+
+

मस्को नजिक युक्रेनको ड्रोन दुर्घटना, रुस भन्छ- आक्रमणको असफल प्रयास

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १७ गते ७:०१
रुसमा दुर्घटनाग्रस्त युक्रेनमा निर्मित ड्रोन ।

१७ फागुन, काठमाडौं । युक्रेनले रुसको राजधानी मस्को नजिक ड्रोनमार्फत् आक्रमणको प्रयास गरेको रुसी अधिकारीहरुले दाबी गरेका छन् ।

राजधानी मस्को नजिकको एक गाउँमा एउटा ड्रोन सोमबार मध्यरात दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो । त्यो ड्रोन युक्रेनमा बनेको पाइएको छ । तर त्यसबाट कुनै क्षति भने भएको छैन । रुसले यो घटनालाई युक्रेनले गरेको आक्रमणको असफल प्रयास भनेर टिप्पणी गरेको छ ।

मंगलबार पत्रकार सम्मेलनमा मस्कोका गभर्नर आन्द्रेइ बोरोब्योबको दाबी अनुसार मस्कोभन्दा करिब एक सय किलोमिटर दक्षिण-पूर्वमा पर्ने गुबास्तोब गाउँमा ड्रोन आक्रमण प्रयास भएको थियो । युक्रेनले मस्कोका बासिन्दालाई लक्षित गर्दै ड्रोनबाट प्रहार गरेको उनले आरोप लगाए ।

उनले भने, ‘युक्रेनले सोमबार मध्यरातिदेखि मंगलबार बिहानसम्म ड्रोन प्रहार गरिरह्यो र त्यसलाई असफल बनाउन रुस डटिरह्यो । त्यसबेला एउटा ड्रोन दुर्घटना भएको थियो ।’

त्यो समयमा रुसका टेलिभिजन च्यानल र रेडियो स्टेशनसमेत ह्याक भएको र त्यसमा युक्रेनको हात रहेको उनले आरोप लगाए । रुसी अधिकारीहरुका अनुसार सो समयमा सम्भावित क्षतिलाई रोक्न सेन्ट पिटर्सबर्गको विमानस्थल अस्थायी रुपमा बन्द समेत गरिएको थियो ।

मस्कोका गभर्नर बोरोब्योबले मानव बस्तीहरु सुरक्षित रहेको भन्दै घटनाको विस्तृत अनुसन्धान भइरहेको जानकारी दिए । ड्रोन खसेको गुबास्तोब गाउँमा सहायताकर्मी र बम प्रतिरोधी टोली पठाइएको छ ।

रुसको वस्ती नजिक खसेका ड्रोन भनेर सामाजिक सन्जालमा फोटोहरु सार्वजनिकसमेत भएका छन् । त्यसको आधिकारिक रुपमा पुष्टि हुन सकेको छैन । युक्रेनले पनि हालसम्म रुसको भूमिमा आक्रमण गरेको जिम्मेवारी नलिएको बीबीसीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?