+
+

इमाडोलको गर्व : बोजे पोखरी

बोजे पोखरी जस्तै अतिक्रमणको चपेटामा परेका अरू सिमसारहरूको उद्धार, मर्मत र पुनःस्थापना गर्न पनि स्थानीय व्यक्ति, सरकार र सरोकारवालाहरूको चासो बढ्नुपर्ने देखिन्छ । अन्यथा सिमसार मात्रै सुक्दैन, यसले जैविक विविधता नष्ट हुँदै मानवीय अस्तित्व पनि संकटमा पर्न सक्छ ।

विनित तिमल्सिना विनित तिमल्सिना
२०७९ फागुन २७ गते १८:५०
निर्माणका लागि पानी सुकाएको बोजे पोखरी ।

देशको गहना भनेर चिनिने सिमसारको अस्तित्व नेपालमा निकै भयावह अवस्थामा छ । रामसार महासन्धिपछि यसको सूचीमा परेका १० वटा सिमसार बाहेक अन्यमा हाम्रो न्यून ध्यान गएको छ । मावनीय क्रियाकलापका कारण उच्च जोखिममा रहेका अन्य सिमसारहरूमध्ये कतिको अस्तित्व लोप भइसक्यो भने कुनै सामान्य अस्तित्वमा छन् ।

बोजे पोखरी यिनै अस्तित्वको लागि संघर्षरत सिमसारमध्ये एक हो । यस क्षेत्रमा पहिले पहिले रसाएको जमिन, आकाशे पानी र कुलोको पानी संकलन हुन्थ्यो । संकलित पानीको प्रचुर मात्रामा सदुपयोग पनि गरिन्थ्यो ।

चराचुरुङ्गी, पुतली, उभयचर, घस्रने प्राणी, जल वनस्पति, कीरा–फट्याङ्ग्राहरूको साझा घर थियो बोजे पोखरी । तर बदलिंदो समय, समाज र सोचले आज त्यो भरिभराउ घर उजाडिएको छ । ठूल्ठूला बाटो, बडेमानका घरहरू, भू–उपयोगिता नीतिमा परिवर्तन र मूर्खतापूर्ण मानवीय अतिक्रमणले बोजे पोखरीको अस्तित्व धरापमा पर्दै गयो ।

चार वटा दहमध्येको एक बोजे पोखरी हो । उक्त तालमा पहिले बोजो रोपिने भएर नाम बोजे पोखरी रहन गएको हो । तर लामो समयदेखि बाह्य आक्रामक वनस्पति जलकुम्भीको अतिक्रमणबाट बोजे पोखरी प्रभावित बन्यो । केही सचेत स्थानीयको लामो प्रयासबाट केही वर्षअघि जलकुम्भी निकालियो । तर पनि प्राकृतिक रूपमा पानीको पुनर्भरण अवरुद्ध हुँदा पोखरी सुक्न थाल्यो । स्थानीयको पहलमा आकाशे पानी संकलन र बोरिङ गरेर पनि पानी भर्ने कामको निरन्तरताले बोजेले आफ्नो अस्तित्व जोगाइरहेको छ । सिमसार क्षेत्रको महत्व बुझेका केही स्थानीयका कारण आजसम्म यो जीवित रहेको छ ।

स्थानीयवासीका अनुसार यो अभियानको नेतृत्व स्थानीय सानु राजाले गर्दै आएका छन् । ‘सानु राजा दाइ नभएको भए यो पोखरीमा आज घर ठडिएको हुनेथियो’ एक स्थानीय भन्छन्, ‘उहाँको अठोट र पहलले गर्दा हामीले आज यस क्षेत्रलाई बचाइराख्न सफल छौं ।’

हाम्रा पूर्वजले प्राकृतिक सिमसारको सुरक्षा र सुन्दर कृत्रिम पोखरीहरूको निर्माण जस्तो सराहनीय काम गरे । तर यसलाई जोगाउने अभिभारा नयाँ पुस्ताले गर्न सकिरहेका छैनन् । यस्ता ऐतिहासिक, धार्मिक र रमणीय सिमसारको संरक्षण कुनै व्यक्ति वा समुदायसँगै सरकारी तबरबाट पनि हुन आवश्यक छ ।

यस क्षेत्रको अझै महत्व झल्काउन यहाँ स्थानीयकै पहलमा २०६४/६५ सालमा सत्येश्वर महादेव मन्दिर र नागराजको मूर्तिको पनि स्थापना गरियो भने पछि सतीदेवीको मन्दिर पनि थप गरियो । बोजे पोखरी सुधार समितिका एक सदस्य सानु राजाका अनुसार २०५० सालबाट निरन्तर यसको संरक्षणको काम भइरहेको छ । अहिले भ्याली बोर्डको अध्यक्षतामा यस बोजे पोखरीको सुधार योजना चलिरहेको उनले जानकारी दिए । यो अभियानमा महालक्ष्मी नगरपालिकाले पनि सघाइरहेको छ ।

बोजे पोखरी सुधार समितिका एक सदस्य सानु राजा ।

अहिले यस पोखरीको पानी निकालेर छठ पर्वमा सजिलो हुने गरी सिंढी निर्माण गर्न लागिएको छ । विस्तारै यहाँ वरिपरि हिंड्ने बाटो सुधार गरेर हरियाली बढाउने र माछापालन गर्ने योजना रहेको सदस्य सानु राजाले पंक्तिकारलाई जानकारी दिए ।

यहाँ विभिन्न संघ–संस्था, कर्मचारी र विश्वविद्यालयहरूका विद्यार्थी आएर सिमसारको पानी, माटो, जलीय वनस्पति, उभयचर र घस्रने प्राणीहरूका साथै वातावरणीय सूचकको पनि अध्ययन गर्ने गर्दछन् । सिमसार क्षेत्रले वातावरणलाई चलायमान राख्ने, पारिस्थितीकीय प्रणाली सन्तुलित बनाउने र जलवायु परिवर्तनलाई पनि केही हदसम्म रोक्ने काम गर्दछ भने विभिन्न चराचुरुङ्गी लगायत जीव एवं वनस्पतिलाई वासस्थान दिनुका साथै प्राकृतिक सौन्दर्य जोगाइराख्छ ।

बोजे पोखरी जस्तै अतिक्रमणको चपेटामा परेका अरू सिमसारहरूको उद्धार, मर्मत र पुनःस्थापना गर्न पनि स्थानीय व्यक्ति, सरकार र सरोकारवालाहरूको चासो बढ्नुपर्ने देखिन्छ । अन्यथा सिमसार मात्रै सुक्दैन, यसले जैविक विविधता नष्ट हुँदै मानवीय अस्तित्व पनि संकटमा पर्न सक्छ ।

सिमसार पृथ्वीको नै मिर्गौला हो र हामी सबैको साझा सम्पत्ति । हामीले संरक्षण नगरे कसले गर्ने ? आजैबाट नगरे कहिले गर्ने ? बेलैमा सोचौं, सचेत बनौं ।

(लेखक त्रिभुवन विश्वविद्यालय वातावरण विज्ञान केन्द्रीय विभागमा वातावरण विज्ञान विषय अध्ययनरत छन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?