+
+

श्रमको सम्मान गर्ने संस्कृतिलाई अगाडि बढाउनु जरुरी छ : नेता पौडेल

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २१ गते १७:३८

२१ फागुन, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले श्रमको सम्मान गर्ने संस्कृतिले राष्ट्रलाई माथि उठाउने बताएका छन् ।

आइतबार नेपाल ट्रेड युनियन कांग्रेसको ७७ औं स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रममा बोल्दै वरिष्ठ नेता पौडेलले श्रमको सम्मान गर्ने संस्कृतिले राष्ट्रलाई माथि उठाउने बताएका हुन् ।

‘हामीले मलुकलाई अगाडि बढाउनको लागि सबैभन्दा बढी श्रमको सम्मान गर्ने संस्कृतिलाई अगाडी बढाउनु जरुरी छ । आज हाम्रा जम्मै गाउँघर, पाखाहरु बाँझो छन्,’ उनले भने, ‘हामी विदेशबाट खानेकुरा ल्याएर खाइराखेका छौँ । अरबौँ, खरबौँको आयात गरेका छौँ । धान्ने कसरी हो ? त्यसकारण श्रम गरेर, आफ्नै भूमिमा पाखुरा बजारेर हामीले हाम्रो राष्ट्रलाई उठाउनुपर्छ।’

उनले राष्ट्रलाई अगाडि बढाउनका लागि श्रमको सम्मान गर्नुपर्ने बताए । उनले आफ्नो गाउँघरका खेतबारी बाँझो राखेर खानेकुरा विदेशबाट आयात गरेर खाइराखेको अवस्था रहेको भन्दै त्यस्तो अवस्थाको अन्त्य हुनुपर्ने बताए ।

उनले भने, ‘श्रम नै राष्ट्रियता हो । यही नै देशभक्ति हो । यो देशभक्तिलाई तपाईहरुले पूर्ण रुपले अवलम्वन गर्नुहुनेछ । र श्रम गर्ने जनतालाई सम्मान गर्ने र प्रेरणा दिने, श्रम गर्नेलाई प्रेरित गर्ने काममा हामी सबै लागौँ । राज्य त्यतै उन्मुख होस् ।’

उनले आफ्नो भूमिमा पाखुरा बजार्नु नै राष्ट्रियता र देशभक्ति भएको उल्लेख गरे । श्रम गर्ने जनतालाई राज्यले सम्मान गर्नुपर्ने र श्रम गर्नलाई प्रेरित गर्नुपर्ने उनको भनाइ छ ।

उनले भने, ‘समाजवाद उन्मुख राज्य भनेर हामीले भनेका छौँ । त्यो साकार हुनुपर्छ । शब्दमा मात्रै अब धेरै खेलेर काम छैन । यो देशमा शब्दहरु धेरै प्रयोग भए । तर ति शब्दको अर्थ निस्कनुपर्‍यो । शब्दको अर्थ साकार हुनुपर्‍यो।’

उनले श्रम गरेर बाँच्न सबैलाई आग्रह गरे । श्रम गर्दा शरीर स्वस्थ रहने भन्दै उनले शरीरलाई स्वस्थ बनाइराख्नका लागि पनि श्रम आवश्यक रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?