+
+

हात्तीपाइले विरुद्धको औषधि खुवाउन स्वास्थ्यकर्मीसँगै खटिए जनप्रतिनिधि

हात्तीपाइले विरुद्धको औषधिबारे नकारात्मक धारणा चिर्न स्वास्थ्यकर्मीसँगै जनप्रतिनि पनि सँगसँगै औषधि खुवाउन हिडिरहेका छन् ।

आभास बुढाथोकी आभास बुढाथोकी
२०७९ फागुन १४ गते १०:३२

१४ फागुन, दाङ । फागुन ११ गतेयता देशभर हात्तीपाइलेविरुद्धको औषधि खुवाउने अभियान चलिरहेको छ ।

विगतमा वर्षमा स्वास्थ्यकर्मी र स्वयंसेविकाले खुवाउँदै आएको हात्तीपाइल विरुद्धको औषधि सेवन अभियानमा यसपटक भने जनप्रतिनिधि पनि सहभागी भएका छन् ।

अघिल्ला वर्षहरुमा लक्ष्य अनुसारको जनसंख्याले औषधि नखाइदिंदा लुम्बिनी प्रदेशका तीन जिल्लामा १३ वर्षसम्ममा पनि हात्तीपाइले रोग निवारण हुँन सकेन । यहीकारण यो वर्षदेखि जनप्रतिनिधिलाई समेत अभियानमा जोडेर औषधि खुवाउने काम भइरहेको छ ।

प्रदेशका दाङ, बाँके र कपिलवस्तुमा हात्तीपाइलेविरुद्धको औषधि खुवाउन स्वास्थ्यकर्मीसँगै जनप्रतिनिधि पनि घर-घरमा पुगिरहेका छन् । औषधि सेवनमा अभियानमा वडाका अध्यक्षदेखि सदस्य नियमित जसो स्वास्थ्यकर्मीसँगै गाउँ बस्ती गइरहेका छन् ।

‘हात्तीपाइले औषधिबारे फैलिएको भ्रमहरुले औषधि खुवाउँन समस्या थियो’ दाङ तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रबर्द्धन महाशाखाका जनस्वास्थ्य निरीक्षक विमल केसी भन्छन्, ‘यसपालि जनप्रतिनिधिलाई पनि स्वास्थ्यकर्मीसँगै हिडाएर औषधि खुवाउन लागेका छौं ।’

अहिले स्वास्थ्यकर्मीसँगै घरदैलोमा पुगिरहेका जनप्रतिनिधिहरुले नागरिकलाई औषधि खान आग्रह गरिरहेका छन् ।

औषधिबारे नकारात्मक धारण चिर्न जनप्रतिनिधिहरु पनि स्वास्थ्यकर्मीसँगसँगै हिँडेका हुन् । ‘अघिअघि जनप्रतिनिधि, पछिपछि स्वास्थ्यकर्मी भएर औषधि खुवाउने काम भइरहेको छ,’ उनले भने, ‘जनप्रतिनिधि साथमा हुँदा नागरिकले ढुक्कले औषधि खान थालेका छन् । स्वास्थ्यकर्मीलाई पनि औषधि खुवाउँन सजिलो भएको छ ।’ यसले स्वास्थ्यकर्मीलाई पनि औषधिबारे बुझाउन सजिलो भएको उनले बताए ।

लुम्बिनी प्रदेशका तीन जिल्लामा हात्तीपाइले रोगको जोखिम मानिन्छ । ६ वर्षभित्रै रोग उन्मुलन गर्ने लक्ष्य राखिए पनि दाङ र बाँकेमा १३ वर्ष र कपिलबस्तुमा १५ वर्षसम्म पनि उन्मुलन हुन सकेको छैन ।

कुल जनसंख्याको ८० प्रतिशत जनसंख्याले औषधि सेवन नगर्दा अभियान प्रभावकारी हुन सकेको थिएन । जसकारण १५ वर्षसम्म पनि जिल्लामा पनि औषधि सेवन अभियान चलिरहेको छ ।

दाङ र बाँकेमा ०६७ र कपिलबस्तुमा ०६४ सालदेखि हात्तीपाइलेविरुद्धको औषधि सेवन अभियान सुरु गरिएको थियो ।

अहिले बाँके र दाङमा हात्तीपाइलेको संक्रमणको दर ४ प्रतिशतमा झरेको छ भने कपिलवस्तुमा ८.३९ प्रतिशत छ ।

संक्रमणको दर २ प्रतिशत भन्दा कम भएमात्र रोग निवारण भएको मानिन्छ ।

६ वर्ष नियमित औषधि खाए रोग निवारण हुने भएपनि केही व्यक्तिहरुले औषधि नखाइदिदा १३ वर्षसम्म अभियान चलाउनु परेको स्वास्थ्य कार्यालय दाङका फोकल पर्सन कमल चन्द बताउँछन् ।

‘औषधिको असरबारे गलत बुझाइ र भ्रमहरुले गर्दा औषधि नखाइदिदा समस्या भयो,’ उनले भने, ‘गाउँदेखि शहरी क्षेत्रका शिक्षित व्यक्तिहरुले नै औषधि नखाइदिंदा १३ वर्षसम्म पनि अभियान सफल हुन सकेन ।’ यसपटक अभियान सफल बनाउन सबै स्थानीय तहका जनप्रतिनिधि, नागरिक तहका दल संघसंस्थासँग सहकार्य गरी हात्तीपाइलेविरुद्धको औषधि सेवन अभियान चलाइएको उनले बताए ।

एउटै वर्ष अभियान सुरु भएको बाँके र दाङ हात्तीपाइले रोग उन्मुलन गर्ने लक्ष्यको नजिक छन् । ‘सम्भवतः यही वर्ष अन्तिम वर्ष भनेर अभियानलाई सफल बनाउने गरी औषधि सेवनलाई प्रभावकारी बनाउने प्रयास भइरहेको छ’ चन्द भन्छन् ।

साढे १९ लाखलाई औषधि खुवाइँदै

प्रदेशका दाङ, बाँके र कपिलवस्तुमा फागुन ११ गते खुवाउँन लागिएको हात्तीपाइलेविरुद्धको औषधि सेवन अभियान फागुन मसान्तसम्म चल्नेछ । यो वर्ष यी तीन जिल्लामा गरी साढे १९ लाख बढीलाई औषधि खुवाइँदैछ ।

दाङमा ६ लाख ८७ हजार, बाँकेमा ६ लाख १६ हजार र कपिलवस्तुमा ६ लाख ४२ हजार जनसंख्यालाई औषधि खुवाउने लक्ष्य राखिएको छ ।

जिल्लाका सबै स्थानीय तह मार्फत घर-घरमा स्वाथ्यकर्मी खटाएर औषधि सेवन भइरहेको स्वास्थ्य कार्यालय कपिलवस्तुका जनस्वास्थ्य अधिकृत उमेशचन्द्र घिमिरेले बताए ।

पोथी लामखुट्टेको टोकाइबाट मानिसको शरीरमा पस्ने फाइलेरिया नामक परजीवीका कारण हात्तीपाइले रोग लाग्ने गर्दछ ।

लेखकको बारेमा
आभास बुढाथोकी

बुढाथोकी अनलाइनखबरका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?