+
+
पुस्तक समीक्षा :

थाङ्ग्रा : परम्परामाथि विनिर्माणको आग्रह

मुनाराज शेर्मा मुनाराज शेर्मा
२०७९ फागुन ३० गते १७:२५

उपन्यासकार प्रगति राईले आफ्नो तेस्रो उपन्यास ‘थाङ्ग्रा’मार्फत पितृसत्ताको परम्परामाथि धावा बोलेकी छन्। छोरी समेत असल र सक्षम सन्तान बन्न सक्ने चेतना समाजले अंगीकार गरिरहेको समयमा अझ शक्तिशाली ढंगले छोरीको अस्तित्वको वंशीय अधिकारको विषयलाई गहन ढंगले उठान गरिएको छ। छोरी परिवारको सपनाको संवाहक बन्न सक्छिन्। पितृको परम्परित वंश धारण गर्ने क्षमता राख्न सक्छिन् भन्ने धारणाको संवाहक हो- ‘थाङ्ग्रा’।

नारी स्वतन्त्रता र समतामूलक समाजको निर्माणको लागि नारीलाई वंश अधिकार प्राप्त गराउन प्रगतिले अघिल्ला दुई उपन्यास ‘लेखकको स्वास्नी’ र ‘बिर्सिएको मृत्यु’देखि नै उठान गरेको विषयलाई ‘थाङ्ग्रा’मा पूर्णता दिने प्रयास गरेकी छन्।

उपन्यासको मूल थिमको रुपमा जातीय समानताको विषयलाई उठान गरिएको छ। खोटाङे राईकी छोरी सुदूरपश्चिम बैतडीको दलित युवकसँग प्रेममा पर्छिन्। उनीहरुले विवाह गर्छन्। काठमाडौंको उत्तरआधुनिक मिश्रित समाजको पछिल्लो चित्र हो, यो परिवार। बाहुन, क्षेत्री र दलितको जातीय मुद्दा भन्दा फरक मुद्दाको समावेशले पहाडी आदिवासी र दलितको जातीय समाजशास्त्रको अँध्यारोलाई केलाएर हेर्न सकिन्छ। विभेदको जरा कहाँसम्म छ भन्ने छुट्टै गहिराइको अध्ययन छ। इथनिक भेलोसिटीको हिसाबले ‘थाङ्ग्रा’ विशेष छ।

राईहरुको तीन चुलामा पुरुषलाई विशेष ग्राह्यता छ। यद्यपि किराँती राई मङ्गोलियन समाज मातृ सत्तात्मक भन्ने ठानिएको हो। दलितसँग विवाह गरेकी छोरीले जसरी भए पनि तीन चुलाको अधिकार प्राप्त गरेबाट राईहरु उदार र समतामूलक देखिएको छ, उपन्यासमा।

हरेक क्षेत्रमा महिलामाथिको सम्बन्धलाई शोषणको रुपमा लिने हाम्रो मानसिकताको उछित्तो काढिएको छ, उपन्यासमा। छोरीको हरेक पुरुष साथी बलात्कारी हुन सक्छ भन्ने सोच्नु कति कमजोर मानसिकताको धरातलमा पुरुष उभिएको रहेछ सोच्न सकिन्छ। त्यस मानसिक विम्बले हेर्ने हो भने त महिलाहरु सास फेर्न पनि सक्दैनन्।

पुरुष अरुको सन्तानमाथि ज्यादती सोच्दो रहेछ जुन उ जायज ठान्दो हो भन्ने दृश्यलाई आफ्नो सन्तानप्रति उसको धारणाको चित्र प्रस्तुत गरेर पुरुष मनको अँध्यारो धरातललाई छर्लङ्ग देखाइएको छ। जसमा एउटा बाबु आफ्नो छोरीको साथीलाई पटक्कै मन पराउँदैन, बलात्कारी भन्छ। छोरीको केटा साथीले पनि केटीको बाबुलाई मन पराउँदैन। पुरुष द्वन्द्वमा महिला चेपिएको छ। यस सोचको विरुद्ध लेखकले धेरै प्रश्नको सामना गर्नु पर्ला। समाज भाँडेको आरोप आउन सक्छ।

यद्यपि यो कुरा बाबुको कर्तव्यको पक्षमा उठाइएको हुनसक्छ। सामान्य परिस्थितिमा यो सोच्नु असामान्य मानसिकता नै हो। यद्यपि थ्रेट सामना गरिरहेका परिवारमा भने सुरक्षाको कोणबाट असामान्य अनुमानहरु सृजना हुन्छ नै तर यो त्यस्तो परिस्थिति देखिंदैन। बरु बाबुमा कुनै छद्म यौन विकृत मनोरोग हुनसक्ने देखिन्छ।

परम्परावादी सोच अनुसार त्यो छोराविहीन बाबु हुनुको पीडाले र समाजमा प्रचलित छोरीप्रतिको असामान्य चिन्ताले परिवारको दबावमा उब्जेको मानसिकताको पर्दाफास लेखकले सुशान्तमा प्रत्यारोपण गरेकी छन्। सुशान्तमा छोरा सरहको छोरी अर्काले उसको घर लैजाने भयले त्याग अघिको यो मानसिक विम्ब उत्पादन भएको हुनसक्छ।

सोमाले हरियो रुखको ठूलो ठूलो हाँगा ल्याएर गाड्नु छोरीलाई सुकेको कमजोर थाङ्ग्रा मान्ने परम्परावादी विचारको बर्खिलापको बिम्व हो। सोमा छोरीहरु घरको दरिलो थाङ्ग्रा हुन्छ भन्ने विचार समाजलाई दिन उद्धत छे। हरेक घरको हरियाली छोरीको थाङ्ग्राले जीवन्त छ।

आफ्ना छोरीहरु साया र सोमालाई सबल देखाउने बाबु सुशान्तको प्रयासस्वरुप छोरीहरुको इच्छालाई स्याहार्ने, हुर्काउने, सबल र दक्ष बनाउने हर प्रयास गरिएको छ। खेलकुद, चित्रकला, ड्राइभिङ सबै सीपमा कौशल प्राप्त छन्। क्रिकेटमा अन्तर्राष्ट्रिय खेलाडी बन्न रोक्दैन।

इच्छाको स्वतन्त्र पन्छी छन्। आफू बाबुको वंश थाम्न इच्छाएको केटा खोज्न स्वतन्त्र छन्। यो अधिकारको व्याख्या उपन्यासले भन्छ जुन वर्तमान समाजको विपरित छ। परिवर्तन वैपरित्वले नै प्राप्त हुन्छ। यो सरलरेखीय परिवर्तन हरिजन्टल समाज विरुद्धको चुनौती हो।

बाबु र छोरीको वैपरित्य लैङ्गिक वात्सल्य सम्बन्धमा अर्को पुरुषले शंका गर्नु लैङ्गिक मनोविज्ञानले विपरित लिङ्गीय आकर्षण ज्यादा हुन्छ, त्यसको ईर्ष्या पनि उत्तिकै हुन्छ भन्छ। छोरीको केटा साथीले बाबु र छोरीको वात्सल्यमाथि रिस गर्नु त्यै हार्मोनको व्याख्या छ तथापि यो मानवीय ईर्ष्याको उठान सूक्ष्म प्रकारले आएको छ।

यो टक्करको रुपमा दुई पुरुष  बीच एक महिलाको निमित्त जन्मजात र बनावटी सम्बन्धको अघोषित सुषुप्त युद्धको रुपमा प्रस्तुत भएको देखिन्छ। मान्छेको छोपिएको भयपूर्ण ईर्ष्यालु मनोविज्ञानको सुन्दर संयोजन छ।

सुशान्तको छोरा नभएपछि दोस्रो बिहेका लागि श्रीमती नुमा राजी हुनुले महिला जतिकै सक्षम, संघर्षशील देखिए पनि हार्न सम्झौता गर्न तयार हुन्छन् भन्ने देखिन्छ। यो एउटा जड कारण हो प्रगतिको बाधकको रुपमा वा समाज निर्माणको रुपमा समेत। अर्को पक्ष पुरुष जति नै अधिकारवादी, महिलावादी देखिए पनि पुरुषले आफ्नो पन नछोड्ने बरु अरुको पीडामा अघोषित आनन्दित हुने उसको प्रवृत्ति सुशान्तमा प्रष्टिन्छ।

पुरुष सत्ता छोराको पछि लागेको जडवादलाई भत्काउन भित्रैदेखि तयार छैन लैङ्गिक समानताको लागि छोरीहरु नै सबल, जुझारु हुनै पर्छ भन्छ उपन्यासको कथाले। अधिकार खोसेर निर्माण गर्ने हो। भइरहेको संरचनालाई भत्काएर निर्माण गर्ने हो। पर्खेर समाज बदलिएर अधिकार प्राप्त हुँदैन। भएको पनि छैन भन्ने जुझारु सन्देश कथाले बोल्छ।

सुदूरपश्चिम,  काठमाडौं र खोटाङको भौगोलिक सांस्कृतिक सम्बन्धको घोल बोल्छ थाङ्ग्राको कथाले। केन्द्र काठमाडौं उच्चताको केन्द्रीय सत्ता मात्र होइन समावेशी चिन्तनको मिश्रित वैचारिकी पाक्ने खाल्डो पनि हो भन्छ परिवेशले। जुन असम्भव घटनालाई यो खाल्डोले विनिर्माण गरिरहेको छ। समाजलाई अग्रगमनतिर डोर्‍याइरहेको छ।

उपन्यासमा पात्रहरूले हास्यपूर्ण ओजिलो स्थानीय मौलिक संवाद, खोटाङे र बैतडेली रैथाने लवजलाई कथ्य भाषिकाको रुपमा प्रयोग गर्नाले अपनत्व महसुस गराउँछ। भाषिक स्थानीयता झल्किन्छ।

महिलाको यौन इच्छालाई नैसर्गिक रुपमा लिने प्रयास छ। छोरी साया केटा साथी घरमै बोलाएर यौन सम्बन्ध राख्न इच्छुक छ, जुन प्रचलित मान्यताको बर्खिलाप ठानिन्छ।

सुशान्तको छोरा नभएपछि छोराको लागि नजिकको नातेदार प्रदीपलाई सहमतिमै यौन सम्बन्ध गराउने परिवारको प्रयासलाई बुहारी नुमाले ठाडै अस्वीकार र भण्डाफोर गरेबाट यौन निजी हुनुपर्छ भन्ने चिन्तन छ। साथै यो घटनाले नेपाली समाजको गोप्यतालाई बाहिर ल्याइदिएको छ। परम्परा आफ्नो अस्तित्व राख्न कति घृणित हुन सक्छ यो एउटा निकृष्ट उदाहरण हो।

सायाको सुन्दर रुप र यौवनमा आनन्दित भैरहन बच्चा नहुने औषधि खुवाउने उसको प्रेमीलाई सायाले आत्महत्या गरेर विकृत पुरुषवादलाई डढेलो लगाइदिएकी छन्। सधैं चुम्बन र स्पर्श मात्र गर्ने सहवास नगर्ने।

सायाको सहवासको आग्रहलाई अस्वीकार गर्ने। पीडा दिइरहने, बच्चा भएमा रुप बिग्रिन्छ भन्दै सेरोगेट आमाबाट बच्चा चाहने  कलङ्कित पुरुष चरित्र विरुद्धको आक्रोश गोपालप्रसाद रिमालको नाटक मसानको दुलहीको भन्दा बलवान त छैन तर पुरुषको यौन पीडा अहिलेसम्मकै अनौठो र विकृत छ। यौनमा भन्दा नारीको चरम अतृप्त उत्तेजनामा आनन्दित हुने परपीडक पुरुषको परिकल्पना थाङ्ग्रामा छ।

मृत्युभन्दा त्याग नै श्रेयस्कर हो वा दण्डित गराउनु राम्रो हुन्थ्यो। मृत्यु अन्तिम विकल्प नहुने राय आउँछ नै। संसार कति सुन्दर छ कति सम्भावनाहरु छन् भनिन्छ। सृजनाको हक खोस्ने कसैलाई अधिकार छैन। सन्तान प्राप्ति एक कला नै हो। जब कलाकारलाई कलाको सृजनाबाट वञ्चित गरिन्छ त्यो सुन्दर चिज हेरिरहने कसैको अभीष्टलाई कलाकारले आफू निभेर बदला लिन्छ। र, उ बाँचुन्जेल तड्पाउँछ।

यस्तो शालीन तर खतरनाक विद्रोहमा सायाले आफ्नै जीवन निभाएको घटनाले पाठकलाई विक्षिप्त बनाउँछ। यो परिघटनाले थाङ्ग्रा स्ट्रोङ फेमिनिजम हो भन्ने लाग्छ। तथापि नुमा र सोमाको सम्झौतावादी चरित्रले भने उदारवादी धार नै बढी मुखरित भएको देखिन्छ। सोमाको केटा साथी जेलबाट छुटेपछि सोमाकै घर आउँछ। त्यहीं बस्छ। सायाको छाया देख्छ सानी सायामा। यो उदारवादी घर नवीन समाजको नवीनतम उदाहरण हो, हामीले सिक्नुपर्ने। सारा रिस, जलन हराएपछि मात्र मानवता हुन्छ। संसार मानवताले सुन्दर हुन्छ।

सुशान्तको दलित आन्दोलन पनि हिंसात्मक, आक्रामक नभएर सम्झौतावादी देखिन्छ। रुपा सुनारको मुद्दाले हाम्रो मस्तिष्कको अधिनायकवादी न्यूरोनलाई केलाइरहेको बेला दलित मुद्दालाई यसरी इजि वेमा अवतरण गर्नु मुद्दालाई कमजोर बनाउनु हो भन्न सक्छन् आलोचकहरुले। लेखक कम्फर्ट जोनमा छिरेको आरोप आउन सक्छ। हो पनि सुदूरपश्चिम जातीय द्वन्द्वले मुक्त हुन नसकेको भूगोल हो। तर नरम जिब्रोले नै सुन्दर मायालु कोमल शब्द बोल्छ।

सायाले अफ्रिकन भोइलेट फूल मन पराउँछे। जो अति संवेदनशील छ। सायाको स्वभावसँग मेल खान्छ।

सोमाले बाबुको सम्मानपत्र भुईंमा पछारेर आफ्नो चरम आक्रोश पितृसत्ताप्रति देखाउँछे। सोमाले बाबुलाई छोरा जन्माउन दोस्रो बिहे गर्नुपर्ने बाजेको कुराको कडाइका साथ विरोध गर्ने हिम्मत राख्छे। आफूले कुनै युवकसँग विवाह गरेर धेरै सन्तान पाउने त्यसमध्ये आधी केटाको वंश आधी आफ्नो वंश राख्ने मिसन सहितको अधिकार बाँडफाँडको कार्ययोजना कथामा छ।

सुन्दा, मनन गर्दा सम्भावना देखिन्छ तर थुप्रो सन्तान नवीन पुस्ताको छनोट होइन। तथापि यो समस्याको समाधान खोज्नेको विकल्प चाहिं पक्कै हो जो बाबु र आमाको घरमा इच्छा अनुसार बस्छन्। ज्वाईं पनि हेपिएको घरज्वाईं नभई सम्मानित, दुवैतिर प्रेमले बस्ने सम्मानित पुरुष हो। यद्यपि छिमेकीले भतुवा उपनाम दिएको ससुराले उत्तराधिकारी घोषणा गरेको कन्फ्लिक्ट समाजको चित्र छ। वास्तवमा समाज नै दोधारमा छ, रिजिड छ।

व्यक्तिले भन्दा समाजले नै परिवर्तन चाहने, नचाहने निर्णय गर्छ। समाज बदलिनु अघि परिवर्तन व्यक्तिबाट नै सुरु हुनुपर्छ भन्ने समाजशास्त्रीय विज्ञान कथाले भन्छ। सङ्क्रमित समाजलाई घरपरिवारले उपचार गर्ने हो लेखक त्यसो भन्छ। हजार माइलको यात्रा एक पाइलाबाटै सुरु हुन्छ। अर्को हामी समाज भनिरहेका छौं तर समाज नै हो हरेक प्रगतिको बाधक। समाज भत्काउनु मिसनको ध्येय हुनुपर्छ।

एभोकाडोको अनौठो सामान्य तर विशेष विम्ब प्रस्तुत छ। आफ्नो एभोकाडोको फल छिमेकीको पल्लो बारीमा खसेको एभोकाडोको बिरुवा सुशान्त टिपेर ल्याउँछ। आफ्नो हो भन्ने दाबी गर्छ। यो बिम्व गजबको छ। छोरी मेरो हो मेरो छोरीको सन्तानले मेरो वंश राख्न पाउँछ भन्ने वकालत गर्छ यो विम्बले। आफ्नो बीउ अरुले लगेर उनीहरुकै भयो भने आफ्नो बीउ मेरै हो भन्न किन नपाउने भन्ने प्रश्न छ।

समाजमा केटी धुँइधुँइ खोजे जस्तो सोमाले बाइक कार हाँकेर बागमतीको सुकुम्बासी बस्तीमा आफूलाई सहज हुने, आफूलाई स्वीकार्ने मिसनलाई आत्मसात् गर्ने केटा खोज्दै हिंड्नु यो उपन्यासको सबैभन्दा बलवान कथानक मानिन्छ। आफ्नो कुरा छ्याङ्ग राख्दै केटालाई प्याकेजमा सहमति गराउने। ६ जना बच्चालाई जन्म दिन राजी हुने।

जुझारु बाबु र अन्धविश्वासी परम्परावादी बाजेलाई सहमति गराउने, गाउँ फर्केर राजनीतिमा प्रवेश गरी हैसियत कायम गर्ने एक शक्तिशाली भ्वाइस पैदा गर्ने पात्रको सृजना गरेको छ, थाङ्ग्राले। तथापि थुप्रै सीमाहरु बाहिर आउँछन्। यो प्याकेज सोमाले हतारमै लागू गर्यो। प्रस्ताव नस्वीकारिरहेको केटा कसरी एकाएक तयार भयो। बढी नाटकीयता भयो भन्न सक्छ। जीवन नाटकीय नै त हुन्छ। गतिवान सफलता त आक्कलझुक्कल न हो।

मानसिक पीडामा सुशान्त

पुरुष यौन बिम्बहरुको शक्तिशाली प्रयोग छ। छिमेकीको बोका आएर लहरिएको सिमीलाई सुकेको थाङ्ग्रा माथि चढी–चढी खान्छ। पर्खाल दह्रो बनाउन सकेको छैन। आज पुरानो एक दुई ईंटाको पर्खाल बनायो फेरि बोकाले लडाइदिन्छ। लथालिङ्ग पर्खाल पुरातनवादी सोचको विम्ब हो। घर र समाजले छोरीलाई सुरक्षा दिएको छ भन्ने चिन्तन त्यो पुरानो ईंटाको थाक जस्तो विभेद असमानताको कमजोर पर्खाल छ जो सानो पुरुषवादी धक्काले भत्काइदिन्छ। यो विम्ब गजबको छ।

बोकाहरु परम्परावादी पुरुष सत्ताले हुर्काएको आक्रामक पुरुषहरूको यौन बिम्ब छ। जो नारीको इजाजत, इच्छा बेगरको स्त्रीको यौवनमाथि धावा बोल्छन्। कुनै क्रिकेटको नाममा कोच भएर कुनै छोरा जन्माइदिने नाममा देवरको रूपमा शुक्रकीट दान गर्न तयार हुन्छन्। कुनै धनी प्रेमी घरमै आएर शरीर स्पर्श गर्छन्।

छोरीहरु सुरक्षित राख्ने भए खेलकुद सीप, कौशल, शिक्षा चेतना, स्वतन्त्रता, निर्णय क्षमतादेखि आर्थिक क्षमतासम्ममा अब्बल बनाउ भन्छ कथाले। वंश अधिकारको लागि सबै अधिकारको छेकबारको पर्खालले सम्पन्न हक्की बनाउ भन्ने बिम्बको सुन्दर प्रयोग छ, कथामा।

नुमाको साथीले आफू सुरक्षित रहन व्वाईज होस्टल खोल्छे। पछि हरेक जवानसित उसको अवैध सम्बन्ध हुन्छ। यो घटनाबाट महिलाले पनि चाहेमा पुरुषमाथि अत्याचार गर्न सक्छन् भन्न सकिन्छ।

सुशान्तको बुवाले नाति होस् भनेर सधैं देवतालाई बोका चढाउँछ। अनेक गर्दा नाति नभएपछि अन्तिम बोका खसी पारेर सुशान्तलाई काटेर खान पठाउँछ। डोरी खाँबामा त्यसै झुन्डिएको हुन्छ। अब देवताको आश मारेको डोरी समेत स्वतन्त्र छ। छोरा हुनै पर्ने चिन्तन डोरी जस्तै तुर्लुङ्ग झुन्डिएको विम्ब निकै मार्मिक र तनावरहित फुक्का छ। पुरातन चिन्तन अब बाधिंदैन भन्नु बबाल बिम्व हो।

नुमा दु:खी हुँदा दु:खको मुक्ति रक्सी ठान्नु र रिसलाई पोख्न रक्सीको सहारा लिनु परम्परावादी मानसिकताको उपज हो। रिस उठ्दा सृजना गर्ने शान्तिको वैकल्पिक बाटो अवलम्बन गरेको पाइएन।

सोमा सुदूरपश्चिमको पितृ भूमिमा गाउँपालिकाको उपाध्यक्ष भएकी छ। वर्तमान सङ्घीय लोकतान्त्रिक प्रणालीमा यो असम्भव छैन। घरभरी सोमाको नानीहरू आधी आफ्नो माइतीको थर, आधी लोग्नेको थर लिएर खुसीमा पुतली झैं नृत्यमग्न छन्। सोमाको नानी साया नै भएर बाँचेकी छ। थाङ्ग्राको कथानक पानी झैं बगेको छ।

कौतूहल निर्माण गर्न सफल छ। सोमाले केटा खोजेको संघर्ष चाखलाग्दो छ। कानुनी जटिलताहरु यथेष्ट छन् यस्तो बच्चाले नागरिकता लिने झन्झटबाट कसरी मुक्ति पाउँछ उपन्यास मौन छ। विधेयक माथि छलफल नै बाँकी छ। अध्यादेश राजनीतिको पहिरोमा परेर खारेज भयो। समस्या पहिरो जस्तो विकराल छँदैछ।

सायाको प्रेमीले सायाको आत्महत्यामा दुरुत्साहन गरेको अपत्यारिलो लाग्छ तथापि यस्तो हुँदै नहुने भन्ने रहन्न, महिलाहरु पुरुषको अव्यक्त अँध्यारो छायाँमा निमोठिएको हुन सक्छ। सुदूरपश्चिमको दलित जातीय छुवाछूतको मुद्दा यति सजिलो र सरल होइन भन्ने लाग्छ। त्यो अरु घनत्वसँग आउन सकेको भए हुन्थ्यो जस्तो लाग्छ पाठकलाई।

थाङ्ग्रा परम्पराको वंश थाम्ने विम्ब हो। जो छोरीलाई प्राप्त छैन। तसर्थ छोरीले छोरा सरह वंशको अधिकार थाम्ने थाङ्ग्राको कार्य सम्पन्न गर्न सक्छ भन्ने आग्रह नै थाङ्ग्रा उपन्यासको मूल अभीष्ट हो। घर त छोरीले शताब्दीदेखि थामेर थाङ्ग्राको अहम् भूमिका निर्वाह गरेकै हो। प्रेम, सृजना, सद्भाव, सृष्टिको थाङ्ग्रा पनि महिलाले कायम राखेकै हो। महिलाको शक्ति सामर्थ्यको थाङ्ग्रा भने परम्परावादी चिन्तनले कमजोर बनाएको हो तसर्थ अब यो सभ्यता समयलाई समुन्नत बनाउने हो भने महिलाहरु शक्तिशाली थाङ्ग्रा हुनुपर्छ। तब मात्र सम्भावित आँधीलाई थेग्न सक्छ, जुध्न सक्छ।

सोमाले हरियो रुखको ठूलो ठूलो हाँगा ल्याएर गाड्नु छोरीलाई सुकेको कमजोर थाङ्ग्रा मान्ने परम्परावादी विचारको बर्खिलापको बिम्व हो। सोमा छोरीहरु घरको दरिलो थाङ्ग्रा हुन्छ भन्ने विचार समाजलाई दिन उद्धत छे। हरेक घरको हरियाली छोरीको थाङ्ग्राले जीवन्त छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?