+
+

राप्ती गाउँपालिकाले थाल्यो चौतारो संरक्षण अभियान

विनोद घिमिरे विनोद घिमिरे
२०७९ फागुन २३ गते ९:५४
राप्ती गाउँपालिका वडा नं. ५ को करङ्गे कोटमा बनाइएको चौतारो ।

२३ फागुन, दाङ देउखुरी । हिँड्दा हिँड्दै थकाइ लाग्यो भनेर चौतारोमा बसेर शीतल हावा खानुको मजा नै बेग्लै हुन्छ । तर हिजोआज यस्तो मजा कहाँ पाउनु ! भारी बिसाउने, दुःखसुखका गफ गर्न पितापुर्खाले बनाएका चौतारो अहिले मासिंदै गएका छन् । तिनै मासिंदै गएका चौतारोको संरक्षण अभियानमा दाङको राप्ती गाउँपालिका जुटेको छ ।

गाउँपालिका अध्यक्ष प्रकाश विष्टको पहलमा राप्ती गाउँपालिका वडा नं. ५ को करङ्गेमा बर–पिपलको रुख मुनि ढुंगा बिच्छ्याएर चौतारो निर्माण गरिएको छ । चौतारो बनाउन स्थानीयले श्रमदान गरे । गाउँपालिका अध्यक्ष विष्टले पनि घनले ढुंगा फुटाउने, ढुंगा बोक्ने काम गरेर स्थानीयलाई सघाए ।

अध्यक्ष विष्ट भन्छन्, ‘चौतारो गाउँको सुन्दरता पनि पनि हो, त्यो सुन्दरता फर्काउन र गाउँबाट हराएको हाम्रो गाउँलाई खोजेर फेरि गाउँमा नै फर्काउन चौतारो संरक्षणमा जुटेका छौं ।’

करङ्गे गाउँ राप्ती गाउँपालिकाको विकट पहाडी गाउँहरुमध्ये एक हो । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिसहनियाँबाट सात किलोमिटर उत्तरमा पर्ने यो गाउँसम्म पुग्ने मोटर बाटो कच्ची छ । बर्खामा पहिरो झरेर त्यो बाटो पनि बन्द हुन्छ । नियमित यातायातका साधन चल्दैनन् । एम्बुलेन्स नपाइँदा बिरामीलाई बोकेरै अस्पताल लैजानुपर्छ । भनेको बेला गाडी नपाइने भएपछि घण्टौं पैदल हिँडेर किनमेल गर्न सिसहनिया बजार आउ–जाउ गर्नुपर्छ । गर्मीको बेलामा त झन् पैदल हिँड्न सास्ती हुन्छ । हिँड्दाहिँड्दै थकाइ लाग्यो भने एकछिन सुस्ताउने व्यवस्थित खालको सार्वजनिक ठाउँ र छहारी छैन ।

राप्ती गाउँपालिका वडा नं. ५ को करङ्गे कोटमा बनाइएको चौतारो ।

स्थानीयको समस्यालाई नजिकबाट बुझेका गाउँपालिका अध्यक्ष विष्टले गर्मीयाम सुरु भइसकेकाले तत्कालका लागि करङ्गे कोटमा चौतारी बनाउने प्रस्ताव राखे । गाउँलेहरु तयार भए । त्यसपछि गत शनिबार सुरु भयो चौतारीका लागि आवश्यक ढुंगा फुटाउने र बोक्ने काम । स्थानीय स्रोतसाधन प्रयोग गरेर एकैदिनमा तयार भयो चौतारो ।

‘मैले नै शनिबारको दिन म पनि काम गर्न आउँछु, तपाईंहरु पनि आउनुस् भनेर स्थानीयलाई भनें । टोल विकास संस्थाहरुलाई बोलाइयो, सामाजिक संस्थाका प्रतिनिधिहरु, समाजसेवीहरु पनि आउनुभयो । वरपरबाट ढुंगा संकलन गर्यौं र एकै दिनमा एक रुपैयाँ पनि खर्च नगरी चौतारो तयार भयो ।’ अब त्यो चौतारो नजिकै खानेपानीको धारा पनि जोड्ने र प्रदेश सरकारको आयोजनामा सिसहनिया, करङ्गे हुँदै बंगलाचुली गाउँपालिकासम्म पुग्ने बाटो पक्की बनाउने प्रक्रिया अघि बढेको विष्ट बताउँछन् ।

चौतारो निर्माणका लागि श्रमदान गर्दै राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्ट ।

लुम्बिनी प्रदेशको राजधानी समेत रहेको राप्ती गाउँपालिकाले महिनामा एकदिन मात्र भए पनि जनश्रमदान गर्ने नीति लिएको छ । सोही नीति अनुरुप गाउँपालिका अध्यक्ष विष्ट आफैं बाटो, कुलो र चौतारो निर्माण तथा सरसफाइका काममा खटिंदै आएका छन् । उनी भन्छन्, ‘सरकारको बजेटले मात्रै विकास हुँदैन । विकासको काममा स्थानीयलाई पनि प्रत्यक्ष सहभागी गराइयो भने त्यसमा अपनत्व हुन्छ र दिगो पनि हुन्छ । त्यसकारण स्थानीयलाई श्रमदानका लागि प्रेरित गर्दै आएको छु र म आफैं पनि श्रमदानमा खटिंदै आएको छु ।’

करङ्गेका समाजसेवी चित्रबहादुर थापा स्थानीय सरकारका प्रमुखहरु नै जनतासँग प्रत्यक्ष जोडिएर श्रममा खटिंदा आफूहरुमा पनि उत्साह पलाएको बताउँछन् । थापा भन्छन्, ‘स्थानीय सरकारका प्रमुखहरु नै श्रममा भाग लिने, दुःखी गरिब जनतासँग प्रत्यक्ष सहभागी भएर काम गर्ने गरेमा आम जनतालाई पनि फाइदा हुन्छ । हामीलाई पनि काम गर्ने उत्साह थपिन्छ ।’

चौतारो निर्माणका लागि स्थानीयवासीसँगै श्रमदान गर्दै राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्ट ।

राप्ती गाउँपालिकामा करङ्गेसहित, देवीकोट लगायतका आठ–दशवटा पहाडी वस्तीहरु छन् । ती सबै पहाडी गाउँ र देउखुरीको समथर क्षेत्रमा पनि चौतारो निर्माण तथा पुनर्निर्माण थाल्ने योजना राप्ती गाउँपालिकाले बनाएको छ ।

गाउँपालिका अध्यक्ष विष्टको आह्वान छ, ‘जति सुविधा सम्पन्न शहर र जति ठूलो महलमा बसे पनि जन्मघर र जन्मगाउँ जस्तो प्रिय र आत्मिय ठाउँ कतै पाइँदैन । त्यसैले आफ्नो गाउँघरका चौतारी संरक्षण अभियान सन्चालन गरौं । यसकार्यमा पालिकाले समन्वय र सहकार्य गर्नेछ ।’

लेखकको बारेमा
विनोद घिमिरे

घिमिरे अनलाइनखबर डटकमका डेस्क सम्पादक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?