+
+

फालेका बेडलाई मर्मत गरेर पुनः प्रयोगमा ल्याउँदै कोसी अस्पताल

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १४ गते १८:१६

१४ फागुन, विराटनगर । काम नलाग्ने भन्दै फालिएका सामग्री कोसी अस्पतालले मर्मत गरी पुनः प्रयोग गर्न थालेको छ । प्रदेश १ को ठूलो सरकारी अस्पताल कोसीले अस्पतालबाट फालिएका बेड, स्टेचरलगायतका सामग्री मर्मत गरी पुनः प्रयोगमा ल्याएको हो ।

अस्पतालले पहिलो चरणमा बिरामी राख्ने ५० वटा बेड, २२ वटा स्टे्रचर पुनः प्रयोगमा ल्याएको छ । प्रयोग गर्न नमिल्ने भन्दै फालिएका सामग्री न्यून खर्चमा मर्मत गरेर पुनः प्रयोगमा ल्याइएको अस्पताल विकास समितिका सदस्य मुकेश बुढाथोकीले बताए ।

‘कौडीको भाउमा बेच्न ठिक्क पारिएका सामग्रीलाई सामान्य खर्चमा मर्मत गरेर पुनः प्रयोगमा ल्याएका छौं’, उनले भने, ‘यसले अस्पतालको खर्च घटाएको छ, सेवाग्राहीलाई उपचारका लागि सहज पनि हुन्छ ।’ फालिएका टेबुल र दराज पनि मर्मत गरेर प्रयोगमा ल्याउने उनले बताए ।

अस्पतालले बेड पुनः मर्मतका लागि इटहरीको एलबिटी इन्टरप्राइजेजलाई ठेक्का दिएको थियो । सो कम्पनीले प्रतिबेड ३ हजार ३०० का दरमा मर्मत गरेको हो ।

विरामी राख्न प्रयोग गरिने सामान्य बेडलाई न्यूनतम १५ हजार रुपैयाँ पर्छ । बिरामीको चाप बढिरहेका कारण फालिएका बेडलाई मर्मत गरिएको मेडिकल सुपरिटेन्डेन्ट डा. रविनराज सिंहले जानकारी दिए ।

३५० बेडको कोसी अस्पतालमा करिब चार सय बेड राखिएका छन् । मर्मत गरी तयार भएका बेडलाई वार्डमा राखिने उनले बताए । अस्पताल प्रशासनले केही समय अगाडि ती मेडिकल सामग्री कवाडीमा बिक्री गर्ने तयारी गरेको थियो । तर बिक्री गर्न रोकेर पहिलो पटक मर्मत गरेर पुनः प्रयोगमा ल्याएको हो ।

साढे तीन सय बेडको अस्पताललाई पाँच सय बेडमा स्तरोन्नतीका लागि सर्भे गरेर केन्द्रमा प्रतिवेदन पठाएको अस्पताल विकास समितिका अध्यक्ष महेश भट्टराईले बताए । बेड र कर्मचारी दरबन्दी केन्द्रबाट स्वीकृत भएपछि अस्पताले पाँच सय बेड सञ्चालनमा आउने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?