+
+

फेरि ठेलागाडामा बदाम बेच्न थाले ‘काचा बदाम’ गायक

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २६ गते १५:०१

काठमाडौं । तपाईंले टिकटकमा भाइरल भएको गीत ‘काचा बदाम’ अवश्य सुन्नुभएको छ । संसारभर यो गीत यति चर्चित भयो कि यो गीतका गायक भुवन बाड्याकर रातारात संगीत स्टार बने । तर यतिबेला ती भाइरल स्टार जिरोमा झरेका छन् ।

‘काचा बदाम’ हिट हुनुअघि ठेलागाडामा बदाम बेचेर गुजारा गर्ने भुवन कपीराइट लगायतको विवादले पुनः पुरानै अवस्थामा फर्किएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार उनले अहिले ठेलामै पुनः बदाम बेच्न थालेका छन् । भारतको पूर्वी बंगालको वीरभूम जिल्लाको दु्रबाजपुरका बासिन्दा उनी टिकटककै कारण हिट भएका थिए ।

सन् २०२२ को फेब्रुअरी ५ मा उनले टिकटकमा पोस्ट गरेको उक्त गीत टिकटकसहित फेसबुक र इन्स्टाग्राममा हिट भयो । उनलाई कार्यक्रममा गाउन निम्तो गरियो भने उनले मनग्य पैसा पनि कमाए । देश, विदेशबाट उनले राम्रो पैसा कमाए । तर उनको खराब दिन त्यसबेला सुरु भयो जतिबेला उनले भूलवश कपीराइट अधिकार बिक्री गरे ।

गोधुली बेला म्युजिक युट्युब च्यानलका गोपाल घोषले भुवनलाई फकाएर कागजमा हस्ताक्षर गर्न लगाएपछि उनको ओरालो त्यहींदेखि सुरु भयो । नयाँ गीतको अफर आएको भन्दै भुवनलाई कागजमा साइन गर्न लगाए । जसअनुसार नयाँ गीतबाट आएको ६० प्रतिशत कमाइ भुवन र ४० प्रतिशत युट्युबले राख्ने भनेर उनले फकाए ।

त्यतिबेला तीन लाख भारु साइनिङ अमाउन्ट पनि भुवनले पाएका थिए । बाँकी पैसा पछि दिइने सर्त राखियो तर कागजमा चाहिं कपीराइट बिक्री भएको व्यहोरा उल्लेख भयो । भुवनले आफूले अंग्रेजी नबुझेकाले झुक्याएर हस्ताक्षर गर्न लगाइएको बताएका छन् । यो घटनापछि भुवनलाई कार्यक्रमबाट निम्तो पनि आउन छाड्यो र भिडियो राख्नेलाई कपीराइट पनि लाग्न थाल्यो ।

अहिले यो घटनापछि उनी पुनः गाउँमै फर्किएर ठेलागाडामा बदाम बेच्न थालेका छन् । उनले स्थानीय प्रहरीमा उजुरी दिएपनि अबको प्रक्रिया के हुन्छ भन्नेबारे खुलाइएको छैन । नेपालमा समेत ‘काचा बदाम’ निकै भाइरल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?