+
+

सहकारी व्यवस्थापकहरुको गोष्ठी : वित्तीय अनुशासनमा केन्द्रित हुन सुझाव

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २४ गते १४:१६

२४ फागुन, काठमाडौं । काठमाडौंमा बुधबारदेखि सहकारीका व्यवस्थापन प्रमुखहरुको राष्ट्रिय गोष्ठी सुरु भएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) को आयोजनामा भएको गोष्ठीमा वक्ताहरुले सहकारीको वित्तीय सुशासनमा केन्द्रित हुन प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुलाई सुझाव दिएका छन् । सञ्चालकहरुले बदमासी गरे त्यसको प्रतिवाद व्यवस्थापकहरुले गर्नुपर्ने समेत वक्ताहरुले सुझाव दिएका छन् ।

कार्यक्रममा बोल्ने अधिकांश सहकारीकर्मीहरुले सरकारले बचतको सीमा २५ लाख तोक्न लागेको प्रति चिन्ता व्यक्त गरे । कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सहकारीको सुशासनका लागि स्पष्ट ऐन कानुको आवश्यक पर्ने र त्यसका लागि सरकार तयार हुनुपर्ने बताए ।

‘देशमा आर्थिक समस्यामा आइरहेको छ, सहकारी र लघुवित्तमा चरम समस्या छ । के कारणले यस्तो समस्या आइरहेको हो ? किन वित्तीय सुशासन छैन ? सरकारको ध्यान जानु जरुरी छ’ सभामुख घिमिरेले भने, ‘सरकारले आवश्यक कानुनका लागि तयारी गरोस् यसमा सहयोग गर्न म तयार छु ।’

सोही अवसरमा सभामुख घिमिरेले सहकारी गाउँगाउँमा गरिब किसानहरुको साना साना पूँजी संकलन गरेर वित्तीय उपार्जनमा लगाउने सामाजिक संस्था भएकाले यस्तो संस्थालाई बचाउनु सबैको दायित्व भएको बताए । उत्पादन, रोजगारीका माध्यमबाट गरिबि हटाइ समाजवाद उन्मुख समाजवाद स्थापना सहकारीबाट हुने उनको भनाइ छ । पछिल्लो समय सहकारीको माध्यमबाट ठगी गर्ने प्रवृति बढ्दै गएका गुनासा आएको भन्दै उनले यसलाई नियन्त्रण गर्नु पर्ने बताए ।

सभामुख घिमिरेले ७ खर्ब भन्दा बढी रकम परिचालन गर्ने सहकारीलाई व्यवस्थित गर्न छुट्टै ऐन आवश्यक भएको समेत बताए । सम्पत्ति शुद्धीकरणको हिसाबले सहकारीमा अवैध धन हुन्छ भन्दै बचतमा २५ लाखको सीमाको कुरा आएको बताउँदै घिमिरेले सो क्षेत्रमा यस्तो हुँदैन भनेर ग्यारेन्टी गर्न सके त्यो सीमा हट्न सक्ने समेत बताए ।

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका पूर्व अध्यक्ष एवम् पूर्वमन्त्री केशवप्रसाद बडालले सहकारीमा प्रविधि अत्यावश्यक भएको बताए । कुनै पनि समुदाय पछि पर्न नहुने र त्यसका लागि सहकारीले सहयोग गर्नुपर्ने उनले बताए ।

‘सहकारीमा गैरकानुनी मुद्रा प्रयोग होस् भन्ने हामी पनि चाहदैनौं, सहकारीमा कालोधन छ भन्ने भ्रम फिजाइएको छ,’ उनले भने, ‘सहकारीको मूल्य, मान्यतामा नचलेका सहकारीमा समस्या आएको हो । सहकारीमा २५ लाखको सीमा कुनै पनि कारणले उचित छैन यसको कार्यान्वयन हामीलाई मान्य छैन । यो प्रावधान तत्काल हटाइयोस्’ उनले भने ।

राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष मित्रराज दवाडीले स्वनियमनमा चलेको सहकारीमा समस्या नरहेको भन्दै सहकारी नचलाई बैंकसँग प्रतिष्पर्धा गर्नेहरु समस्यामा फसेको बताए । नीति, नियम कार्यान्वयन गर्ने व्यवस्थापक नै भएकाले बढी जिम्मेबार हुनुपर्ने उनको दवाडीको भनाइ छ ।

‘उद्यमी बन्न ऋण प्राथमिकता दिनुपर्छ, घरघडेरीमा ऋण दिन कडाइ गर्नुपर्छ । चलायमान हुने ठाउँमा मात्र ऋण दिए आर्थिक रुपान्तरण हुने हो । तर, अधिकांश संघ संस्थाले घडेरीमा ऋण लगानी गरेका छन्, कतिपय सहकारी आफैले घडेरी किनलेकाले समस्या आएको हो’ उनले भने ।
बचतमा क्यापिङको सन्दर्भमा असन्तुष्टि व्यक्त गर्दै अध्यक्ष दवाडीले भने, ‘समस्या बचतमा होइन व्यवस्थापनमा हो । यसो हो भने बचतमा मात्र किन ऋणमा पनि क्यापिङ गरौं ।’ सहकारीमा २५ लाखको सीमा हटाउन माग गरे ।

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा.दामोदर रेग्मीले सहकारीमा सम्पत्ति शुद्धीकरणको समस्या छैन हुँदैन भन्ने ग्यारेन्टी भए बचतको सीमामा पुनर्विचार हुन सक्ने बताए ।

सहकारी विभागका रजिष्ट्रार नमराज घिमिरेले सहकारीमा समस्या नरही सहकारीको नाममा गलत काम गरेकाले समस्या आएको बताए । ‘सहकारीका सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ, सहकारीलाई होइन’ उनले भने । सहकारी बिग्रिने, बिगार्ने ५० प्रतिशत भन्दा बढी जिम्मेवारी प्रमुख कार्यकारी अधिकृतको हुने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?