+
+

कोरोना महामारीको जोखिम कहिले अन्त्य होला?

सरकारी तथ्यांक अनुसार कोरोना संक्रमणका हालसम्म ११ लाख ५२ हजार बढी केस भेटिएका छन् भने १२ हजार २० जनाको मृत्यु भएको छ । गत असोजदेखि संक्रमित संख्या घट्दै जाँदा अहिले मृतकको संख्या शून्यमा समेत आइपुगेको छ । तर महामारी अन्त्य भएको घोषणा गर्ने हतारमा सरकार छैन ।

पुष्पराज चौलागाईं पुष्पराज चौलागाईं
२०७९ फागुन ५ गते १०:३४

४ फागुन, काठमाडौं । करिब तीन हप्तादेखि नेपालमा कोरोना संक्रमित अस्पताल भर्ना भएका छैनन् । दैनिक रूपमा भेटिने संक्रमित संख्या पनि एक अंकमा सीमित छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभर जम्मा १० जना सक्रिय संक्रमित छन् र सबै होम आइसोलेसनमा छन् ।

नेपालमा मात्र होइन, विश्वभर नै कोरोना संक्रमण घटेको छ । अमेरिकाले कोरोनाभाइरसको संक्रमण रोकथामका लागि लगाएको राष्ट्रिय आपतकाल आगामी मे ११ बाट अन्त्य गर्ने निर्णय गरिसकेको छ भने पछिल्लो समय नयाँ भेरियन्ट भेटिएको चीनमा समेत कोभिड–१९ नियन्त्रण उन्मुख छ ।

तर धेरैको मनमा एउटा प्रश्न छ, कोरोना महामारी कहिले र कसरी अन्त्य होला ? जनस्वास्थ्य विज्ञहरूका अनुसार यसको ठोस जवाफ कोहीसँग छैन । तर कोरोनाभाइरस रोगका लागि स्थापित भइसकेकाले समुदायमा रहिरहने र बेला–बेला फाट्टफुट्ट देखिने सम्भावना भएको डा. शरद वन्त बताउँछन् ।

नेपालमा पहिलो पटक माघ २०७६ मा कोरोना संक्रमण पुष्टि भएको थियो भने ४ जेठ २०७७ मा संक्रमणका कारण मृत्यु भयो । त्यसयता चारवटा कोरोनाका लहर सामना गर्नुपर्यो । महामारी सुरु भएदेखि डेल्टा, अल्फा, ओमिक्रोन लगायत भेरियन्ट नेपालमा देखिए । अन्य भेरियन्टको तुलनामा ओमिक्रोन संक्रामक रहे पनि कम घातक देखियो । सरकारी तथ्यांक अनुसार हालसम्म ११ लाख ५२ हजार बढी केस भेटिएका छन् भने १२ हजार २० जनाको मृत्यु भएको छ ।

कोरोना संक्रमण सुरु भएको २०७६ माघ ९ गतेदेखि २०७७ चैत १ गतेसम्म पहिलो लहरको रूपमा रह्यो । संक्रमण रोकथामका लागि सरकारले झण्डै चार महिना लामो लकडाउन गर्नुका साथै पीसीआर परीक्षणमा जोड दिएको थियो । तर स्वास्थ्य पूर्वाधारको अपर्याप्तता र महामारीलाई गम्भीर रूपमा नलिंदा संक्रमण रोकिएन । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार पहिलो लहरमा २ लाख ७५ हजारको हाराहारीमा संक्रमण देखिएको थियो । जसमध्ये ३ हजार १४ जनाको मृत्यु भयो ।

पहिलो लहर विस्तारै सामान्य हुँदै जाँदा राजनीतिक गतिविधि बढे, सर्वसाधारणले पनि जनस्वास्थ्यको मापदण्ड नअपनाउँदा दोस्रो लहर निम्त्यायो । दोस्रो लहर बढी घातक भयो । संक्रमित संख्या ह्वात्तै बढ्दा अस्पतालका स्रोत र साधनले थेग्न सकेनन् भने अक्सिजनकै अभावमा धेरैले ज्यान गुमाए । दोस्रो लहरमा मात्र ८ हजारभन्दा बढी मानिसको मृत्यु भयो । दोस्रो लहरमा रूप परिवर्तन भएर फैलिएको संक्रामक भाइरसले दीर्घरोग तथा बिरामी मात्र होइन, सबै उमेर समूहलाई गम्भीर गरायो ।

तेस्रो लहरमा भने पहिलाको लहरका भन्दा कम क्षति हुनपुग्यो । तर तीन तहका सरकारबीच समन्वयको अभाव हुँदा संक्रमण नियन्त्रणभन्दा बाहिर हुनपुग्यो । पहिलो तथा दोस्रो लहरमा नाका व्यवस्थित नहुँदा क्षति भोग्नुपरेको देख्दै गर्दा सरकारले तेस्रो लहरमा पनि सीमामा संक्रमितलाई अलग गर्ने संरचना बनाउन सकेन । यद्यपि आम नागरिकमा बढेको सचेतना, पूर्णरूपमा खोप लगाउनेहरूको बढ्दो संख्या र अस्पताल पूर्वाधारमा भएको बढोत्तरीका कारण बढी भयावह हुन नपाएको स्वास्थ्य मन्त्रालयको बुझाइ छ । चौथो लहरमा भने संक्रमित संख्यामा केही ग्राफ उकालो लागे पनि धेरै क्षति हुन पाएन । मन्त्रालयको तथ्यांक अनुसार तेस्रो र चौथो लहरमा १३०० को हाराहारीमा मृत्यु भयो । गत असोजदेखि संक्रमित संख्या घट्दै जाँदा अहिले शून्यमा समेत आइपुगेको छ ।

विज्ञ भन्छन् : मानव समुदायमा कोरोना रहिरहन्छ

कोरोनाभाइरस संक्रमित संख्या निरन्तर घटेकाले धेरैले यसलाई बिर्सिन पनि थालेका छन् । तर जनस्वास्थ्यविद्हरू भने कोरोना महामारीकै रूपमा देखा नपर्ने संकेत भएतापनि समाजमा सामान्य रूपमा कोरोनाको प्रजाति घुमिरहने बताउँछन् ।

जनस्वास्थ्यविद् डा. शरद वन्तका अनुसार कोरोनालाई अहिले नै पूर्णरूपमा नियन्त्रण र उन्मूलन भन्न सकिने अवस्था छैन । ‘कोरोना अन्य रोग हैजा वा दादुरा जस्तै गरी बसिरहन्छ । यसबारे सतर्कता अपनाउनुपर्छ । भोलिका दिनमा हुनसक्ने सम्भावित महामारीको लागि तयारी गर्नुपर्ने अवस्था हो’, डा. वन्तले भने ।

कोरोनाभाइरस रोगका लागि स्थापित भइसकेकाले बेला–बेला फाट्टफुट्ट देखिने सम्भावना भएको डा. वन्तको भनाइ छ । नेपालको इतिहास हेर्दा पनि हैजा, क्षयरोग, एचआईभी, बिफर, इन्फ्लुएन्जा, दादुरा लगायत सरुवा रोग देखिएका छन्, जसले अहिले पनि फाट्टफुट्ट सताउने गरेको छ । विज्ञहरूका अनुसार नेपालमा साधारण रुघा–खोकीजन्य फ्लुका कारण बर्सेनि हजारौंको मृत्यु हुने गरेको छ । यस अर्थमा पनि कोरोना महामारीको अन्त्यको अनुमान गर्न नसकिने र नयाँ–नयाँ भेरियन्टको जोखिम कायम नै रहने जनस्वास्थ्यविद्को तर्क छ ।

संक्रामक रोग विशेषज्ञ अनुप सुवेदी संक्रमण घटे पनि महामारीको अन्त्य हुन्छ भन्ने निष्कर्षमा पुग्न नसकिने बताउँछन् । उनका अनुसार कोरोनाका नयाँ भेरियन्टको जोखिम सधैं रहन्छ । ‘कोरोनासँग सतर्क रहनुपर्छ । ओमिक्रोनलाई अन्तिम मान्न सकिंदैन । भोलिका दिनमा भेरियन्ट परिवर्तन हुँदा सानो वा ठूलो लहर आउने सम्भावना रहन्छ’, डा. सुवेदीले थपे ।

भाइरस परिवर्तनशील हुने गरेकाले अहिले कोरोनाको अन्त्य वा जोखिम छैन भनेर यकिन गर्न नसकिने अर्का संक्रामक रोग विशेषज्ञ डा. प्रभात अधिकारी बताउँछन् । उनका अनुसार इन्फ्लुएन्जा जस्तै कोरोनाभाइरस पनि मानव समुदायमा सधैं रहन सक्छ । ‘अहिले नै कोरोना हराएर जानेवाला छैन । इन्फ्लुएन्जा जस्तै हामीसँगै रहनेछ । प्रत्येक वर्ष केही लहर आउन सक्छ । त्यसकारण प्रत्येक वर्ष अतिरिक्त खोप लगाउनुपर्ने देखिन्छ’, डा. अधिकारी थप्छन् ।

स्वास्थ्य मन्त्रालयले पनि शून्य कोभिड वा महामारी अन्त्य भन्ने घोषणा गर्न हतार नगर्ने बताएको छ । विश्वका अन्य देशको कोरोना संक्रमणको अवस्था हेरेर समयक्रमसँगै निर्णय हुने मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारी बताउँछन् । ‘अहिले कोरोनाको संक्रमण अन्य देशहरूमा पनि घट्दै गएको छ । नेपालमा पनि केस बढिरहेको छैन’ डा. अधिकारी भन्छन्, ‘हामी विस्तारै सामान्य जीवनतिर फर्किरहेका छौं, तर जोखिम कायम नै छ ।’

लेखकको बारेमा
पुष्पराज चौलागाईं

अनलाइनखबरमा आबद्ध चौलागाईं स्वास्थ्य विटमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?