+
+

सिर्सिया नदी प्रदूषण गर्ने उद्योगलाई कारबाही गर्ने निर्णय

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ३ गते २०:४२

३ फागुन, वीरगञ्ज । सिर्सिया नदी प्रदूषण नियन्त्रण समितिले नदी प्रदूषण गर्ने वीरगञ्ज-पथलैया औद्योगिक करिडोरका उद्योगलाई कारवाही गर्ने निर्णय गरेको छ ।

उद्योगबाट निस्कने फोहोर पानी प्रशोधन नगरी नदीमा खसाल्दै आएका उद्योगलाई वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण गर्न बनेको ऐन अनुसार कारबाही गर्ने निर्णय गरेको हो ।

उपमेयर ईम्तियाज आलम नेतृत्वमा गठित सिर्सिया अनुगमन समितिले विभिन्न उद्योगको स्थलगत अनुगमन गर्दा अधिकांश उद्योगले फोहोर तथा रसायनयुक्त फोहोर पानी प्रशोधन नगरी नदीमा खसाल्दै आएको पाईएको थियो । अनुगमन समितिको प्रतिवेदन तयार भइसकेको छैन । अनुगमन समितिले तयार पार्ने प्रतिवेदनको आधारमा उद्योगलाई जरिवाना रकम तय गर्ने तयारी छ ।

महानगरपालिकाको सभा कक्षमा बसेको बैठकले उद्योगहरुलाई तत्काल ट्रिटमेन्ट प्लान्ट बनाउन आग्रह गर्ने, त्यसपछि पनि अटेर जरिवाना गर्ने निर्णय बैठकले गरेको छ । अझै अटेर गर्दै गए कानुनी प्रक्रिया पूरा गरेर उद्योग बन्द गराउन सम्बन्धित निकायलाई आग्रह गर्ने बारे बैठकमा छलफल भएको छ ।

वीरगञ्ज महानगर अन्र्तगत पर्ने उद्योगको हकमा महानगरकै वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन र महानगर बाहिर करिडोरमा रहेका उद्योगको हकमा संघलाई पत्राचार गरेर कारबाहीका लागि अनुरोध गर्ने निर्णय भएको महानगरका मेयर राजेशमान सिंहले बताए । महानगरपालिकाको ऐनमा नदी प्रदूषण गर्ने उद्योगलाई ३ लाखसम्म र संघीय ऐनमा ५ देखि १० लाखसम्म जरिवाना गर्न सकिने व्यवस्था छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले विधि एवं कानुन विपरित सञ्चालित उद्योगलाई कारबाही नगर्दासम्म नदी प्रदूषण मुक्त नबन्ने धारणा राखेका थिए । उनले उद्योगीहरु जिम्मेवार भएर पर्यावरण जोगाउन लाग्नु पर्नेमा नदी फोहोर बनाउन उद्धत देखिएकाले त्यसलाई नियन्त्रण गर्न कुनै कसर बाँकी नराख्ने बताए ।

बाराको जितपुर सिमरा उपमहानगरपालिका, परवानीपुर गाउँपालिका र पर्साको वीरगञ्ज महानगरपालिका क्षेत्र भएर भारततर्फ सिर्सिया नदी बग्ने गरेको छ । वीरगञ्ज पथलैया करिडोरमा सञ्चालित उद्योगले फोहोर तथा रसायनयुक्त पानी प्रशोधन नगरी नदीमा खसाल्दा सिर्सिया नदी नालामा परिणत भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?