिग टू त्रिकोणात्मक शृंखला :

नेपालको तयारी आत्मविश्वास फर्काउनमा केन्द्रित

गोविन्दराज नेपाल नमिता दाहाल गोविन्दराज नेपाल, नमिता दाहाल
२०७९ फागुन १ गते १८:२७

१ फागुन, काठमाडौं । मंगलबारदेखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुन लागेको आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत स्कटल्याण्ड र नामिवियासम्मिलित त्रिकोणात्मक शृंखलालाई नेपाली टोलीले आफ्नो आत्मविश्वास फर्काउने अवसरका रुपमा प्रयोग गर्दैछ ।

एकदिवशीय मान्यता पाएका सात एशोसिएट देशबीच सन् २०१९ देखि सुरु भएको यो शृंखलामा नेपालको अहिलेसम्मको प्रदर्शन सन्तोषजनक छैन । नेपाल टिम २४ खेलमा १८ अंक जोडेर छैटौं स्थानमा रहँदा उसलाई चार वर्षअघि पाएको एकदिवशीय मान्यता जोगाउने चुनौति बढेको छ ।

प्रमुख प्रशिक्षकको स्थायित्व नहुनु, अनुशासनको कारबाहीले टिमभित्रकै एकता खलबलिनु, मुख्य खेलाडी तथा कप्तान सन्दीप लामिछानेलाई फौजदारी अभियोग लाग्नुलगायतका कारणले नेपाल क्रिकेटको पछिल्ला नतिजाहरु अनुकुल भइरहेका छैनन् । अन्तर्राष्ट्रिय क्रिकेटमा एकपछि अर्को प्रतिकुल नतिजा र गत पुसमा सम्पन्न नेपाल टी–२० लिगमा स्पट फिक्सिङको प्रकरण सार्वजनिक हुँदा नेपाली खेलाडीहरु मानसिक रुपमा दवावमा छन् ।

नेपालले लिग टूको शीर्ष स्थानमा रहेको स्कटल्याण्ड र तेस्रो स्थानमा रहेको नामिवियालाई घरेलु मैदानमा स्वागतको तयारीमा रहँदा नेपाल टिमले आफ्नो आत्मविश्वास फर्काउने अवसरका रुपमा यो शृंखलालाई महत्व दिएको छ । स्कटल्याण्ड र नामिवियासँग यसअघि दुई त्रिकोणात्मक शृंखलामा ८ खेल खेलेर नेपालले मात्र ३ अंक जोड्न सकेको थियो । यसपल्ट नेपाललाई घरेलु समर्थक र विकेट कन्डिसनको फाइदा हुनेछ ।

सोमबारको पत्रकार सम्मेलनमा कप्तान रोहितकुमार पौडेलले प्रष्ट भनेका छन्, ‘यो शृंखलाको नतिजाले आगामी दुई शृंखलाको प्रदर्शनलाई पनि आकलन गर्न सकिन्छ ।’ २ फागुनदेखि २ चैतसम्म नेपालले आईसीसी लिग टू अन्तर्गत तीनवटा त्रिकोणात्मक शृंखलामा १२ एकदिवशीय अन्तर्राष्ट्रिय खेल खेल्दैछ ।

२–९ फागुनमा घरेलु मैदानमा खेलेर नेपाली टिम यूएई र पपुवा न्युगिनीसँगको शृंखला खेल्न यूएई जानेछ । यो शृंखला १५–२२ फागुनमा हुनेछ । २७ फागुनदेखि २ चैतसम्म त्रिवि मैदानमै यूएई र पपुवा न्युगिनीलाई नेपालले स्वागत गर्नेछ ।

सरकारी नियुक्ति प्रक्रिया विलम्ब हुँदा २३ माघमा औपचारिक नियुक्ति पाएका प्रशिक्षक मोन्टी देशाईको मुख्य ध्यान पनि खेलाडीलाई मानसिक रुपमा मजबुद बनाउनमा केन्द्रित छ । नियुक्ति पाउनुअघि नै १४ माघदेखि उनले राष्ट्रिय टिमको निगरानी सुरु गरेका थिए । त्यसो त वर्तमान राष्ट्रिय टिमका अधिकांश खेलाडी करिअरको सुरुवातदेखि नै मोन्टीसँग परिचित छन् ।

‘पछिल्लो १० दिनमा मोन्टी सरले जुन माहोल बनाउनु भएको छ त्यसले टिममा विश्वास थपिएको छ,’ कप्तान रोहितले भने, ‘टिम एकतावद्ध भएको मैले महशुस गरेको छु । खेलाडीमा मनोवल बढेको छ । सबैजना राम्रो गर्नुपर्छ भन्नेमा दृढ छन् ।’

लिग टू शृंखला सुरु भएयता राष्ट्रिय टिममा चारजना प्रशिक्षक फेरिएका छन् । भारतका उमेश पटवाल (९ महिना), अष्ट्रेलियाका डेभ ह्वाटमोर (९ महिना), श्रीलंकन मूलका क्यानडेली प्रशिक्षक पुवुदु दासानायके (८ महिना) र भारतीय प्रशिक्षक मनोज प्रभाकर (४ महिना) धेरै समय टिकेनन् । तीन वर्षको अवधिमा पाँचौं प्रशिक्षक मोन्टी नेपाली टिमबाट डेब्यू गर्दैछन् ।

नियुक्त भएलगत्तै मोन्टीले ‘ह्यापी ड्रेसिङ रुम’ आफ्नो पहिलो प्राथमिकता रहने बताएका छन् । सोमबारको पत्रकार सम्मेलनमा उनले भने, ‘यो एउटा प्रक्रिया हो । मेरो अहिलेको पहिलो प्रयास ‘ह्यापी ड्रेसिङ रुम’ थियो । त्यसमा अहिले धेरै लागु भएको जस्तो लाग्छ ।’ आफ्नो कार्यकालको सुरुदेखि नै टिमका सबै सदस्यप्रति मोन्टीको सकारात्मक व्यवहारले खेलाडीबीच विश्वास र मनोबल उच्च राख्न भूमिका खेलेको छ ।

‘क्रिकेटले हार्न र जित्न दुवै सिकाउँछ । खेलाडीको मनोबलले खेलको बारेमा सोच्ने तरिकामा परिवर्तन भएको छ,’ उनले भने, ‘नेपाली खेलाडीमा क्षमता छ । कुन खेलको महत्व कति हो भनेर उनीहरु बुझ्छन् ।’

शृंखलाका लागि स्कटिस टिम करिब एक सातादेखि नेपालमा प्रशिक्षणरत छ । २६ माघमा नेपाल आएको यो टिमले लिग टूमा अन्तिम चार खेल खेल्न बाँकी छ । चारमध्ये २ खेल जितेमा उसले लिग टू शृंखलाको उपाधि जित्ने निश्चित हुनेछ ।

‘हाम्रो तयारी राम्रो छ । हामी लिग २ को राम्रो स्थानमा छौं । नेपाल आएर यहाँको वातावरण बुझ्ने मौका पनि पायौं । हामी हरेक खेलहरु सकारात्मक प्रक्रियामा खेल्नेछौं । चुनौती हुनेछ तर पनि हामी हाम्रो स्थान गुमाउन चाहन्नौं,’ स्कटिस प्रशिक्षक सेन बर्गर भन्छन् ।

३६ मध्ये ३० खेल खेलेको नामिविया १८ खेलमा जित र ११ मा हारसहित ३७ अंकका साथ तेस्रो स्थानमा छ । प्रशिक्षक जोन रुडल्फ भन्छन्, ‘हामी दोस्रो पटक नेपालमा खेल्न आएका छौं । लिग २ मा हामी तेस्रो स्थानमा खुसी छौं । हामी हाम्रो उत्कृष्ट दिन्छौं । हामी अंक तालिकाको दोस्रो स्थानमा आउन चाहन्छौं ।’ नामिबियाले यसअघि वल्र्ड क्रिकेट लिग च्याम्पियनसिपको क्रममा २०१५ मा नेपाल आएर खेलेको थियो ।

२०७६ माघमा ओमान र अमेरिकासहितको लिग २ शृंखला नेपालले घरेलु मैदानमा खेलेको थियो । त्यो घरेलु मैदानमै नेपालले खेलेको पहिलो ओडीआई क्रिकेट समेत थियो । यस्तै लिग २ मा डेब्यु पनि नेपालले घरेलु मैदानबाटै सुरु गरेको थियो ।

आईसीसीबाट क्यानको निलम्बन फुकूवा भएपछि पहिलो पटक लिग २ को शृखंला खेलेको नेपालले अमेरिकालाई दुवै खेलमा हराए पनि ओमानसँग दुवै खेलमा पराजित हुँदा मिश्रित नतिजा निकालेको थियो ।

भारतमा सन् २०२३ अक्टोबर–नोभेम्बरमा हुने एकदिवशीय विश्वकपको छनोटको आधार र चार वर्षअघि पाएको एकदिवशीय मान्यता जोगाइराख्नका लागिसमेत महत्वपूर्ण मानिएको लिग २ सुरु गर्दा नेपालमा जुन उत्साह थियो, ६ शृखंला खेलिसकेपछि नेपालको अवस्था अहिले फरक अवस्थामा छ ।

ओमान र अमेरिकासहितको त्यो शृंखलामा नेपालले २ जित र २ हारबाट ४ अंक जोड्दै तीन वर्षे शृंखला सुरु गरेको थियो । त्यसपछिको ५ शृखंलाबाट नेपालले जम्मा १४ अंक थप्यो ।

यो अवस्थाबाट शीर्ष तीनमा रहेर विश्वकपको लागि सिधै ग्लोबल क्वालिफायरमा पुग्न नेपाललाई निकै कठिन छ । त्यसैले नेपालको लागि अहिलेको लक्ष्य भनेको बाँकी १२ मध्ये अधिकांश खेल जितेर एकदिवशीय मान्यता जोगाउने नै हो । लिग टू शृंखलामा कम्तिमा पाँचौं स्थानमा रहँदा एकदिवशीय मान्यता जोगिने विश्वास छ । त्यस्तो भएमा एकदिवशीय विश्वकपको प्लेअफ क्वालिफायर खेलेर ग्लोबल क्वालिफायरमा स्थान बनाउने नेपालको सम्भावना पनि कायम रहन्छ ।

२४ खेलमा ८ जित

नेपालले अहिलेसम्म लिग २ मा ६ शृंखला खेल्दा कूल २४ खेल खेल्यो । जसमा नेपालले एक तिहाई अर्थात जम्मा ८ खेल मात्र जितेको छ । नेपाल १४ खेलमा पराजित हुँदा १ खेल बराबरी भयो भने एक खेल वर्षाले रद्ध हुँदा अंक बाँडियो ।

नेपालले अमेरिकालाई ३ पटक, ओमान र पपुवा न्यु गिनीलाई २–२ पटक तथा स्कटल्याण्डलाई १ पटक पराजित गरेको छ । यूएई र नामिबियाविरुद्ध अहिलेसम्म जित निकाल्न सकेको छैन ।

लिग टू शृंखलामा सन्दीप लामिछानेबाहेक नेपाली खेलाडीको व्यक्तिगत प्रदर्शन पनि उल्लेखनीय छैन । नेपालका कुनै पनि खेलाडीले लिग २ अन्तर्गतको खेलमा शतक बनाउन सकेका छैन । यसले ब्याटिङको परम्परागत समस्या आहिलेसम्म सुध्रिएको छैन भन्ने देखाउँछ ।

लिग २ मा नेपालका लागि कप्तान रोहित पौडेल र आरिफ शेखले सर्वाधिक २१ खेल खेल्दा सन्दीप लामिछाने, करण केसी र दीपेन्द्रसिंह ऐरीले समान २० खेल खेलेका छन् । बलात्कार आरोप लागेपछि टिमबाट निलम्बनमा परेका सन्दीपले नामिबियामा भएको पछिल्लो शृंखला गुमाएका थिए ।

लिग २ मा नेपालबाट सर्वाधिक विकेट लिने खेलाडीमा रहेका सन्दीपले ४२ विकेट लिएका छन् । करण केसीले ३७ विकेट लिएका छन् । सन्दीपले दुई वर्षअघि घरेलु मैदानमै अमेरिका विरुद्ध एकै खेलमा ६ विकेट लिएका थिए । त्यो नेपाली बलरको उत्कृष्ट प्रदर्शन हो ।

यस्तै रोहितले सर्वाधिक ५५२ रन बनाएका छन् भने आसिफ शेखले ५१२ रन बनाएका छन् । लिग २ मा नेपालका लागि आसिफ शेख, आरिफ शेख र ज्ञानेन्द्र मल्लले ४–४ अर्धशतक प्रहार गर्दा कुशल भुर्तेल र रोहित पौडेलले समान ३ अर्धशतक बनाएका छन् ।

रोहित पौडेलको कप्तानीमा नेपालले दोस्रो पटक लिग २ खेल्दैछ । यसपटक पूर्वकप्तान सन्दीप लामिछानेसहित चार खेलाडी टिममा फर्किएका छन् । युवा स्पिनर सूर्य तामाङ पहिलो पटक राष्ट्रिय टिममा परेका छन् ।

लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

नमिता दाहाल

नमिता दाहाल अनलाइनखबरको खेलकुद संवाददता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?