+
+

लिग टु सिरिज जित्ने खेलाडीलाई सरकारले जनही २ लाख दिने

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ११ गते १५:५५

११ फागुन, काठमाडौं । सरकारले आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत काठमाडौंमा भएको सिरिज विजेता नेपाली क्रिकेट टोलीका सदस्यहरुलाई जनही २ लाख रुपैयाँ दिने भएको छ ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्यहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका थिए । सो क्रममा प्रधानमन्त्री प्रचण्डले खेलाडीको पुरस्कार रकम घोषणा गरेका हुन् ।

‘छोटो समयमा नेपालले क्रिकेटमा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा आफ्नो उचाइ स्थापित गरिसकेको छ । यो सिंगो राष्ट्र र आम नेपाली जनताको लागि पनि गौरवको कुरा हो । यस पटक सबै खेल जितेर तपाईहरुले नेपाली जनताको शिर ठाडो बनाउने ऐतिहासिक भुमिका खेल्नुभएको छ । हामी नेपाल सरकारको तर्फबाट प्रेरणास्वरुप जनही २ लाख रुपैयाँ दिने घोषणा गर्छु’ खेलाडीहरुसँग प्रधानमन्त्री प्रचण्डले भने ।

मंसिर २४ गते सरकारले पारित गरेको पुरस्कार कार्यविधि अनुसार डिभिजन टू क्रिकेट जितेका खेलाडीले जनही २ लाख रुपैयाँ पाउँछन् । त्रिदेशीय शृंखलाकाे विजेता टिमका खेलाडीलाई जनही २ लाख, प्रमुख प्रशिक्षकलाई १ लाख ५० हजार, टिम म्यानेजर, सहायक प्रशिक्षक र फिजियाेलाई १ लाख र नेपाल क्रिकेट संघ क्यानले १ लाख ५० हजार रुपैयाँ पाउनेछन् ।

गत हप्ता त्रिवि क्रिकेट मैदानमा भएको नामिबिया र स्कटल्याण्डविरुद्धको चार खेलको शृंखला नेपालले क्लिनस्वीप गरेको थियो ।

नेपाली राष्ट्रिय क्रिकेट टोली आईसीसी विश्वकप क्रिकेट लिग–टु अन्तर्गत १५ देखि २२ फागुनसम्म युएईमा हुने सिरिजका लागि नेपाली टोली १३ फागुनमा त्यसतफ जाँदैछ । नेपालले पहिलो खेल १५ फागुनमा पपुवा न्युगिनीसँग खेल्नेछ ।

भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले आईसीसी क्रिकेट विश्वकप लिग टू खेल्न युएई जाने खेलाडीलाई शुभकामना दिएका छन् । ‘तपाईंहरुले एउटा रेकर्ड बनाउनु भएको छ, त्यसका लागि म तपाईंहरुलाई बधाई दिन्छु,’ प्रचण्डले भने, ‘चारमा चार खेल जितेर नेपाली जनताको शीर ठाडो बनाउन एउटा भूमिका खेल्नु भएको छ ।’

प्रचण्डले आफूले सरकारमा रहँदा पनि र नरहँदा पनि खेलकुदलाई उच्च प्राथमिकता दिने गरेको बताए । अहिले खेलकुदको शारीरिक तन्दुरुस्तीका लागि मात्र नभएर देशको प्रतिष्ठा र कुटनीतिक सम्बन्ध बिस्तारमा पनि योगदान रहने भन्दै प्रचण्डले सरकारले खेलकुदलाई उच्च महत्व दिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?