+
+
ब्लग :

कर्णालीको हिउँद

एयरपोर्टको हिउँ सोहोरेर, सफा गरेर काठमाडौंदेखि दैनिक हवाई उडान भर्न पाए दामन र फुल्चोकीको नाममात्रको हिउँ हेरेर चित्त बुझाउनुपर्ने युवायुवती हनिमुन मनाउन र कर्मचारी तथा व्यापारीहरू छुट्टी बिताउन कति जना आउँथे होलान् ?

पदम भण्डारी पदम भण्डारी
२०७९ फागुन २५ गते १५:२७

कर्णालीको हिउँद एक अर्थमा रोमाञ्चक हुँदोरहेछ भने अर्को अर्थमा वास्तवमै कष्टकर पनि । हिउँदमा रात–दिन हिउँ हुँदोरहेछ । हिउँदसँगै मान्छेहरूको जीवनमा पनि हिउँ हुँदोरहेछ । जीउ तातो बनाउन घामको ताप पर्खन ढिलो हुँदोरहेछ । घाम पनि त्यति लाग्दो रहेनछ, हिउँदमा । घाम लागिहाले पनि जीउ तताउँदैन घामले । घरआँगन, चोक, गल्ली, घरका छाना जताततै हिउँ मात्रै ।

कर्णालीका जुम्ला, मुगु, हुम्ला, डोल्पा, कालिकोट र जाजरकोटका केही ठाउँ कपासले छोपे जस्ता सेता । कालिकोट अलि कम, मुगु त्योभन्दा अलि बढी र जुम्ला र हुम्लाका धेरैजसो ठाउँमा त जता हेर्‍यो उतै सेतै । जता गयो उतै चिसो ।

सल्लाका दाउराहरूले चुलो तताउने बाहेक घरहरू तातो बनाउने कुनै प्रविधि छैन । घर नतातिएपछि जीउ कसरी तातिन्छ त ? त्यही भएर होला यहाँका धेरै मान्छे जीउ तताउन झ्वाईंखट्टेतिर लागेका । आक्कलझुक्कल पिउने भए पो ब्रान्डेडतिर लाग्ने । दिनदिनै ब्रान्डेड पिउन साध्य हुने कुरो भएन अनि लाग्छन् ठर्रातिर ।

ठर्रा पिएपछि गफ पनि ठूला–ठूला हुने भए । गफ चुट्न थालेपछि दिन बिताउन पनि सजिलो भयो । काममा व्यस्त नहुने समयमा निराशाले नछोपोस्, दिक्दारीपना नबढोस् भनेर उत्तम उपाय भनेको त्यही हुनेरहेछ ।

झ्वाईंखट्टे, थोपे, झिनिघिण्टे केही नाम चलेका ब्रान्डहरू । बेहोशीपनामा रम्न पनि मजै हुँदोरहेछ । बेहोशीपनामा रम्नेहरू पनि थुप्रै देखें । कहिलेकाहीं तीन हप्तासम्म हिउँले छोपेर राख्ने । अवस्था कस्तो होला तपाईं आफैं कल्पना गर्नुहोस् ।

पदम भण्डारी

एउटा हिउँद । एउटा जाडोयाम । जाडोयाममा हुम्लाको सदरमुकाम सिमकोटमा माइनस १७ डिग्री सेल्सियस अनि जुम्लाको कर्णाली प्राविधिक शिक्षालय भएको ठाउँ घुघुतीमा माइनस १५ डिग्री सेल्सियस पुग्दोरहेछ । कति चिसो भयो होला ।

जुम्लाको सदरमुकामका केही निजी बैंकहरूमा अलि–अलि रकम भएमात्र, नत्र सरकारी बैंकहरूबाट पैसा निकाल्न पनि पाइँदो रहेनछ । खाद्य संस्थानमा चामल र नुन हुँदो रहेनछ । बजारमा सामान हुँदो रहेनछ । धारामा पानी हुँदो रहेनछ । पाइपमै पानी जमेर धाराबाट पानी झर्दो रहेनछ । एयरपोर्टमा हिउँ थुप्रिएर हवाईजहाज उड्दो रहेनछ ।

हिउँले बिजुलीका पोल ढाल्दोरहेछ । तारमा हिउँ लट्किएर चुँडाइ दिंदा विद्युत् अवरुद्ध हुँदोरहेछ । बिजुली नभएपछि ब्याट्री चार्ज गर्न नपाएर टेलिफोन, मोबाइल अवरुद्ध हुँदोरहेछ । कामको खोजीमा भारत जाने समय त्यही पर्दोरहेछ । त्यहीबेलामा दुई भएर पनि बस्न पाइँदो रहेनछ । अनि फुईको आडमा मात्र बस्नुपर्नेरहेछ ।

थुप्रै गधाको जीवनलीला समाप्त हुँदोरहेछ जाडोमा । दश÷बाह्रवटा कुकुर जम्मा भएर चारैतिरबाट घेरेर आफ्नो आहारा बनाउँदा रहेछन् गधाहरूलाई । कुकुरको आहारा बन्दारहेछन् थुप्रै ।

नत्र कुकुरहरूले पनि के खाउन् त ? त्यो बेलामा तिब्बततिर मान्छेहरू एक्लै भएको देख्यो भने कुकुरहरूले झम्टेर आहारा बनाइहाल्छन् रे ! जति हिउँ थपिंदै जान्छ त्यति कष्ट पनि थपिंदै जाँदोरहेछ । म जस्ता विकल्प नहुनेहरू त्यसबेला कर्णालीतिर भेटिंदा रहेछन् । हिउँद अर्थात् जाडोयाम राम्रो बहाना भयो नि जिल्ला नबस्ने ।

को कहाँ छ खोजी गर्न पनि मन नलाग्ने चिसो । यस्तो बेलामा के गर्न सकिन्छ र ? खायो, पियो, झुम्म पर्‍यो, लठ्ठियो बस् । कतिलाई दृढविश्वास छ, कतिलाई शंका छ यस्तो ठाउँमा के गर्न सकिन्छ र भनेर । म यो नकार्न सक्दिनँ कि यो बेलामा कर्णालीमा बसेर काम गर्नु भनेको सजिलो छैन । तर पनि जब–जब त्यहाँ चिसो बढ्छ, डाँडापाखाहरू सेताम्मे हुन्छन्, तब म कर्णालीमा पर्यटनको ठूलो सम्भावना देख्छु ।

सेताम्मे कपासले ढाकेको बेला सेन्ट्रल हिटिङ सिष्टम बनाएर होटल तथा रेस्टुरेन्टहरू तताउन पाए, एयरपोर्टको हिउँ सोहोरेर, सफा गरेर काठमाडौंदेखि दैनिक हवाई उडान भर्न पाए दामन र फुल्चोकीको नाममात्रको हिउँ हेरेर चित्त बुझाउनुपर्ने युवायुवती हनिमुन मनाउन र कर्मचारी तथा व्यापारीहरू छुट्टी कटाउन कतिजना आउँथे होलान् ?

कैलाश मानसरोवर यात्रा गर्ने मार्गको ढोका, कर्णालीको हुम्लामा पाइला मात्रै परे पनि पुण्य कमाइन्छ । हिन्दु धर्ममा मात्र होइन जुनसुकै धर्ममा आस्था राख्ने धर्मावलम्बी एवं पर्यटकहरूको लागि अनुपम धरोहर हो कैलाश मानसरोवर । भारतका तीर्थयात्रीलाई मात्र पनि हुम्लाको बाटो हुँदै कैलाश मानसरोवरको यात्रा गराउन सकियो भने पुग्थ्यो । युरोप, अमेरिका तथा अन्यत्र ताक्नै पर्दैनथ्यो । आन्तरिक पर्यटनले मात्रै पनि थेग्थ्यो होला ।

भन्नलाई त सजिलो छ तर गर्न त्यति सजिलो छैन । गर्न पनि त्यति गाह्रो छैन यदि त्यहाँ प्रतिबद्धता र जिम्मेवारी महसुस हुन्छ भने । कर्णालीको विकास गर्न त्यति ठूलो समस्या पनि छैन । जिल्लामा कम्तीमा एउटा विमानस्थल कालोपत्रे भइदियो भने र वर्षैभरि हवाई यातायातलाई नियमित गर्न सकियो, बिजुली बत्तीको व्यवस्था गर्न सकियो, राम्रा होटल तथा रेष्टुरेन्टहरूको व्यवस्था गर्न सकियो भने धेरै समस्याको समाधान हुन्छ ।

त्योभन्दा पनि ठूलो कुरा मैले केही गर्नुपर्छ भन्ने सोचको विकास हुनुपर्‍यो । हाम्रो बानी र संस्कार कस्तो बस्यो भने चियापसलमा, चोकमा बसेर घण्टौं गफ चुटेर, गुड्डी हाँकेर बस्दा समय खेर गएको नदेख्ने, तर केही काम गर्नु परे फुर्सद छैन भन्ने ।

कर्णालीमा प्रशस्त मात्रामा प्रकृतिले दिएको सम्पत्ति छ । जस्तै हिउँ, अग्ला पहाडहरू, विशिष्ट खालको भाषा, देउडा संगीत, लामा संस्कृतिका साथै के कुराले पर्यटकहरूलाई तान्न सकिन्छ त्यही मात्र गरे पनि कर्णालीको विकासमा ठूलो टेवा पुग्थ्यो । कर्णालीमा नयाँ चिजको विकास पनि गर्नुपर्दैन, भएको चिजको संरक्षण गरे पुग्छ ।

आखिरमा यो देशको विकासमा काँध थाप्ने भनेको युवा वर्ग नै हो । युवा वर्ग चिया र कफी गफमा रमाउँदै हठी र सिद्धान्तवादी हुनुभन्दा विवेकी र व्यावहारिक हुन जरूरी छ । हुन त म त्यो प्राकृतिक जेलभित्र जन्मेको होइन, तर मेरो जीवनको क्रियाशील समय अथवा भनौं सक्रिय समय प्रकृतिले दिएको पहाडको ठूलो भित्तासँग सिंगौरी खेल्न हिम्मत गरेर कर्णाली पुगेको व्यक्ति हुँ । यिनै सोचाइहरूमा भित्तामा टाँसिएको रङ्गीचङ्गी तस्वीर र क्यालेण्डरहरूसँग मज्जा लिंदै भुलेको पत्तै पाएनछु ।

(लेखकसँग कर्णाली क्षेत्रमा दुई दशकभन्दा बढी कार्य अनुभव छ ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?