+
+

यी हुन् २०२२ मा सर्वाधिक बिक्री भएका टप टेन स्मार्टफोन, आइफोनको बर्चस्व

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २५ गते ६:४३

बितेको वर्ष सन् २०२२ मा सबैभन्दा लोकप्रिय स्मार्टफोनको सूचीमा एप्पलले कब्जा जमाएको छ । गत वर्ष सर्वाधिक बिक्री भएका शीर्ष १० स्मार्टफोनको सूचीमा आठ वटा एप्पलका आइफोन नै रहेका छन् ।

काउन्टरप्वाइन्ट रिचर्स रिपोर्ट अनुसार सन् २०२२ मा सबैभन्दा धेरै बिक्री हुने स्मार्टफोनको रुपमा एप्पलको आइफोन १३ पहिलो स्थानमा रहेको छ ।

गत वर्ष सबैभन्दा धेरै बिक्री हुने टपटेन स्मार्टफोनमा ८ वटा स्थान एप्पलले कब्जा गर्दा सामसुङका दुईवाट स्मार्टफोनले मात्र शीर्ष १० मा स्थान बनाउन सफल भएका छन् ।

विश्वका अन्य स्मार्टफोन ब्राण्डहरु बिक्री संख्याको हिसाबले शीर्ष १० मा पर्न असफल रहे । अर्थात् टपटेनमा एप्पल र सामसुङको कब्जा रह्यो ।

रिपोर्ट अनुसार समग्रमा वर्षको सर्वाधिक लोकप्रिय स्मार्टफोन बन्न सफल आइफोन १३ ले चीन, अमेरिका, बेलायत, जर्मनी तथा फ्रान्स लगायतका देशमा पनि सबैभन्दा बिक्री हुने स्मार्टफोन बनेको छ ।

काउन्टरप्वाइन्ट रिसर्चका अनुसार सन् २०२१ को सेप्टेम्बरमा रिलिज भएयता सन् २०२२ को अगष्ट सम्म नै आइफोन १३ हरेक महिना सर्वाधिक बिक्रीको शीर्ष स्थानमा रहन सफल भयो ।

आइफोन १४ रिलिज भएसँगै एप्पलले आइफोन १३ को मूल्य घटाउँदा विकाससील देशहरुमा समेत यसको मागमा वृद्धि भयो । रिपोर्ट अनुसार गतवर्ष विश्व बजारमा बिक्री भएका कूल आइफोनमध्ये २८ प्रतिशत हिस्सा आइफोन १३ ल ओगटेको थियो ।

सन् २०२२ मा सर्वाधिक बिक्री हुने स्मार्टफोनको सूचीमा दोस्रो नम्बरमा एप्पलकै आइफोन १३ प्रो म्याक्स रहेको छ भने तेस्रो  स्थानमा एप्पलले गत सेप्टेम्बरमा सार्वजनिक गरेको आइफोन १४ प्रो म्याक्स रहेको छ । सन् २०२२ को सेप्टेम्बर, अक्टोबर र नोभेम्बरमा आइफोन १४ प्रो सर्वाधिक बिक्री हुने स्मार्टफोन समेत बनेको छ ।

वर्षको सर्वाधिक लोकपि्रय स्मार्टफोनको सूचीमा सामसुङको ग्यालेक्सी ए१३ चौथो स्थानमा आएको छ । सस्तो मूल्यको यो स्मार्टफोनले खासगरी विकाससील बजारहरुमा आधिपत्य जमाउन सफल भएको छ । क्यारेबियन, ल्याटिन अमेरिका तथा भारतमा ग्यालेक्सी ए १३ को लोकपि्रयता उच्च देखिएको छ ।

त्यस्तै पाँचौ स्थानमा आइफोन १३ प्रो, छैटौंमा आइफोन १२, सातौंमा आइफोन १४, आठौंमा आइफोन १४ प्रो र नवौंमा आइफोन एसइ २०२२ रहेका छन् ।

शीर्ष १० स्थानको पुछारमा चाहिं सामसुङको ग्यालेक्सी ए०३ स्मार्टफोन पर्न सफल भएको छ । यो शीर्ष १० मा परेका मध्ये सबैभन्दा सस्तो स्मार्टफोन पनि हो । यसले क्यारेबियन, ल्याटिन अमेरिका, मध्यपूर्व तथा अफ्रिकामा समेत उच्च बिक्रीदर हासिल गर्न सफल भयो ।

सामसुङका ग्यालेक्सी एस मोडेलका कुनै पनि प्रिमियम स्मार्टफोन गतवर्ष विश्व बजारमा धेरै बिक्री भएका शीर्ष १० स्मार्टफोनको सूचीमा पर्न सकेनन् ।

रिपोर्ट अनुसार सन् २०२२ का टपटेन बेस्ट सेलर स्मार्टफोनले विश्व बजारमा बिक्री भएका कुल स्मार्टफोन संख्याको १९ प्रतिशत हिस्सा ओगटेका छन् । जुन सन् २०२१ को बराबर हो ।

बजार हिस्सामा सामसुङ पहिलो

त्यस्तै अमेरिकी अनुसन्धान कम्पनी इन्टरनेसनल डाटा कर्पोरेसनले प्रकाशित गरेको रिपोर्ट अनुसार विश्व स्मार्टफोन बजारमा ओगटेको हिस्साका आधारमा सामसुङ सबैभन्दा ठूलो ब्राण्डको रुपमा रहेको छ ।

सामसुङले विश्व स्मार्टफोन बजारको २१.६ प्रतिशत हिस्सा ओगटेको छ । सन् २०२२ मा सामसुङले कुल २६ करोड ९ लाख गोटा स्मार्टफोन उत्पादन गरेको छ ।

त्यस्तै दोस्रो स्थानमा रहेको एप्पलको बजार हिस्सा १८.८ प्रतिशत छ । जसले गत वर्ष कूल २२ करोड ६४ लाख स्मार्टफोन उत्पादन गर्‍यो । त्यसैगरी १२.७ प्रतिशत बजार हिस्सा सहित तेस्रो स्थानमा रहेको चिनिया कम्पनी साओमीले कुल १५ करोड ३१ लाख स्मार्टफोन उत्पादन गरेको छ ।

यो हो सन् २०२२ मा सर्वाधिक बिक्री भएका टपटेन स्मार्टफोन मोडेलको सूची :

  • iPhone 13
  • iPhone 13 Pro Max
  • iPhone 14 Pro Max
  • Galaxy A13
  • iPhone 13 Pro
  • iPhone 12
  • iPhone 14
  • iPhone 14 Pro
  • iPhone SE 2022
  • Galaxy A03
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?