+
+

प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अगाडि बढाउन कानून व्यवसायीको माग

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ८ गते १३:५७

८ फागुन, काठमाडौं । प्रधानन्यायाधीशको नियुक्ती नहुँदा न्याय सम्पादनमा असर पुगेको भन्दै कानून व्यवसायीहरुले अविलम्व प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अगाडि बढाउन माग गरेका छन् ।

सोमबार सर्वोच्च अदालत बार एशोसिएशनको ४९औँ स्थापना दिवसको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा उपस्थित भएका कानून व्यवसायीहरुले न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अगाडि बढाउन माग गरेका हुन् ।

वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले लामो समयदेखि सर्वोच्च अदालतमा प्रधानन्यायाधीश रिक्त हुनु शोभनीय नभएको बताए । उनले भने, ‘न्यायपालिकाको प्रमुख लामो समयदेखि रिक्त रहनु पहिलो कुरा शोभनीय हुँदैन । दोस्रो कुरा यसले न्याय सम्पादनमा गम्भीर असर परिरहेको छ । ढुक्कका साथ आफू प्रधानन्यायाधीशको जिम्मेवारी निर्वाह गर्न नपाउँदाखेरी प्रधानन्यायाधीश र निजबाट सम्पादन हुने काममा यसको प्रत्यक्ष असर पर्छ । र जहिले पनि न्यायपालिकाले कार्यपालिका वा व्यवस्थापिकाप्रति परनिर्भर रहनुपर्ने परिस्थिति सिर्जना हुन जान्छ ।’

प्रधानन्यायाधीश नहुँदा न्याय सम्पादनमा असर पर्ने साथै न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकाप्रति परनिर्भर हुने अवस्था आउने उनले बताए । उनले प्रधानन्यायाधीश नियुक्त हुन नसक्नु राजनीतिक दलहरुको अकर्मण्यता भएको बताए ।

उनले भने, ‘संविधानले परिकल्पना गरेको स्वतन्त्र न्यायपालिका कसैको पनि आश, त्रास र भयबाट मुक्त भएर कार्यसम्पादन गर्नुपर्ने अवस्थामा प्रधानन्यायाधीशको पद लामो समयसम्म रिक्त रहेको कारणले प्रधानन्यायाधीशले स्वतन्त्र न्यायपालिकाको भावना अनुरुप कार्य गर्न नसक्ने परिस्थितिको सिर्जना हुन जान्छ, यसले गर्दा यो राजनीतिक दलहरुको अकर्मण्यता हो ।’

वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले सर्वोच्च अदालतलाई कायममुकायम प्रधानन्यायाधीशबाट चलाउनु संविधान बिरुद्धको काम भएको बताए । उनले छिटोभन्दा छिटो स्थायी प्रधानन्यायाधीश नियुक्त गर्न संसद लगायतका सम्बन्धित निकायको ध्यानाकर्षण गराए ।

‘नेपालको सर्वोच्च अदालतमा नेपालको प्रधानन्यायाधीश अस्थायी रुपमा राख्ने संविधान बिरुद्धको काम अहिले लामो समयदेखि भइराखेको छ । अरु न्यायाधीश स्थायी सर्वोच्च अदालतको प्रधानन्यायाधीशचाहीँ अस्थायी ।’ उनले भने, ‘यस्तो गर्ने बेइमानीहरुको राज्य चलेको भन्ने प्रमाण होला कि भन्ने पिर लागेको छ । त्यसो भएको हुनाले छिटोभन्दा छिटो प्रधानन्यायाधीशलाई स्थायी गर्नेतर्फ सम्बन्धित निकाय संसदसहितले उचित र पर्याप्त चाँडै ध्यान पुर्‍याओस् ।’

नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले कायममुकायम छोटो समयको लागि परिकल्पना गरिएको पद भएको बताए । उनले स्थायी प्रधानन्यायाधीश बनाएर अदालत चलाउनेतर्फ चासो नदेखाइएको बताए ।

लामो समयदेखि कायममुकायम प्रधानन्यायाधीशबाटै संवैधानिक इजलास चलिराखेको भन्दै उनले यस्तो हुँदा न्याय सम्पादनमा फरक पर्ने बताए ।

उनले भने, ‘कायम मुकायमको भरमा सर्वोच्च अदालत चलिराखेको अवस्था छ । कायममुकायम भनेको सर्वोच्च अदालतको प्रधानन्यायाधीश नहुँदाखेरी छोटो समयको लागि परिकल्पना गरिएको पद हो । तर यहाँ कस्तो देखियो भने का.मु. प्रधानन्यायाधीशलाई कन्फर्म प्रधानन्यायाधीश बनाएर अदालत चलाउनेतर्फ चासो भएको देखिएन । यो एउटा चिन्ताको विषय हो ।’

उनले प्रधानन्यायाधीश नियुक्त गर्न सरकार र संसदलाई आग्रह गरे । उनले भने, ‘न्यायिक नेतृत्वलाई डिमोरलाइज गर्ने काम भएको छ । कार्यपालिका र व्यवस्थापिका दुवैबाट यो कुरा भएको हुनाले म अविलम्व, यथाशिघ्र सर्वोच्च अदालतको कायम मुकायम प्रधानन्यायाधीश भएको अवस्थालाई अन्त्य गरेर स्थायी प्रधानन्यायाधीशको व्यवस्था गर्नका लागि नेपाल सरकार र व्यवस्थापिका दुवैलाई म हार्दिकतापूर्वक अनुरोध गर्दछु ।’

सर्वोच्च अदालत बार एशोसिएशनका अध्यक्ष हरिशंकर निरौलाले कामयमुकायम प्रधानन्यायाधीशले लामो समय सर्वोच्च अदालत चलाउनु उचित नभएको बताए । उनले संवैधानिक इजलाशको नेतृत्व प्रधानन्यायाधीशले नै गर्नुपर्ने बताए ।

उनले भने, ‘सर्वोच्च अदालत एक वर्षभन्दा बढी लामो समयदेखि नेतृत्वबिहीन जस्तै छ । का.मु. प्रधानन्यायाधीशको भरमा यति लामो समयसम्म सर्वोच्च अदालत रहिरहनु कुनैपनि हालतमा उचित होइन । संवैधानिक इजलाशको नेतृत्वपनि प्रधानन्यायाधीशले नै गर्नुपर्दछ ।’

कायम मुकायमले निडर भएर गुणस्तरीय फैसला गर्न नसक्ने उनको भनाइ छ । ‘मुद्दा, मामिलामा विवादको निरुपण गर्नलाई सक्षम भएर, दृढ भएर, निडर भएर गुणस्तरीय फैसला गर्ने, निर्णय गर्ने आदेश गर्ने काममा कामु प्रधानन्यायाधीश लामो समय कायम रहनु कुनै हालतमा उचित होइन । यथाशिघ्र संवैधानिक परिषद्ले सिफारिस गरेर प्रधानन्यायाधीशको नियुक्ती हुनुपर्छ।’ उनले भने ।

उनले प्रधानन्यायाधीश नियुक्ती प्रक्रिया यथाशिघ्र अगाडी बढाउन माग गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?