+
+

एउटा कुशल नेता खोजिरहेको नेपाल

राजनीतिक दल र नेतृत्वप्रति यति धेरै अविश्वास भयो कि नेता भनेपछि गालीगलौज र घृणा हुन थाल्यो । राजनीतिक दल र नेतृत्वको दूरदर्शिता, इमानदारी र क्षमतामा थुप्रै प्रश्न उठिरहेका छन् ।

मंगल थापा मंगल थापा
२०७९ फागुन ४ गते १७:४२

नेपाल विगत सात दशकदेखि राजनीतिक अस्थिरताबाट गुजि्ररहेको छ । २००७ सालदेखि हालसम्म पटक-पटक राजनीतिक परिवर्तन भयो । हरेक परिवर्तनबाट प्रजातन्त्र, पञ्चायत, बहुदलीय प्रजातन्त्र, लोकतन्त्र र संघीय लोकतान्त्रिक गणतन्त्र नामको राज्यसत्ता निर्माण भयो । तर हरेक राजनीतिक परिवर्तनबाट स्थापित शासनपद्धति र त्यसबाट भएको राजनीतिक अभ्यास नेपाल र नेपाली जनताको इच्छा, आकांक्षा र आवश्यकता अनुसार हुन सकेन ।

नयाँ नामको राज्यव्यवस्था स्थापित भए पनि शासनशैली पुरातन प्रणालीकै जस्तो हुनगयो । प्रणाली र पात्र परिवर्तन भए तर शासनशैली र राजनीतिक अभ्यासमा कुनै परिवर्तन आएन । हरेक राजनीतिक दलमा व्यक्तिकेन्द्रित राजनीतिक अभ्यास भयो ।

जीवनभर आफूले पद नछोड्ने तर देश र जनताको हितमा काम नगर्ने प्रवृत्ति हावी भयो । यसले आम नेपालीमा निराशा मात्र पैदा गरेन कि राजनीतिक नेतृत्व र राज्यका विभिन्न अंगप्रति आम नेपालीमा आक्रोश र असन्तुष्टि सिर्जना गर्‍यो ।

हरेक राजनीतिक दलसँग आवद्ध व्यक्ति जुनकुनै तरिकाले भए पनि महत्वपूर्ण राजनीतिक पद र सत्तामा पुग्ने र त्यसको दुरुपयोग गरी व्यक्तिगत, गुटगत लाभ र नातावाद कृपावादलाई प्रश्रय दिने काम भयो । यसले न्यायालय, विद्यालय, विश्वविद्यालय, अस्पताललगायत राज्यका महत्वपूर्ण अंगहरूलाई निष्काम बनायो ।

हरेक क्षेत्रमा पद, पैसा र सत्ताको बलमा काम हुने परिपाटी बस्यो । यसले शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ लगायत राज्यका सेवा-सुविधामा सर्वसाधारण नागरिकको पहुँचलाई कमजोर बनायो । यस अवस्थामा राज्य संयन्त्रको सेवाप्रवाह गर्ने पद्धतिको आमूल परिवर्तनबाट मात्र सर्वसाधारण नेपालीको पहुँच वृद्धि गर्न सकिन्छ । यसका लागि निम्न कुरामा ध्यान दिनु आवश्यक छ ।

क. जनताको मौलिक हकको सुनिश्चितता

नेपालको पटक-पटकको राजनीतिक परिवर्तनले नेपाली जनताका थुप्रै मौलिक हकको व्यवस्था गरेको छ । तर संविधान र अन्य ऐन कानुनमा भएका मौलिक हक कागजमा सीमित छन् । खाना, आवास, शिक्षा, स्वास्थ्य, रोजगारीलगायत आधारभूत मौलिक हकको सुनिश्चितताले मात्र नागरिकको जीवनस्तरमा सुधार आउँछ । यसका लागि मौलिक हकबारे सचेत र त्यसको कार्यान्वयनको सुनिश्चितता गर्न सक्ने चेत भएको नेतृत्व आवश्यक छ । आजको युवाले उक्त कुरा बुझ्न र त्यसलाई व्यवहारमा कार्यान्वयन गर्न सक्दछन् भन्नेमा आम जनताको भरोसा छ । उक्त कुरा पूरा गर्न सक्षम युवा नेतृत्वको आवश्यकता छ ।

ख. दूरदृष्टि भएका र इमानदार राजनीतिक नेतृत्वको विकास

राजनीतिक दलको खास दार्शनिक एवं सैद्धान्तिक आधार हुन्छ । सोही आधारमा राजनीतिक दलले सरकार बनाई आफ्ना राजनीतिक नीति र कार्यक्रम बनाउँछन्, देश र जनताको हितमा काम गर्दछन् । तर नेपालको सन्दर्भमा राजनीतिक दलमा दार्शनिक र सैद्धान्तिक दृष्टिले अत्यन्तै विचलन आयो । सैद्धान्तिक विचलन मात्र होइन कि भन्ने र गर्ने कामको बीचमा अथवा बोली र व्यवहारमा यति धेरै विचलन आयो कि हरेक कुरा झुट सावित हुन थाल्यो ।

राजनीतिक दल र नेतृत्वप्रति यति धेरै अविश्वास भयो कि नेता भनेपछि गालीगलौज र घृणा हुन थाल्यो । राजनीतिक दल र नेतृत्वको दूरदर्शिता, इमानदारी र क्षमतामा थुप्रै प्रश्न उठिरहेका छन् । यस सन्दर्भमा अब राजनीतिक दल, संगठन र नेतृत्वमा आमूल परिवर्तन आवश्यक छ । त्यो परिवर्तन राजनीतिक दलको राजनीतिक सिद्धान्तमा आधारित इमानदार नेतृत्वको विकास र छनोटबाट हुनु अनिवार्य छ । यसले मात्र नेपाली जनता वैकल्पिक नेतृत्वबाट आशा गर्ने अवस्था सिर्जना हुन सक्दछ ।

ग. सामाजिक न्याय र लैंगिक समानता

नेपाली समाजमा विभिन्न किसिमका सामाजिक असमानता छन् । जातीय, लैंगिक, क्षेत्रीय, धार्मिक, वर्गीय, सांस्कृतिकलगायत अनेकन् असमानताले समाजमा विभिन्न किसिमका विभेदको सिर्जना गरेको छ । नेपाली समाजका असमानताका आयाम र त्यसबाट सिर्जित विभेदको अन्त्य गर्दै सामाजिक न्यायको सुनिश्चितता हुनु आवश्यक छ । पूर्ण सामाजिक न्यायबाट मात्र सबै नेपाली नागरिक बराबर हुन् भन्ने कुराको महसुस गर्दै एकताबद्ध हुन मद्दत पुग्दछ । त्यसका अतिरिक्त नेपाली समाजमा अझै पनि लैंगिक असमानता र विभेद विद्यमान छ । महिला र पुरुषको बीचमा सामाजिक, आर्थिक, सांस्कृतिक, राजनीतिकलगायत अनेकन् असमानता र विभेद छन् ।

यी सबै किसिमका सामाजिक विभेद र असमानताको अन्त्य गर्दै लैंगिक समानता कायम गर्न पनि सामाजिक न्यायको सुनिश्चितता आवश्यक छ । सक्षम युवा नेतृत्वले आजको नेपाली समाजमा विद्यमान असमानता र विभेदलाई पहिचान गर्दै त्यसलाई समाधान गर्न प्रभावकारी भूमिका खेल्न सक्दछ ।

घ. गुणस्तरीय, वैज्ञानिक एवं व्यावहारिक शिक्षा र रोजगारीको अवसर

देश विकासको मेरुदण्ड शिक्षा हो । गुणस्तरीय र व्यावहारिक शिक्षाले व्यक्तिलाई सक्षम नागरिक बनाउनुको साथै रोजगारीका लागि अवसर सिर्जना गर्दछ । देश निर्माणमा योगदान गर्ने जनशक्ति शिक्षाबाट उत्पादन हुन्छ । आज नेपाली शिक्षाको गुणस्तर र व्यावहारिकतामा प्रश्न उठेको छ । त्यति मात्र होइन व्यक्तिलाई नैतिकवान, इमानदार र कर्तव्यनिष्ठ बनाउने काम पनि शिक्षाले गर्दछ ।

समाजमा शिक्षित व्यक्तिको क्षमता, इमानदारी र नैतिकतामाथि पनि अनेकन् टिप्पणी भइरहेको छ । शिक्षा हासिल गरिसकेपछि पनि रोजगारी पाउने कुरामा समस्या देखिएको छ । जेनतेन रोजगारी पाए पनि कार्य सम्पादनमा सक्षमताको अभाव देखिएको छ । शिक्षा र रोजगारीमा देखिएको यो समस्या हल गर्न पनि सक्षम युवा नेतृत्वको आवश्यकता छ ।

ङ. विधिको शासन, जवाफदेहिता र सुशासन

हरेक देश संविधान र कानुनको आधारमा चल्दछ । राज्यका हरेक निकाय र नागरिकले देशको कानुन अनुसार विधिसम्मत तरिकाले सेवा, सुविधा दिने र व्यवहार गर्नुपर्दछ । देश र जनताको जिम्मेवारी लिने राजनीतिक नेतृत्वले आफ्नो जिम्मेवारी वहन गर्ने र आफ्नो दायित्व एवं कर्तव्य हो भनी जवाफदेहिता लिनुपर्दछ ।

अहिले नेपालमा आफूले जिम्मेवारी वहन नगर्ने, जवाफदेहिता नलिने र दोष अरूमाथि थोपर्ने अनि आफू चोखो हुने प्रवृत्ति हावी भएको छ । कानुन मिच्ने, हरेक कुरामा बलमिच्याइँ गर्ने, शक्ति र सत्ताको दुरुपयोग गर्ने, नाजायज फाइदा लिने, भ्रष्टाचार गर्ने जस्ता कार्य गर्ने र यसो गर्नेलाई कुनै कारबाही नगर्नाले दण्डहीनताको अवस्था सिर्जना भएको छ । विधिको आधारमा शासन गरी देशमा सुशासन कायम गर्न अब सामन्ती सोच र प्रवृत्तिबाट सम्भव छैन । लोकतान्त्रिक सोच र चरित्र भएको युवा नेतृत्वले मात्र विधिको शासन कायम गर्दै जवाफदेही बहन र सुशासन कायम गर्न भूमिका खेल्न सक्दछन् ।

च. स्थानीय स्रोत, साधन एवं जनशक्तिको परिचालन र उद्यमशीलताको विकास

नेपालको हिमाल, पहाड र तराई तीनै क्षेत्रमा विभिन्न किसिमका प्राकृतिक एवं मानवीय स्रोत उपलब्ध छन् । ती स्रोत-साधनको पहिचान र परिचालन गरी स्थानीय तहमा उद्यमशीलताको विकासमा ध्यान दिनु जरूरी छ । यसबाट स्थानीय तहमा उपलब्ध मानवीय जनशक्ति आफ्नै देशको रोजगारीमा संलग्न हुने अवसर पाउँछन् ।

उद्यमशीलताबाट स्थानीय तहमा हुने उत्पादनले विभिन्न किसिमका वस्तु र सेवाले स्थानीय जनताको आवश्यकता पूरा हुन्छ । यसले आयात घटाउँछ र आम्दानी पनि बढाउँछ । यसबाट स्थानीय तहमा धेरै युवा स्वदेशमै बस्ने र काम गर्ने वातावरण सिर्जना हुन्छ ।

छ. आजको संसार प्रविधिमैत्री घरपरिवार

आजको युग विज्ञान र प्रविधिको हो । हरेक क्रियाकलाप प्रविधिमा आधारित हुन्छन् । एउटा घरपरिवार संसारसँग जोडिएको हुन्छ । संसारमा के भइरहेको छ, घरपरिवारमा थाहा हुन्छ । देशका सबै सूचना र सेवासुविधा घरघरमा पुर्‍याउन घरपरिवारमा कम्प्युटर र इन्टरनेटको आवश्यकता हुन्छ । हरेक घरपरिवारमा रोजगार र कम्प्युटरको उपलब्धता गराउनु अबको स्थानीय सरकारको दायित्व हुनुपर्दछ ।

अबको राजनीतिक नेतृत्वले समाजवाद उन्मुख संवैधानिक परिकल्पनालाई साकार पार्न समाजवादको आधारभूत पक्षलाई घरपरिवार तहमा पुर्‍याउनुपर्दछ । राजनीतिक दर्शन र सिद्धान्तलाई आधार बनाएर देश र जनताको हितमा काम गर्ने कुशल, सक्षम, सक्रिय, जिम्मेवार, इमानदार र जवाफदेही राजनीतिक नेतृत्व आजको नेपाली समाजको आवश्यकता हो ।

अन्त्यमा ‘समृद्ध नेपाल सुखी नेपाली’ भन्ने नारालाई व्यावहारिक रूपमा सार्थक बनाउन र आम नेपालीको जीवनमा रूपान्तरण गर्न आजको विश्व बुझेको विज्ञान र प्रविधिमा दख्खल भएको निरन्तर लागिपर्न सक्ने निस्वार्थ इमानदार नेतृत्वको अभावले नेपाल र नेपालीको वर्तमान र भविष्य उज्ज्वल हुन सक्दैन ।

यसकारण कुनै पनि संघ, संगठन, राजनीतिक दल र अन्य निकायको नेतृत्व चयन गर्दा नेपाली समाजको यथार्थता बुझेर समाजका विभिन्न पक्ष र आम नेपालीको जीवनमा आमूल परिवर्तन ल्याउन सक्ने नेतृत्व छनोट गर्नु नै देश र जनताको हितमा मत जाहेर गर्नु हो भन्ने कुरा सबैले बुझ्न जरूरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?