३ जेठ, चितवन । चितवनको खैरहनी नगरपालिका मजुईमा दाउराबाट निस्कने हानिकारक धुँवाको मापन र खाना पकाउने काममा संलग्न महिलाहरुमा यसले पार्ने प्रभावबारे गरिएको अनुसन्धानबाट डरलाग्दो तथ्य पत्ता लागेको छ ।
युनिभर्सिटी अफ इस्टर्न फिनल्याण्डमा विद्यावारिधी गरिरहेकी हेन्ना रिन्टा किकाले चितवनमा गरेको अनुसन्धानबाट दाउराबाट खाना पकाउने महिलाहरु विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डभन्दा १० गुणा बढी प्रदूषणको चपेटामा परेको पत्ता लागेको हो ।
खाना पकाउने क्रममा आगो नजिक बसेर काम गर्ने महिलाहरुको शरीरमा विभिन्न डिभाइसहरु जडान गरी एक दिनको अवधिमा अतिसूक्ष्म कणहरूको निगरानी गरिएको थियो ।
खैरहनीको सुन्दरदीप महिला माछापालन सहकारी संस्थाका ६ जना माछापालन गर्ने महिलाहरुमा धुँवाको प्रभावहरुको जाँच गरिएको थियो । त्यस क्रममा विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड भन्दा १० गुणा धेरै खराब प्रदूषित धुँवा महिलाहरुले लिइरहेको तथ्य भेटिएको हेन्नाले बताइन् ।
उक्त वायु प्रदूषण घरायसी खाना पकाउने अभ्यासहरूबाट मात्र नभई वातावरणीय कारणहरुबाट पनि भएको हेन्नाले बताइन् ।
स्वस्थ समाज र वातावरणको लागि धुँवारहित चुल्होको साथै वरपरको वातावरणसमेत प्रभाव पार्ने काममा कमी ल्याउन सचेतनाको आवश्यकता रहेको उनको भनाइ छ । उनले यस अनुसन्धानको सम्पूर्ण नतिजा चाँडै नै सार्वजनिक गर्ने बताइन् ।

चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालय अनुसन्धान तथा प्रसार निर्देशनालय र फिनल्याण्डको युनिभर्सिटी अफ इस्ट्रन फिनल्याण्डका बीचमा मत्स्य विज्ञान कार्यक्रमका शिक्षक र विद्यार्थीहरुको मत्स्य सम्बन्धी सिकाइ आदान प्रदान तथा अनुसन्धानका लागि सहयोग पुग्ने गरी एमओयू भैसकेको छ । सोही क्रममा हेन्ना नेपाल आएकी हुन् ।
कृषि विश्वविद्यालय पशु विज्ञान, पशु चिकित्सा तथा मस्त्य विज्ञान संकाय अन्तर्गत मत्स्य विज्ञान कार्यक्रमका एमएसस्सी फिसरिजका विद्यार्थीहरु अजित आचार्य र आशिष श्रेष्ठले पनि फिनल्याण्ड गएर केही समय अनुसन्धान गरेर आएका छन् ।
प्रतिक्रिया 4