+
+

सन्दीप लामिछानेलाई प्रधानमन्त्रीको माला, खादा र ह्यान्डसेक

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ११ गते २१:१७

११ फागुन, काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग २ मा नेपालले हासिल गरेको सफलताका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खुसियाली साझा गर्नु अनौठो थिएन । उनले ट्वीट गरेर घरेलु टोलीलाई बधाइ पनि दिइसकेका थिए ।

आज बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेको नेपाली क्रिकेट टोलीलाई प्रचण्ड युएईका लागि बिदा गर्न खादा, मालासहित तयार थिए । उनले प्रशिक्षक, खेलाडी र टिम व्यवस्थापकसँग पालैपालो हात मिलाउन थाले । खेलाडीको लहरमा थिए पूर्वकप्तान सन्दीप लामिछाने । धरौटीमा जेलबाट छुटेका उनीमाथि नाबालिका बलात्कारसम्बन्धी मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधीन छ ।

उच्च अदालतबाट निश्चित बन्देजहरुसहित २० लाख रुपैयाँ धरौटीमा छुटेका सन्दीपलाई क्रिकेट एशोसिएसन अफ् नेपाल (क्यान) ले टिममा समावेश गरेपछि चौतर्फी आलोचना खेपेको थियो ।

बलात्कारजस्तो जघन्य अभियोग खेपिरहेका क्रिकेटर सन्दीपलाई मुद्दा फैसलापूर्व नै सामाजिकीकरण गर्दा त्यसले पीडितको मानसिक स्वास्थ्यमा पर्ने असरबारे क्यान त सचेत भएन नै । प्रधानमन्त्री जस्तो मुलुकको प्रमुख कार्यकारी समेत संवेदनशील नदेखिएको भन्दै आम आलोचना भइरहेको छ ।

यसबार अनलाइनखबरले प्रधानमन्त्रीको सचिवालयमा सोध्दा समूहलाई नै बधाई तथा बिदाइ गर्ने क्रममा सोही टोलीको एक सदस्य पर्न गएको जवाफ आयो । ‘हाम्रो उद्देश्य कुनै गल्ती कामलाई अनुमोदन होइन, नेपाली टोलीलाई बिदाइ गर्ने हो, त्यसमा उहाँ (सन्दीप) पनि पर्नुभएछ,’ सचिवालयका एक सदस्यले भने । उनले यसलाई प्रधानमन्त्रीको त्रुटिका रुपमा सकारेनन् । आउँदा दिनमा सचेत हुने मोटो जवाफमा चित्त बुझाउन खोजे ।

सामाजिक सञ्जालमा प्रधानमन्त्रीले सन्दीपसँग हात मिलाएको तस्वीर चर्चामा आएको छ । धेरैले यसमा प्रचण्डको असंवेदनशीलता र गल्ती देखिएको भन्दै आलोचना गरेका छन् ।

त्रिवि क्रिकेट मैदानमा खेलपछि स्कटल्यान्डको टोलीले नेपाली टोलीसँग हात मिलाउने क्रममा सन्दीपसँग हात मिलाएको थिएन । ९ फागुनमा नेपालसँगको खेलपछि स्कटिस टोलीका प्रशिक्षक सेन बर्गरले आफूहरुले हिंसालाई प्रोत्साहन नगर्ने भन्दै सन्दीपसँग हात नमिलाएको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?